२०८३ असार ११ , बिहीबार 25, June 2026, Thursday

जानकीमा १५ शैय्याको अस्पताल भवन निर्माण सकियो

सत्यपाटीसत्यपाटी । बाँके । २०८३ असार ११ गते बिहीबार

बाँकेको जानकी गाउँपालिकामा नवनिर्मित १५ शैयाको अस्पताल भवनको निर्माण सम्पन्न भएको छ । भवन निर्माण सम्पन्न भएसँगै आगामी आर्थिक वर्षदेखि अस्पतालबाट स्वास्थ्य सेवा सञ्चालन गरिने गाउँपालिका अध्यक्ष छब्बन खाँले बताए ।

उनले भने, ‘अस्पताल सञ्चालनमा आएपछि सामान्य उपचारदेखि मातृ तथा शिशु स्वास्थ्य सेवासम्मका लागि सदरमुकाम नेपालगन्ज धाउनुपर्ने स्थानीयको बाध्यता अब अन्त्य हुनेछ ।’ नागरिकले आफ्नै गाउँमा गुणस्तरीय स्वास्थ्य सेवा पाएपछि बसाइँसराइ कम हुनुका साथै जीवनस्तरमा समेत सुधार आउने अध्यक्ष खाँले बताए ।

आगामी आर्थिक वर्षमा अस्पताल सञ्चालन र सेवा विस्तारका लागि पर्याप्त बजेट विनियोजन गरिएकाले यसबाट ग्रामीण बस्तीका नागरिकलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा गाउँमै उपलब्ध गराउन सहज हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायले बताए ।

अस्पताल सञ्चालनमा आएपछि जानकीवासीले विशेषज्ञसहितको गुणस्तरीय स्वास्थ्य सेवा गाउँमै प्राप्त गर्ने गाउँपालिकाले जनाएको छ । सो अस्पतालबाट तत्काल प्रसूति सेवा सञ्चालन गर्ने तयारी भइरहेको र अन्य स्वास्थ्य सेवाहरू क्रमशः सञ्चालनमा ल्याइनेछ । विसं २०७८ माघमा ११ करोड ४४ लाखको लागतमा निर्माण कम्पनी हिम सगरमाथा–अनका जेभीले सो अस्पताल भवन निर्माणको जिम्मा लिएको थियो ।

गाउँपािलकाका प्रवक्ता टिकानाथ यादवले सात हजार २६३ घरपरिवार तथा ४६ हजार ५३६ जनसंख्या रहेको जानकी गाउँपालिकावासीले सामान्य उपचारका लागि समेत अहिले सदरमुकाम नेपालगन्जलगायत अन्य स्थान पुग्नुपर्ने बाध्यता रहेको छ । अस्पताल भवन निर्माण सम्पन्न भएकोले अब गाउँमै स्वास्थ्य सेवा पाउने आशा र बिश्वास बढेको स्थानीय वासिन्दाको भनाइ छ ।

अस्पताल भवन निर्माणसँगै स्थानीयवासीमा सहज स्वास्थ्य सेवाप्रतिको आशा र भरोसा बढेको जानकी–४ का अगुवा पदमबहादुर धितालले बताए । उनले सुविधा सम्पन्न अस्पताल भवनबाट गाउँपालिकावासीलाई सहज र सुलभ रूपमा स्वास्थ्य सेवा सञ्चालन गर्न गाउँपालिकाले आवश्यक ध्यान दिनुपर्ने कुरामा जोड दिए । सोही प्रकारले जानकी–१ का दिनेश मौर्यले पनि गाउँमै स्वास्थ्य सेवा पाउने कुरा थाहा पाउँदा खुशी लागेको जनाउँदै तर सेवा गुणस्तरीय र जनशक्ति राम्रो हुनुपर्नेमा ध्यान दिन आग्रह गरे ।

प्रकाशित मिति : २०८३ असार ११ गते बिहीबार