बाँकेको दुर्गम मानिने राप्तीसोनारी गाउँपालिकामा मङ्गलबारदेखि भूमि प्रशासन कार्यालय सञ्चालनमा आएको छ । गाउँपालिकाको पहल तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको भूमि व्यवस्थापन तथा अभिलेख विभाग र भूमि प्रशासन कार्यालय, कोहलपुरको समन्वयमा सो कार्यालय सञ्चालनमा ल्याइएको हो ।
कार्यालय सञ्चालनसँगै अब राप्तीसोनारी गाउँपालिकाका सेवाग्राहीले जग्गा दर्ता, नामसारी, जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि, अभिलेख व्यवस्थापन लगायत भूमि प्रशासन सम्बन्धी विभिन्न सेवा आफ्नै पालिकाबाट प्राप्त गर्न सक्ने भएका छन् । यसबाट सेवाग्राहीको समय, खर्च तथा अनावश्यक झन्झटमा कमी आउने अपेक्षा गरिएको पालिकाले जनाएको छ ।
केही दिनअघि कार्यालयको उद्घाटन गर्दै राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले भूमि प्रशासन कार्यालय सञ्चालन स्थानीय नागरिकका लागि महत्त्वपूर्ण उपलब्धि भएको बताए । उनले अब सामान्य भूमि सम्बन्धी सेवाका लागि टाढा धाउनुपर्ने बाध्यताको अन्त्य भएको उल्लेख गर्दै स्थानीय तहमै छिटो, सहज र पारदर्शी सेवा उपलब्ध हुने जनाए ।
कार्यालय सञ्चालनको पहिलो दिन राप्तीसोनारी गाउँपालिका–९ निवासी रोशनकुमार वलीलाई जग्गाधनी दर्ता प्रमाण पुर्जा (लालपुर्जा)को प्रतिलिपि प्रदान गर्दै सेवाको शुभारम्भ गरिएको थियो । गाउँमै जग्गाधनी दर्ता प्रमाण पुर्जा पाएपछि वलीले खुसी हुँदै भने, ‘कार्यालय यहाँ आएपछि अब भूमि सम्बन्धी कामका लागि टाढा सहरमा जानु नपर्ने भएको छ । यसबाट हाम्रो समय र पैसा दुबैको बचत हुनेछ ।’
कार्यालय उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष पौडेल लगायतका जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत, भूमि प्रशासन कार्यालय कोहलपुरका प्रमुख तथा कर्मचारीहरू र सर्वसाधारणको उपस्थिति थियो । कार्यक्रममा सहभागीले स्थानीय तहबाटै भूमि प्रशासन सेवा उपलब्ध हुनु नागरिकमैत्री शासन, प्रभावकारी सेवा प्रवाह तथा सुशासन प्रवर्धनतर्फको महत्त्वपूर्ण कदम भएको बताएका थिए ।
सत्यपाटी