२०८३ असार १६ , मंगलबार 30, June 2026, Tuesday

देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी बर्षा

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८३ असार १६ गते मंगलबार

जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू–भाग, गण्डकी प्रदेशको केही भू–भाग र लुम्बिनी प्रदेशको पूर्वी भू–भागको थोरै स्थानमा मनसुनी वायूको प्रभाव रहेको र अन्य भू–भागमा पश्चिमी वायू र स्थानीय वायूको आंशिक प्रभाव रहेको छ ।

साथै गण्डकी र लुम्बिनी प्रदेशको बाँकी भू–भाग, कर्णाली र सुदुरपश्चिम प्रदेशका सम्पूर्ण भू–भागमा भोलीसम्म मनसुन बिस्तार हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । हाल कोशी, मधेश र बागमती प्रदेशमा अधिकांश बादल लागेको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लागेको छ ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको तराई भू–भागमा आंशिक बादल लागेको छ । कोशी र बागमती प्रदेशका केही स्थानमा साथै गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा भईरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर अधिकांश बादल लाग्नेछ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र हिमाली भू–भागका धेरै स्थानमा, कर्णाली र सुदुरपश्चिमको पहाडी र हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्म वर्षा र हिमपातको तथा देशका तराई भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ भने आज राति देशभर अधिकांश बादल लाग्नेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली भू–भागको केही स्थानमा तथा कर्णाली सुदुरपश्चिम प्रदेशको हिमाली भू–भागको थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।

देशको पहाडी र तराई भू–भाग धेरै स्थान मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भाग थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । मधेश प्रदेश तथा बागमती, कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी र तराई भू–भाग एक–दुई स्थानमा पनि भारी वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई र मधेश प्रदेशको केही स्थानमा हावाहुरीको सम्भावना छ ।

प्रकाशित मिति : २०८३ असार १६ गते मंगलबार