२०८३ असार ८ , सोमबार 22, June 2026, Monday

पाँच वटा प्रदेशमा फैलियो मनसुनी

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८३ असार ८ गते सोमबार

नेपालमा औसत समयभन्दा छ दिन ढिलो गरी प्रवेश गरेको यस वर्षको मनसुनी प्रणाली देशको पूर्वी तथा मध्य भूभागमा विस्तार भएको छ । कोशी प्रदेशबाट गत शुक्रबार नेपाल भित्रिएको मनसुन आज थप चार प्रदेशमा फैलिएको हो ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको विशेष मनसुन बुलेटिन अनुसार हाल मनसुनी वायु कोशी प्रदेशको सम्पूर्ण भूभाग, मधेस, बागमती र गण्डकी प्रदेशका अधिकांश भूभाग तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रसम्म विस्तार भइसकेको छ ।

यद्यपि यो मनसुनी प्रणाली अझै पनि केही कमजोर अवस्थामै रहेकाले सुदूरपश्चिम र कर्णाली लगायत देशका बाँकी पश्चिमी क्षेत्रमा विस्तार हुन अझै केही दिन लाग्ने मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए ।

सामान्यतया नेपालमा जुन १३ तारिखमा मनसुन भित्रिने औसत समय भए पनि यस वर्ष भने छ दिन ढिलो गरी मात्रै मनसुन नेपाल आइपुगेको हो । मनसुनको प्रभाव क्रमशः बढ्दै गएसँगै पूर्वी तथा मध्य नेपालका विभिन्न स्थानहरूमा वर्षा हुने क्रम सुरु भइसकेको छ ।

यसैबिच विभागले यो वर्षको मनसुन अवधिभर नेपालमा सरदरभन्दा कम वर्षा हुने र तापक्रम केही बढ्ने प्रारम्भिक प्रक्षेपण गरेको छ । मौसमविद् सुदर्शन हुमागाईँका अनुसार यस वर्षको मनसुनमा देशका अधिकांश स्थानहरूमा औसतभन्दा कम पानी पर्ने सम्भावना देखिएको छ ।

विशेषगरी कर्णाली प्रदेशका दक्षिणी भूभाग, लुम्बिनी प्रदेशका अधिकांश क्षेत्र, मधेस प्रदेशका पूर्वी भूभाग तथा कोशी प्रदेशका दक्षिणी क्षेत्रहरूमा यस वर्ष सरदरभन्दा कम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ ।

महाशाखाले मनसुनी प्रणालीको निरन्तर अनुगमन गरिरहेको जनाउँदै आगामी तीन दिनको मौसम बुलेटिन नियमित रूपमा हेर्न र मौसममा आउने परिवर्तन अनुसार आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : २०८३ असार ८ गते सोमबार