२०८३ भदौ १७ , बुधबार 2, September 2026, Wednesday

खजुरा क्यान्सर अस्पतालको रेडियोथेरापी सेवा बन्द, बिरामीलाई सास्ती

खजुरा क्यान्सर अस्पतालमा रहेको बिग्रिएको लिन्याक मेसिन ।

चितवनदेखि पश्चिमतर्फको एक मात्र क्यान्सर अस्पताल बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा गत एक महिनाभन्दा बढी समयदेखि रेडियोथेरापी सेवा बन्द भएको छ । अस्पतालको लिन्याक मेसिन बिग्रिएपछि क्यान्सर उपचारको प्रमुख माध्यम मानिने रेडियोथेरापी सेवा अवरुद्ध हुँदा पश्चिम नेपालका क्यान्सरका बिरामीहरू समस्यामा परेका छन् ।

दुई दिनअघि मात्रै कार्यकारी निर्देशकका रूपमा सरुवा भएर आएका डा.निरज भट्टराईले लिन्याक मेसिन बिग्रिएपछि रेडियोथेरापी सेवा बन्द भएको जनाउँदै पदभार ग्रहण गरेलगत्तै मर्मतका लागि पहल सुरु गरिसकेको बताए । उनले अस्पताल प्रशासनसँग यसबारे विस्तृत जानकारी लिएको तथा मर्मतका लागि हालसम्म गरिएका प्रयासहरूको विवरण समेत माग गरी आवश्यक प्रक्रिया अघि बढाइएको जानकारी दिए ।

कार्यकारी निर्देशक डा.भट्टराईले भने, ‘रेडियोथेरापी सेवा बन्द हुनुको कारणसहित विस्तृत जानकारी अस्पताल प्रशासनसँग माग गरेको छु । विवरण प्राप्त हुनेबित्तिकै सेवा पुनः सञ्चालनका लागि प्रक्रिया अघि बढाइनेछ ।’ पश्चिम नेपालका लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका क्यान्सरका बिरामीहरूको उपचार हुँदै आएको उक्त अस्पतालको लिन्याक मेसिन बन्द भएपछि दैनिक रेडियोथेरापी सेवा लिने बिरामीहरू अन्य अस्पताल जान बाध्य भएका छन् ।

खजुरामा सेवा बन्द हुँदा सबैभन्दा बढी समस्या विपन्न तथा आर्थिक रूपमा कमजोर बिरामीलाई परेको छ । यसअघि अस्पतालको निमित्त प्रमुख रहेका चिकित्सक डा.प्रविण गुप्ताले रेडियोथेरापी मेसिन एक महिनाभन्दा बढी समयदेखि बन्द रहँदा उपचार सेवामा गम्भीर असर परेको बताए । उनले भने, ‘लामो समयसम्म लिन्याक मेसिन नचल्दा बिरामीहरू अन्यत्र जान बाध्य भएका छन् । यसलाई यथाशीघ्र मर्मत गरी सञ्चालनमा ल्याउन सरकारले समयमै ध्यान दिनुपर्छ ।’

अस्पताल प्रशासनले मर्मतका लागि पटक–पटक स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरे पनि मेसिन मर्मत हुन नसकेको जनाएको छ । अस्पतालका अनुसार दैनिक २५ भन्दा बढी क्यान्सरका बिरामीले रेडियोथेरापी सेवा लिँदै आएका थिए । तर मेसिन बिग्रिएपछि ती बिरामी उपचारका लागि अन्यत्र जान बाध्य भएका छन् । अस्पतालले सेवा छिट्टै पुनः सञ्चालन गरिने जनाएको छ ।

प्रकाशित मिति : २०८३ असार १५ गते सोमबार