मधेस प्रदेशमा आँपखेतीको क्षेत्रफल विस्तार भए पनि यस वर्ष उत्पादनमा उल्लेख्य गिरावट आएको छ । हावाहुरी र रोगकीराको प्रकोपका कारण उत्पादन घटेपछि किसान चिन्तित बनेका छन् । कृषि विज्ञ दिनेश यादवका अनुसार किसानले उन्नत जातका बिरुवा प्रयोग गर्न थालेका छन् भने बगैँचा व्यवस्थापन र सिँचाइ प्रणालीमा पनि सुधार भएको छ ।
तर, मौसमजन्य विपद् र रोग–कीराको प्रभावले अपेक्षित उत्पादन हुन नसकेको उनले बताए । कृषि विकास निर्देशनालय, नक्टाझिज धनुषाको तथ्यांक अनुसार आर्थिक वर्ष २०८२–०८३ मा प्रदेशभर ३२ हजार ५७४ हेक्टर क्षेत्रफलमा आँपखेती गरिएको छ । उक्त क्षेत्रफलबाट प्रतिहेक्टर औसत ९.०४ मेट्रिकटन उत्पादकत्वका दरले दुई लाख ९४ हजार ५६७ मेट्रिकटन आँप उत्पादन भएको बागवानी अधिकृत किरण विश्वकर्माले जानकारी दिए ।
अघिल्लो आर्थिक वर्ष २०८१–०८२ मा २९ हजार ८८० हेक्टर क्षेत्रफलमा आँपखेती हुँदा प्रतिहेक्टर ११.४३ मेट्रिक टन उत्पादकत्वका दरले तीन लाख ४१ हजार ४४५ मेट्रिकटन उत्पादन भएको थियो । तथ्यांक अनुसार यस वर्ष आँपखेतीको क्षेत्रफल दुई हजार ६९४ हेक्टरले बढेको भए पनि उत्पादन भने ४६ हजार ८७८ मेट्रिक टनले घटेको छ ।
निर्देशनालयका अनुसार यस वर्ष सबैभन्दा बढी उत्पादकत्व बारा जिल्लामा प्रतिहेक्टर १३.८० मेट्रिकटन रहेको छ भने सबैभन्दा कम सर्लाहीमा प्रतिहेक्टर ६.२० मेट्रिकटन उत्पादन भएको छ । जिल्लागत रूपमा सप्तरीमा आठ हजार ३८७ हेक्टर क्षेत्रफलबाट ७५ हजार ५०० मेट्रिकटन, सिरहामा नौ हजार ५० हेक्टरबाट ७२ हजार ४०० मेट्रिकटन तथा रौतहटमा चार हजार ७७० हेक्टरबाट ५४ हजार ३७८ मेट्रिकटन आँप उत्पादन भएको छ ।
त्यसैगरी, सर्लाहीमा १३ हजार २० मेट्रिक टन, महोत्तरीमा २९ हजार ७०० मेट्रिक टन, धनुषामा २३ हजार २७५ मेट्रिक टन, बारामा २० हजार ६३१ मेट्रिक टन तथा पर्सामा पाँच हजार ९६३ मेट्रिक टन आँप उत्पादन भएको निर्देशनालयले जनाएको छ । मधेस प्रदेशमा मालदह, दशहरी, बम्बई, कलकतिया र आम्रपाली लगायत जातका आँप उत्पादन हुने गरेको छ ।
यहाँ उत्पादित आँप प्रदेशभित्रका बजारसँगै काठमाडौं उपत्यका तथा देशका विभिन्न प्रमुख सहरमा आपूर्ति हुँदै आएको छ । उत्पादनमा कमी आए पनि आँपखेतीको व्यवसायीकरण, बगैँचा व्यवस्थापन सुधार तथा उत्पादकत्व वृद्धि गर्ने कार्यक्रमलाई निरन्तरता दिइने कृषि विकास निर्देशनालयले जनाएको छ ।
सत्यपाटी