२०८३ असार १ , सोमबार 15, June 2026, Monday

क्षतिग्रस्त कोहलपुर-सुर्खेत विद्युत प्रसारण लाइन पुनः सञ्चालनमा

सत्यपाटीसत्यपाटी । बाँके । २०८३ असार १ गते सोमबार

नेपाल विद्युत प्राधिकरणको कोहलपुर-सुर्खेत १३२ केभी प्रसारण लाइन पुनः सञ्चालनमा आएको छ । नेपाल विद्युत प्राधिकरणले प्रसारण लाइन सञ्चालनमा आएसँगै कर्णाली प्रदेशमा देखिँदै आएको न्यून भोल्टेजको समस्या समाधान भई विद्युत आपूर्ति थप भरपर्दो तथा गुणस्तरीय हुने अपेक्षा गरेको छ ।

कोहलपुर–सुर्खेत १३२ केभी विद्युत् प्रसारण लाइन आयोजनाका प्रमुख रविकुमार चौधरीका अनुसार २०८२ माघ २० बाट सञ्चालनमा आएको उक्त प्रसारण लाइन २०८३ वैशाख २३ गते राति आएको विनाशकारी हावाहुरीका कारण ३८ मिटर अग्लो र तीन मिटर मोटाइको सालको रूख ढलेर टावरमा लाग्दा क्षति पुग्दा अवरुद्ध भएको थियो ।

उक्त रुख ढल्दा बाँके जिल्लाको बैजनाथ गाउँपालिका–१ चिसापानीस्थित बर्दिया राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्ने श्रीकृष्ण मध्यवर्ती सामुदायिक वन क्षेत्रमा रहेको प्रसारण लाइनको टावर नं ४४ र ४५ मा क्षति पुगेपछि उक्त लाइनमार्फत हुने विद्युत प्रवाह पूर्ण रूपमा अवरुद्ध भएको थियो । आयोजना प्रमुख चौधरीका अनुसार हावाहुरीका कारण प्रसारण लाइनको मार्गाधिकारभन्दा बाहिर रहेको करिब ३० मिटर लामो सालको ठूलो रुख ढलेर टावर तथा कन्डक्टरमा क्षति पुगेको थियो ।

आयोजना प्रमुख चौधरीले भने, ‘क्षतिग्रस्त संरचनाको निर्माण तथा मर्मत कार्य सम्पन्न भएपछि २०८३ जेठ ३१ बाट उक्त १३२ केभी प्रसारण लाइन सफलतापूर्वक परीक्षण गरी सञ्चालनमा आएको छ ।’ प्रसारण लाइन अवरुद्ध भएको अवधिमा कोहलपुर–सुर्खेत ३३ केभी प्रसारण लाइन मार्फत सुर्खेतसहित कर्णाली प्रदेशका विभिन्न जिल्लामा विद्युत आपूर्ति व्यवस्थापन गरिएको थियो ।

प्राधिकरणले १३२ केभी प्रसारण लाइन सञ्चालनमा आएसँगै सुर्खेत, दैलेख, कालिकोट, जुम्ला, मुगु तथा रुकुम पश्चिम लगायत जिल्लामा राष्ट्रिय ग्रिडमार्फत थप गुणस्तरीय र भरपर्दो विद्युत आपूर्ति हुने, भोल्टेजमा सुधार आउने तथा विद्युत प्रणालीको विश्वसनीयता अभिवृद्धि हुने अपेक्षा गरेको छ । यसैगरी, कर्णाली क्षेत्रमा उत्पादित विद्युत राष्ट्रिय ग्रिडमा प्रभावकारी रूपमा आबद्ध हुने भएकाले सो क्षेत्रका साथै बाँके र बर्दिया जिल्लाको विद्युत सेवाको गुणस्तरमा समेत उल्लेखनीय सुधार हुने नेपाल विद्युत प्राधिकरणको भनाई छ ।

प्रकाशित मिति : २०८३ असार १ गते सोमबार