२०८३ असार १३ , शनिबार 27, June 2026, Saturday

किशोरकिशोरीमा तनाव, डिप्रेसन र आत्महत्याको बढ्दो जोखिम

सत्यपाटीसत्यपाटी । बाँके । २०८३ असार १३ गते शनिबार

किशोरकिशोरीमा तनाव, चिन्ता, डिप्रेसन तथा आत्महत्याको जोखिम बढ्दै गइरहेको अवस्थामा मानसिक स्वास्थ्यबारे सही सूचना प्रवाह गर्न सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको बताइएको छ ।

जनस्वास्थ्य विज्ञ डा.अरुणा उप्रेतीले युवामा मानसिक स्वास्थ्य समस्या बढ्दो चुनौतीका रूपमा देखिएको बताइन् । उनले विश्वभर करिब ६.२ प्रतिशत किशोरकिशोरी मानसिक असन्तुलनको समस्याबाट प्रभावित छन् भने २.८ प्रतिशतमा तनावको अवस्था रहेका छन् ।

त्यस्तै ११.२ प्रतिशत बालबालिकामा कुनै न कुनै प्रकारको मानसिक स्वास्थ्य समस्या देखिने गरेको बताइन् । डा.उप्रेतीले नेपाल दक्षिण एसियामै उच्च आत्महत्या दर भएका मुलुकमध्ये एक रहेको उल्लेख गर्दै आत्महत्या अहिले प्रमुख सार्वजनिक स्वास्थ्य समस्या बनेको बताइन् ।

ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठी काठमाडौँकी कार्यकारी निर्देशक समेत रहेकी उनले मानसिक स्वास्थ्यलाई अझै पनि गलत बुझाइ, डर र सामाजिक कलङ्कका रूपमा लिने प्रवृत्ति कायम रहेकाले समस्या थप जटिल बन्दै गएको बताइन् ।

मनोपरामर्शकर्ता सुदिपा ढुङ्गानाले किशोरकिशोरीको मानसिक स्वास्थ्य समस्यालाई समयमै पहिचान गरी उचित सहयोग र परामर्श प्रदान गर्नुपर्नेमा जोड दिइन् । उनले मानसिक स्वास्थ्य सम्बन्धी विषयलाई लुकाउने वा कलङ्कका रूपमा हेर्ने प्रवृत्तिले समस्या थप जटिल बनाउने बताइन् ।

ढुङ्गानाले परिवार, विद्यालय, समुदाय र सञ्चारमाध्यमले सचेतना अभिवृद्धिमा सक्रिय भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गरिन् । उनले सञ्चारमाध्यमले किशोरकिशोरीमा मानसिक स्वास्थ्य सम्बन्धी सूचना तथा शिक्षा प्रवाह गर्न, सही जानकारी फैलाउन र सकारात्मक सोचको विकास गर्न महत्वपूर्ण योगदान दिन सक्ने बताइन् ।

ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठीले किशोरकिशोरीको मानसिक स्वास्थ्य, बालविवाह, बालश्रम, असुरक्षित बसाइँसराइ तथा मानव बेचबिखन न्यूनीकरणका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।

प्रकाशित मिति : २०८३ असार १३ गते शनिबार