२०८३ असार १५ , सोमबार 29, June 2026, Monday

आज असार १५ धान दिवस, दही चिउरा खाएर मनाइँदै

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८३ असार १५ गते सोमबार

प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदैछ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ ।

असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन् । हाम्रो संस्कृतिमा दहीको स्थान महत्त्वपूर्ण छ ।

शुभकार्यका लागि घरबाहिर निस्कने, विदेश जाने आदि महत्त्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ । यस्ता शुभ काममा निस्कनुअघि सगुनका रूपमा पनि दही खुवाएर बिदाइ गरिन्छ । निस्कने बेलामा दही खाएर हिँडे साइत पर्ने जनविश्वास रहिआएको छ ।

धान दिवस

विसं २०६१ मंसिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषिप्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा खेतीपाती हो । किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् ।

आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’जस्ता लोकलयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ । मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन् ।

असारमा एकपटक हिलोमा पस्नैपर्ने मान्यता पनि नेपालीमा समाजमा रहेको छ । यस वर्ष असार मध्यसम्म पनि देशका सबै भागमा पर्याप्त मात्रामा वर्षा नभएका कारण हुनुपर्ने जति रोपाइँ हुनसकेको छैन । कति ठाउँमा रासायनिक मलको पनि अभाव भएको गुनासो किसानले गर्ने गरेका छन् । कृषि, वन तथा पर्यावरण मन्त्रालयले भने पर्याप्त मात्रामा रासायनिक मलको मौज्दात रहेको जनाएको छ ।

प्रकाशित मिति : २०८३ असार १५ गते सोमबार