अत्यधिक गर्मीसँगै तातो हावा ‘लु’ चल्न थालेपछि नेपालगन्ज उपमहानगरपालिकाभित्रका सबै विद्यालयमा तीन दिन बिदा गरिएको छ । अत्यधिक गर्मीका कारण पठनपाठनमा समस्या भएपछि तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरिएको नेपालगन्ज उपमहानगरपालिकाका बरिष्ठ शिक्षा अधिकृत लोकेन्द्रबहादुर शाहीद्वारा हस्ताक्षरित सूचनामा जनाइएको छ ।
उपमहानगरपालिकाको सूचना अनुसार अत्यधिक गर्मी मौसमका कारण विद्यार्थीहरुलाई विद्यालय आवतजावतमा कठिनाई भई स्वास्थ्यमा प्रतिकूल असर हुने जोखिमलाई मध्यनजर गर्दै विद्यार्थीहरु, शिक्षकहरु र जल तथा मौसम विज्ञान विभाग लगायत सरोकारवालहरुको सुझाव समेतका आधारमा असार १० देखि १२ गतेसम्म तीन दिन बिदा दिइएको छ ।
सूचनामा भनिएको छ, ‘विद्यालय तहका सम्पूर्ण कक्षाहरुको पठनपाठन बन्द हुने गरी गर्मी विदा गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि आदेशानुसार अनुरोध छ । साथै उक्त समय अवधिमा सबै विद्यार्थीहरुलाई पर्याप्त गृहकार्यको व्यवस्था गरि विद्यार्थीहरुको स्व अध्ययनलाई व्यवस्थित गर्न आवश्यक सहजीकरणका लागि समेत अनुरोध छ ।’
बरिष्ठ शिक्षा अधिकृत शाहीले अत्यधिक गर्मीका कारण बालबालिकामा स्वास्थ्य समस्या देखिन थालेपछि तीन दिनका लागि उपमहानगरपालिकाभित्रका सबै विद्यालय बन्द गर्न सूचना प्रकाशित गरिएको बताए । उपमहानगरपालिकाले यसअघि जेठ २६ गतेदेखि २९ गतेसम्म विद्यालयहरूमा बिदा दिएको थियो । गर्मी बढ्दै गएकाले जिल्लाका अन्य पालिकाहरूले पनि बालबालिकाहरूको स्वास्थ्यलाई ध्यान दिएर केहि दिन विद्यालय बन्द गर्न अभिभावकहरूले सुझाएका छन् ।

सत्यपाटी