२०८३ असार १० , बुधबार 24, June 2026, Wednesday

नेपालगन्जमा दैनिक ३० लाख लिटर पानी खेर

सत्यपाटीसत्यपाटी । बाँके । २०८३ असार १० गते बुधबार

नेपालगन्ज उपमहानगरपालिकामा खानेपानीको दैनिक माग निरन्तर बढ्दै गएको भए पनि करिब ३० लाख लिटर पानी दैनिक खेर गइरहेको छ । नेपालगन्ज खानेपानी संस्थान शाखा कार्यालयका अनुसार यहाँ दैनिक करिब ७० लाख लिटर पानी खपत हुने गर्छ तर वितरण प्रणाली, घरघरमा धारा जडान र उपभोक्ताको लापर्बाहीपूर्ण व्यवहारका कारण खानेपानी खेर गएको हो ।

खानेपानी संस्थान नेपालगन्ज शाखाको तथ्याङ्क अनुसार करिब छ हजार उपभोक्ताको घरमा मात्र संस्थागत रूपमा पानी आपूर्ति पुगिरहेको छ । उपमहानगरपालिकाका २३ वटै वडामध्ये होटेल सिद्धार्थदेखि महेन्द्र क्याम्पस क्षेत्रसम्म, फुलटेक्रा–सुर्खेत रोड हुँदै मानपुर सीमासम्म पानी वितरण विस्तार गरिएको छ ।

नेपालगन्ज उपमहानगरपालिका अन्तर्गत हाल चार वटा प्रमुख पानीट्याङ्की सञ्चालनमा छन् । कारकाँदोको ट्याङ्कीको क्षमता चार लाख २० हजार लिटर रहेको छ भने आलानगर, वागेश्वरी र पुरैना ट्याङ्की प्रत्येकको क्षमता चार लाख ५० हजार लिटर छ । यी संरचनाबाट सहरका विभिन्न क्षेत्रमा पानी आपूर्ति हुँदै आएको छ तर बढ्दो जनसङ्ख्या र अव्यवस्थित जडानका कारण माग र आपूर्तिबिच सन्तुलन कायम राख्न चुनौती थपिएको छ ।

संस्थानका अनुसार ट्युबेलबाट पानी निकालेर वितरण गर्ने प्रणाली अझै पनि प्रमुख स्रोतका रूपमा छ । यसका कारण धेरै उपभोक्ताले शुद्ध प्रशोधित पानी जडान गरेका छैनन् । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालगन्जको कुल जनसङ्ख्या एक लाख ६४ हजार ४४४ छ । घरधुरी सङ्ख्या ३४ हजार ५६५ रहेको तथ्याङ्क छ ।

संस्थागत रूपमा सुरक्षित पानी पाउने घरधुरी भने अत्यन्तै कम रहेको छ । खानेपानी संस्थान नेपालगन्ज शाखा प्रमुख हरिकुमार श्रेष्ठका अनुसार दैनिक आपूर्ति र उपभोक्ता मागबिच सन्तुलन कायम गर्न निरन्तर प्रयास भइरहेको छ । श्रेष्ठले भने, ‘हामीसँग दैनिक करिब एक करोड लिटर पानी मौज्दात हुने प्रणाली छ तर वितरण र उपभोक्ता जडानको अवस्थाका कारण सबै पानी प्रयोग हुन सकिरहेको छैन ।’

केही पानी संरचनागत चुहावट, केही अनियमित जडान र केही उपभोक्ताको लापर्बाहीका कारण उपयोग हुन नसकेको पनि उनले बताए । संस्थानका अनुसार विशेष गरी गर्मीयाममा पानीको माग अत्यधिक बढ्ने भएकाले व्यवस्थापन झन् चुनौतीपूर्ण हुने गरेको छ । संस्थानले आगामी दिनमा वितरण क्षमता विस्तार र गुणस्तर सुधारलाई प्राथमिकतामा राखेर काम गर्ने जनाएको छ ।

प्रकाशित मिति : २०८३ असार १० गते बुधबार