बाँकेको राप्तीसोनारी गाउँपालिका–८ बालापुरमा लिफ्ट सिँचाइमार्फत खेतबारीमा वर्षभरि पानी पुग्न थालेपछि स्थानीय किसानको जीवनशैलीमा उल्लेखनीय परिवर्तन आएको छ । केही वर्षअघिसम्म आकाशे पानीको भरमा खेती गर्न बाध्य किसानहरू अहिले व्यावसायिक तथा बेमौसमी खेतीतर्फ आकर्षित हुँदै उत्पादन र आम्दानी दुवै बढाउन सफल भएका छन् ।
निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना अन्तर्गत पश्चिम मूल नहरबाट लिफ्ट प्रणालीमार्फत सिँचाइ सुविधा विस्तार गरिएपछि सतही सिँचाइको पहुँच बाहिर रहेको बालापुर क्षेत्र कृषि उत्पादनका दृष्टिले नयाँ सम्भावनाको केन्द्र बन्दै गएको छ । पश्चिम मूल नहर र बाँके राष्ट्रिय निकुञ्जबीच पर्ने यस क्षेत्रमा विगतमा दुई बाली लगाउन समेत कठिन हुने अवस्था थियो ।
तर अहिले अधिकांश खेतबारी वर्षभरि हराभरा देखिन थालेका छन् । स्थानीय किसानहरू तरकारी, खाद्यान्न तथा नगदे बालीको व्यावसायिक खेतीतर्फ आकर्षित भएका छन् । बालापुर लिफ्ट सिँचाइ कृषक समूहका अध्यक्ष लोकबहादुर खत्रीले सिँचाइ सुविधा किसानका लागि वरदान सावित भएको बताए । उनका अनुसार लिफ्ट सिँचाइ सञ्चालनपछि खेतीयोग्य जमिनको उपयोग बढ्नुका साथै उत्पादनमा उल्लेखनीय वृद्धि भएको छ ।
उनले भने, ‘पहिला खेतीबाट खानसमेत पुग्दैनथ्यो, अहिले परिवारको आवश्यकता पूरा गरेर बचत गर्न सक्ने अवस्था आएको छ । दुई वर्षदेखि नियमित सिँचाइ सुविधा पाएपछि बाँझो खेतहरू अहिले हराभरा भएका छन् ।’ स्थानीय किसान उमा देवकोटाले पनि लिफ्ट सिँचाइले कृषि क्षेत्रमा सकारात्मक परिवर्तन ल्याएको बताए ।
उनका अनुसार विगतमा वर्षाको भरमा खेती गर्दा उत्पादन न्यून हुने भएकाले परिवार धान्न कठिन थियो । अहिले भने वर्षमा तीन बाली उत्पादन गर्न सकिने अवस्था बनेको छ । उनले भने, ‘सिक्टा नहरको पानी हामीसम्म पुग्दैन भन्ने लाग्थ्यो, तर लिफ्ट प्रविधिमार्फत खेतसम्म पानी आयो । अब सबै खेतमा पानी पुर्याउने थप प्वाइन्ट व्यवस्थापन गरिदिन आग्रह गरेका छौँ ।’
सिक्टा सिँचाइ आयोजनाका संस्थागत विकास शाखाका अर्जुन न्यौपानेका अनुसार सतही सिँचाइ पुर्याउन कठिन भएका क्षेत्रमा लिफ्ट प्रविधि प्रभावकारी विकल्पका रूपमा प्रयोग भइरहेको छ । उनका अनुसार पूर्वी तथा पश्चिमी नहर आसपासका विभिन्न स्थानमा लिफ्ट सिँचाइ विस्तार भइरहेको छ ।
आयोजनाले बाँके जिल्लाका करिब ४३ हजार हेक्टर कृषि योग्य जमिनमा सिँचाइ सुविधा विस्तार गर्ने लक्ष्य लिएको छ । हालसम्म २२ हजार ५०० हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुगेको छ । सतही सिँचाइ सम्भव नभएका १६ स्थानमा लिफ्ट प्रणालीमार्फत पानी पु¥याउने योजना अनुसार पश्चिम नहर क्षेत्रमा चार वटा आयोजना सञ्चालनमा छन् ।
पूर्वी नहर क्षेत्रमा ११ र पश्चिम नहरको एक स्थानमा थप संरचना निर्माण भइरहेको छ । लिफ्ट सिँचाइ विस्तारसँगै बालापुरका किसानमा कृषि व्यवसायप्रतिको आकर्षण बढ्दै गएको छ । नियमित सिँचाइले उत्पादन वृद्धि, खाद्य सुरक्षामा सुधार तथा ग्रामीण अर्थतन्त्र सुदृढ बनाउन सहयोग पुगेको स्थानीयवासीको अनुभव छ ।
सत्यपाटी