२०८३ असार १६ , मंगलबार 30, June 2026, Tuesday

देशभर ६२.६८ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८३ असार १६ गते मंगलबार

सिँचाइ तथा जलस्रोत विभागका अनुसार हालसम्म देशको आवश्यक सिँचाइ क्षेत्रमध्ये ६२.६८ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा विस्तार गरिएको छ । विभागको तथ्यांक अनुसार नेपालमा कुल ३५ लाख ५७ हजार ७६४ हेक्टर खेतीयोग्य जमिन रहेको छ ।

तीमध्ये २५ लाख ३६ हजार ३१९ हेक्टर जमिनमा नियमित सिँचाइ आवश्यक पर्ने भए पनि हालसम्म १५ लाख ९० हजार ३८८ हेक्टर क्षेत्रमा मात्रै सिँचाइ सुविधा पुगेको छ । यसवर्ष समयमै पर्याप्त वर्षा नहुँदा धेरै जिल्लाका किसानले रोपाइँका लागि पानीको अभाव झेलिरहेका छन् ।

कतिपय स्थानमा रोपाइँका लागि राखिएको धानको बीउ नै सुक्न थालेको छ भने धेरै किसान आकाशे पानीको प्रतीक्षामा छन् । यस्तो अवस्थाले धान उत्पादनमा असर पर्ने चिन्ता बढेको सिँचाइ तथा जलस्रोत विभागले जनाएको छ ।

विभागका सूचना अधिकारी रामप्रसाद पौडेलका अनुसार गत आव २०८१–०८२ मा विभागले १६ हजार ३०८ हेक्टर जमिनमा थप सिँचाइ सुविधा विस्तार गर्ने लक्ष्यसहित विभिन्न आयोजना सञ्चालन गरेको थियो । यस्तै चालु आर्थिक वर्ष २०८२–०८३ मा छ हजार ७५० हेक्टर क्षेत्रमा नयाँ सिँचाइ सुविधा विस्तार गर्ने लक्ष्य राखिएको छ ।

तर चालु आवको चैत मसान्तसम्म केवल चार हजार ४८ हेक्टर जमिनमा मात्र सिँचाइ सुविधा विस्तार गर्न सफल भएको विभागले जनाएको छ । चालु आवमा निर्धारित लक्ष्यमा कमी आउनुको कारण आन्दोलन र आयोजना कटौती रहेको छ ।

प्रकाशित मिति : २०८३ असार १६ गते मंगलबार