२०८३ असार ११ , बिहीबार 25, June 2026, Thursday

विपद्को पूर्वतयारी, ‘आठ हजार बढी सशस्त्र प्रहरी स्ट्याण्डबाई’

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८३ असार ११ गते बिहीबार

मनसुनजन्य प्राकृतिक विपद्को बढ्दो जोखिमलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल, नेपालले ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना’ अन्तर्गत देशैभर आफ्नो उपस्थिति र सक्रियतालाई तीव्र पारेको छ । सम्भावित बाढी, पहिरो र डुबान जस्ता विपद्को जोखिम न्यूनीकरण तथा प्रभावकारी उद्धारका लागि सशस्त्र प्रहरीले विशेष रणनीति र ठुलो सङ्ख्यामा जनशक्ति परिचालन गरेको हो ।

सशस्त्र प्रहरी बलका महानिरीक्षक नारायणदत्त पौडेलका अनुसार हालसम्म देशभरका २१ हजार ६९९ जना जनशक्तिलाई विपद् व्यवस्थापन सम्बन्धी विशेष अनुशिक्षण तालिम प्रदान गरी तयारी अवस्थामा राखिएको छ । असार मसान्तसम्म सङ्गठनका सम्पूर्ण कर्मचारीहरूलाई यस्तो तालिम दिइसक्ने लक्ष्य राखिएको छ । विपद् प्रतिकार्यकै लागि देशभर आठ हजार १८० जना सशस्त्र प्रहरी कर्मचारीहरू २४ सै घण्टा ‘स्ट्याण्डबाई’ (तयारी हालतमा) रहने व्यवस्था मिलाइएको छ ।

यसका साथै, विभिन्न कार्यालयहरूमा ‘विपद् सम्पर्क व्यक्ति’ तोकेर सरोकारवाला निकायहरूसँगको समन्वयलाई तीव्र पारिएको छ । विपद्को समयमा तत्काल उद्धार टोली पुग्न कठिन हुने दुर्गम तथा जोखिमयुक्त स्थानहरूको पहिचान गरी सातै प्रदेशका ५४ स्थानमा ‘अस्थायी मनसुन प्रतिकार्य वेश’ स्थापना गरिएको छ । जसअन्तर्गत कोशीमा ६, मधेसमा ११, वागमतीमा १६, गण्डकीमा ४, लुम्बिनीमा ७, कर्णालीमा २ र सुदूरपश्चिम प्रदेशमा ८ वटा वेश रहेका छन् ।

यस्तै, धनकुटाको मूलघाट, सुनसरीको चतरा, बाराको निजगढ, सप्तरीको भारदह, धादिङको आदमघाट, सिन्धुलीको खुर्कोट, म्याग्दीको नारच्याङ र कैलालीको डुडेझारीसहित १६ वटा अति जोखिमयुक्त स्थानहरूमा जनशक्ति र स्रोतसाधनसहितका स्थायी विपद् व्यवस्थापन वेशहरू तयारी अवस्थामा राखिएको छ । उद्धार कार्यलाई थप प्रभावकारी र प्राविधिक रूपमा सक्षम बनाउन १३४ जना गोताखोरसहितको टोलीलाई आवश्यक उपकरणसहित देशभरका ११ जोखिमयुक्त स्थानमा खटाइएको छ ।

सशस्त्र प्रहरीसँग हाल ८२ वटा र्‍याफ्टिङ बोट र ५३ वटा मोटर बोट तयारी अवस्थामा रहेका छन् । विशिष्टिकृत तालिम प्राप्त चार हजार ७१० जना दक्ष कर्मचारीहरू उद्धार सामग्रीसहित तयारी हालतमा छन् । स्वास्थ्य सेवाका लागि ८ वटा ‘मास क्याजुअल्टी भेइकल’ (सामूहिक दुर्घटना उद्धार गाडी) र ८ वटा ‘ए’ क्लास एम्बुलेन्सहरू विभिन्न बाहिनी तथा अस्पतालहरूमा व्यवस्था गरिएको छ ।

साथै, १० वटा ‘इमिडिएट रेस्पोन्स टिम’ (तत्काल कार्यदल) र १३ वटा हेभी इक्विपमेन्टहरू (डोजर, लोडर आदि) विभिन्न राजमार्ग तथा मुख्य करिडोरहरूमा तैनाथ गरिएका छन् । विपद्को सूचना तत्काल प्राप्त गर्न सशस्त्र प्रहरीले ‘एपीएफ कम्युनिटी अलर्ट सिस्टम’मोबाइल एप सञ्चालनमा ल्याएको छ । यस प्रणालीमार्फत समुदायबाट प्राप्त सूचना बाहिनी तहको अपरेसनल रुममा तत्काल पुग्ने र उद्धार टोली परिचालन हुने व्यवस्था मिलाइएको छ ।

जल तथा मौसम विज्ञान विभागबाट प्राप्त हुने ‘रियल टाइम डाटा’ लाई आधार मानी प्रतिकार्य योजनालाई थप सुदृढ बनाइएको छ । विपद् व्यवस्थापनमा जनसहभागिता बढाउन हालसम्म एक हजार ७४१ जना विपद् स्वयंसेवक तयार पारिसकिएको छ । स्थानीय तहमा एक लाख ६८ हजार ९५६ जना ‘विपद् सूचक’हरूको सञ्जाल निर्माण गरिएको छ, जसले घटनाको तत्काल जानकारी दिनेछन् ।

यसका अतिरिक्त, देशभरका विद्यालय र समुदायमा दुई हजार ३०० भन्दा बढी सचेतनामूलक कार्यक्रम र ३४३ वटा कृत्रिम अभ्यास (मकट्रिल) सम्पन्न भइसकेका छन् । सम्भावित जोखिमका क्षेत्रहरूको नक्साङ्कन गरी मुख्य करिडोरहरूमा खोज तथा उद्धारको विशेष कार्ययोजना कार्यान्वयनमा ल्याइएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

प्रकाशित मिति : २०८३ असार ११ गते बिहीबार