२०८३ असार २ , मंगलबार 16, June 2026, Tuesday

औसत मिति टर्‍यो, नेपालमा अझै मनसुन भित्रिएन

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८३ असार २ गते मंगलबार

नेपालमा केही दिन मनसुन सुरु हुन ढिला हुने भएको छ । गत वर्षभन्दा यस वर्ष तीन दिन ढिला हुँदा पनि मनसुन भित्रिन सकेको छैन । जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेलले नेपालमा मनसुन सरदर जुन १३ मा प्रवेश गर्ने भए अझै केही दिन ढिला हुने जानकारी दिएकी छिन् ।

मौसमविद् पोखरेलले भू–उपग्रहबाट प्राप्त तथ्याङ्क तथा गणितीय मौसम पूर्वानुमानको विश्लेषणका आधारमा नेपालमा मनसुन सुरु हुन केही दिन ढिला हुने सम्भावना रहेको जानकारी दिएकी छिन् । नेपालमा हाल कोशी, बागमती र गण्डकी प्रदेशका साथै हिमाली र पहाडी क्षेत्रमा मेघगर्जनसहितको मध्यम वर्षा भइरहेको छ ।

‘हाल प्रशान्त महासागरमा एलनिनो विकसित भइसकेको र अझै बलियो हुने क्रममा रहेको छ । जसले गर्दा नेपालको मनसुन आगमनमा समेत प्रभाव पर्ने र दक्षिण एसिया लगायत नेपालको मनसुन कमजोर हुनसक्ने सम्भावना देखिएको छ,’ उनले भनेकी छिन् । विगतमा सन् १९७२, १९८२, १९८३, १९८७, १९९२, १९९७, सन् २००२, २००९ २०१६, २०१९ र २०२३ मा पनि मनसुन ढिला प्रवेश भएको थियो ।

प्रकाशित मिति : २०८३ असार २ गते मंगलबार