२०८३ असार २ , मंगलबार 16, June 2026, Tuesday

नेपालमा मनसुन भित्रिन ढिलाई, एलनिनोको प्रभाव

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८३ असार २ गते मंगलबार

नेपालमा मनसुन औसतमा भित्रिने मिति चार दिनले घर्किसकेको छ । जुन १३ नेपालमा मनसुन भित्रिने औसत मिति हो । तर, जुन १६ भइसके पनि मनसुन भित्रिएको छैन । मनसुन नेपाल भित्रिन अझै केही दिन लाग्ने जल तथा मौसम विज्ञान विभागले बताएको छ । प्रि–मनसुन गतिविधि नै अहिले पनि सक्रिय रहेको छ । पश्चिमबाट पूर्वतर्फ नै हावाको बेग छ । त्यसैले खण्डित वर्षा भइरहेको छ ।

‘भू–उपग्रहबाट प्राप्त तथ्यांक तथा गणितीय मौसम पूर्वानुमानको विश्लेषणको आधारमा नेपालमा मनसुन आगमन अझ केही दिन ढिलो हुने सम्भावना छ,’ विभागले भनेको छ । नेपालमा हालसम्म पनि पश्चिमी वायुको सक्रियताका साथै स्थानीय वायु नै सक्रिय छ । त्यसैले कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी क्षेत्रमा मेघगर्जनसहितको मध्यमसम्मको वर्षाको गतिविधि भइरहेको विभागले प्रस्ट पारेको छ ।

‘हाल प्रशान्त महासागरमा एलनिनो विकसित भइसकेको र अझै बलियो हुने क्रममा रहेको छ । जसले गर्दा नेपालको मनसुन आगमनमा समेत प्रभाव पर्नेछ,’ विभागकी मौसमविद् तथा प्रवक्ता प्रवक्ता विभूती पोखरेल भन्छिन्, ‘दक्षिण एसिया लगायत नेपालको मनसुन कमजोर हुनसक्ने सम्भावना देखिएको छ ।’ विगतका केही वर्षहरूमा पनि एलनिनोका प्रभावले मनसुन आगमन ढिलो भएको थियो ।

एलनिनोको प्रभावले सन् १९७२ मा १८ जुन, १९८२ मा २७ जुन, १९८३ मा २४ जुन, १९८७ मा १४ जुन, १९९२ मा २१ जुन, १९९७ मा १४ जुन, २००२ मा १५ जुन, २००९ मा २३ जुन, २०१६ मा १५ जुन, २०१९ मा २० जुन र २०२३ मा १४ जुनमा मनसुन भित्रिएको तथ्यांक रहेको पोखरेलको भनाइ छ । एलनिनोको प्रभावले सबैभन्दा ढिलो मनसुन १९८२ मा भित्रिएको देखिन्छ । उक्त वर्ष औसत मितिभन्दा १४ ढिलो २७ जुनमा मात्रै मनसुन नेपाल प्रवेश गरेको देखिएको छ । अथवा आजको मितिले अझै ११ दिनपछि मात्रै मनसुन नेपाल प्रवेश गरेको थियो ।

प्रकाशित मिति : २०८३ असार २ गते मंगलबार