राष्ट्रिय प्रकृति संरक्षण कोष अन्तर्गत सञ्चालन भइरहेको सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द गरिएको छ । चिडियाखाना परिसरभित्र रहेका जीवजन्तुमा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) संक्रमण देखिएपछि सर्वसाधारण दर्शकको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै चिडियाखाना बन्द गरिएको हो ।
सदर चिडियाखानाले जारी गरेको सूचना अनुसार आज मिति २०८३ साल असार ५ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि चिडियाखाना बन्द रहनेछ । संक्रमणको जोखिमलाई नियन्त्रण गर्न तथा थप फैलिन नदिन यो निर्णय गरिएको जनाइएको छ । चिडियाखाना प्रशासनले दर्शक तथा सर्वसाधारणलाई यस अवधिमा चिडियाखाना भ्रमण नगर्न आग्रह गरेको छ ।
साथै, चिडियाखाना बन्द हुँदा दर्शकमा पर्न गएको असुविधाप्रति क्षमायाचना समेत व्यक्त गरेको छ । जावलाखेलस्थित सदर चिडियाखाना राजधानी उपत्यकाको प्रमुख पर्यटकीय तथा शैक्षिक गन्तव्यका रूपमा परिचित छ । बर्डफ्लु संक्रमण देखिएपछि सम्बन्धित निकायले आवश्यक स्वास्थ्य तथा जैविक सुरक्षा उपायहरू अवलम्बन गरिरहेको जनाएको छ । चिडियाखाना पुनः सञ्चालनबारे थप निर्णय संक्रमणको अवस्था तथा प्राविधिक मूल्याङ्कनपछि गरिने जनाइएको छ ।

सत्यपाटी