२०८३ असार ५ , शुक्रबार 19, June 2026, Friday

बर्षा नहुँदा धानको बिउ राख्न समस्या

सत्यपाटीसत्यपाटी । बाँके । २०८३ असार ५ गते शुक्रबार

असार महिनाको पहिलो साता सुरु भइसक्दा पनि पर्याप्त पानी नपर्दा बाँकेका अधिकांश किसानले धानको ब्याड राख्न पाएका छैनन् । आकासे पानीको भरमा धान खेती गर्दै आएका जिल्लाका अधिकांश किसानले पानीको अभावमा हालसम्म धानको ब्याडसमेत राख्न नपाउँदा चिन्ता बढ्दै गएको जनाएका छन् ।

नेपालगन्ज–१९, सुइयागाउँका किसान ललवा माहुतले सिँचाइको व्यवस्था नहुँदा धान रोप्न आकाश हेरेर बस्नुपर्ने बाध्यता रहेको गुनासो गर्दै असार सुरु भइसक्दा पनि पानी नपर्दा ब्याडसमेत राख्न नपाएको बताए । उनले भने, ‘धान खेतीका लागि आवश्यक सिँचाइ, बिउ र मल नपाउँदा बर्सेनि यहाँका किसानले दुःखमाथि दुःख झेल्नुपर्ने बाध्यता छ । त्यसमाथि यस पटक अझैसम्म पनि पर्याप्त पानी नपरेकाले ब्याडसमेत राख्न सकेका छैनौँ ।’

बाँकेमा सिँचाइ सुविधा नपुगेका क्षेत्रमा घरायसी प्रयोजनका लागि राखिएका मोटर र कतिपय क्षेत्रमा खानेपानीको धाराको पानी प्रयोग गरेर पनि केही किसानले ब्याड राखेका छन् । अधिकांशले अझै पनि ब्याड राख्न नपाएको जानकी गाउँपालिका–१ का वडाध्यक्ष मोहम्मद रजा राईले बताए । उनले वर्षा नभएका कारण जानकी गाउँपालिकाको साइगाउँ, बेलभार लगायतका क्षेत्रका किसानले अहिलेसम्म पनि ब्याड राख्न नसकेको जनाए ।

कृषि ज्ञान केन्द्र बाँकेकी सूचना अधिकारी सुजिता शर्माले जिल्लामा सिँचाइको सुविधा पुगेको र वैकल्पिक उपाय गरेर हालसम्म करिब ४० प्रतिशत किसानले मात्रै धानको ब्याड राखेको जानकारी दिंँदै अन्य ६० प्रतिशतले आकाश हेरेरै बस्नु परेको बताइन् । उनका अनुसार जिल्लामा करिब ३६ हजार ५०० हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ ।

यहाँ सिक्टा सिँचाइ आयोजनाको नहरबाट कोहलपुर नगरपालिका, बैजनाथ गाउँपालिकाका र राप्तीसोनारी गाउँपालिकाका केही वडामा सिँचाइको व्यवस्था भएकाले ती क्षेत्रमा ब्याड राखिसकिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । अन्य क्षेत्रका धेरै किसान अहिले पनि आकासे पानीको भरमा धान खेती गर्न बाध्य रहेका छन् ।

सिक्टा सिँचाइ आयोजनाका सूचना अधिकारी मनोज शाहले धानको बिउ राख्ने समयलाई दृष्टिगत गरेर सिक्टा सिँचाइ आयोजनाको पूर्वी र पश्चिमी दुवै नहरमा नियमित रूपमा पानी छोडिएको बताए । उनका अनुसार राप्तीसोनारी गाउँपालिका–२, अगैयास्थित राप्ती नदीमा बाँध निर्माण गरी सञ्चालन गरिएको आयोजनाले जिल्लाको ४२ हजार ७६६ हेक्टर जमिनमा सिँचाइको लक्ष्य लिएकामा हालसम्म २४ हजार हेक्टर जमिनमा प्रत्यक्ष सिँचाइ पुगेको छ ।

प्रकाशित मिति : २०८३ असार ५ गते शुक्रबार