२०८३ असार १९ , शुक्रबार 3, July 2026, Friday

‘सफ्ट स्किल’मार्फत बिरामीसँगको व्यवहार सुधार्दै भेरी अस्पताल

सत्यपाटीसत्यपाटी । बाँके । २०८३ असार १९ गते शुक्रबार

नेपालगन्जस्थित भेरी अस्पतालले सेवाग्राहीप्रति चिकित्सक तथा कर्मचारीको बोली, व्यवहार र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन आजदेखि नियमित सफ्ट स्किल तालिम सुरु गरेको छ । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.नवीन दर्नालका अनुसार तालिममार्फत सेवाग्राहीसँग नम्र व्यवहार गर्ने, प्रभावकारी रूपमा संवाद गर्ने, बिरामीको गुनासो सुन्ने, कठिन परिस्थितिमा संयमित प्रतिक्रिया दिने तथा सहानुभूतिपूर्ण सेवा प्रदान गर्ने विषयमा प्रशिक्षण दिइनेछ ।

उनका अनुसार अस्पतालमा आउने बिरामीले शारीरिक उपचारसँगै सम्मानपूर्ण र आत्मीय व्यवहारको पनि अपेक्षा गर्ने भएकाले कर्मचारीको व्यवहार सुधारलाई प्राथमिकतामा राखिएको हो । यसका लागि अब हरेक दिन बिहान आधा घण्टा तालिम सञ्चालन गरिनेछ । तालिममा प्रमुख मेडिकल सुपरिटेन्डेन्टसहित विभागीय प्रमुखहरूले सहजीकरण गर्नेछन् । सरसफाइकर्मीदेखि विशेषज्ञ चिकित्सकसम्म सबै कर्मचारीलाई चरणबद्ध रूपमा सहभागी गराइने अस्पतालले जनाएको छ ।

डा.दर्नालले स्वास्थ्य सेवा औषधि र शल्यक्रियामा मात्र सीमित नहुने बताउँदै बिरामीले सम्मान र आत्मीयता महसुस गर्दा उपचारप्रति विश्वास बढ्ने र उपचारको नतिजा समेत सकारात्मक हुने बताए । अस्पतालले यसअघि विभागीय प्रमुखसँग दैनिक मर्निङ कन्फ्रेन्स सञ्चालन गर्दै आएको छ । अब त्यससँगै कर्मचारीको व्यवहार सुधारलाई पनि संस्थागत रूपमा अघि बढाइएको अस्पतालले जनाएको छ । भेरी अस्पतालमा बिरामीको अत्यधिक चाप, सीमित जनशक्ति र कार्य बोझका कारण कर्मचारीमा तनाव देखिने अवस्था रहने गरेको भन्दै नियमित सफ्ट स्किल तालिमले सेवा प्रवाह र सेवाग्राहीसँगको सम्बन्ध थप सुधार हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २०८३ असार १९ गते शुक्रबार