२०८३ असार ७ , आइतबार 21, June 2026, Sunday

बाजुरामा बस दुर्घटना, २४ जना घाइते, केहीको अवस्था गम्भीर

सत्यपाटीसत्यपाटी । बाजुरा । २०८३ असार ७ गते आइतबार

बाजुरामा आज बिहान बस दुर्घटना हुँदा २४ जना घाइते भएका छन् । बुढीगंगा नगरपालिका–८ रिठाबजारस्थित साँफेबगर–मार्तडी सडकखण्डमा सु.प.प्र.०१–००१ ख १३५५ नम्बरको बस ब्रेक फेल भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

महेन्द्रनगरबाट बाजुराको मार्तडीतर्फ जाँदै गरेको बस एक्कासी ब्रेक फेल भई सडकको बाँया नालीतर्फ पल्टिएको हो । बस खप्तड छेडेदह गाउँपालिका–५ दोगडी बस्ने ४३ वर्षीय खडक बुढाले चलाएका थिए ।

दुर्घटनाको खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट रिठाबजार, प्रहरी चौकी बार्जुगाड तथा जिल्ला प्रहरी कार्यालय बाजुराबाट प्रहरी टोली खटिएको छ । प्रहरीले घटनास्थलबाट २४ जना घाइतेलाई उद्धार गरेको जनाएको छ ।

त्यसमध्ये २३ जनालाई उपचारको लागि जिल्ला अस्पताल मार्तडी र एक जना घाइतेलाई प्रादेशिक अस्पताल बयलपाटा अछाम पठाइएको छ । बसमा चालकसहित ३३ जना सवार थिए । जसमध्ये नौ जना यात्रु सकुशल रहेका प्रहरीले जनाएको छ । घाइतेमध्ये केही यात्रुको अवस्था गम्भीर छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८३ असार ७ गते आइतबार