२०८३ असार १ , सोमबार 15, June 2026, Monday

आन्दोलनमा उत्रिए कोहलपुरका विस्थापित सुकुम्वासी

सत्यपाटीसत्यपाटी । बाँके । २०८३ असार १ गते सोमबार

बाँकेको कोहलपुरका भूमिहीन दलित तथा अव्यवस्थित बस्तीमा डोजर चलाएर घरटहरा भत्काइएको एक महिना पुग्दा समेत व्यवस्थापनमा चासो नदेखाएको भन्दै विस्थपित प्रभावित परिवार आन्दोलनमा उत्रिएका छन् । आइतबार प्रभावित परिवारहरूले शिक्षा, स्वास्थ्य, रोजगारी र घरबासको व्यवस्था गर्नुपर्ने मागसहित आन्दोलनमा उत्रिएका हुन् ।

सरकारले कुनैपनि वैकल्पिक व्यवस्थापन नगरेर डोजर आतङ्कबाट घरटहराहरु भत्काएर व्यवस्थापनको कुनै चासो नदेखाएको भन्दै संघर्षको कार्यक्रम घोषणा गरेका हुन् । भूमिहीन दलित तथा अव्यवस्थित बस्ती संघर्ष समिति गठन गरेर प्रभावित परिवार आन्दोलनमा उत्रिएका हुन् ।

एक मिहना बित्दा समेत सरकारले सुकुम्वासीलाई कुनै चासो नदिएको र व्यवस्थापन गर्ने कुनै सुरसार नगरेको भन्दै संघर्ष समिति गठन गरेर आन्दोलनमा उत्रिएको समितिका संयोजक वीरबहादुर परियारले बताए । राज्यले व्यवस्थापनबिना फिल्मी शैलीमा डोजर चलाएर भूमिहीन दलित तथा अव्यवस्थित बस्तीमा चलाएको डोजर आतङ्कविरुद्ध सडकमा उत्रिन बाध्य भएको उनले बताए ।

सरकारले व्यवस्थापन नगरेरै बस्तीमा डोजर चलाउँदा वर्षौँदेखि बसोबास गर्दै आएका सयौँ परिवार अहिले कठिनाइ जीवन बाच्न बाध्य भइरहेको उनले बताए । प्रभावित परिवारहरूका बालबालिका शिक्षा, स्वास्थ्य सेवा र दैनिक जीविकोपार्जनबाट समेत प्रभावित भएको उनको गुनासो छ । एक महिना बित्दा समेत वैकल्पिक आवास, रोजगारी तथा आधारभूत सेवा सुनिश्चित गर्न कुनै चासो नदेखाएकाले बाध्य भएर सडकमा आउनु परेको उनको भनाइ छ ।

सरकारले भूमिहीन दलित र अव्यवस्थित परिवारको व्यवस्थापन नगर्दासम्म चरणबद्ध रुपमा आन्दोलन गर्दै जाने उनी बताउँछन् । ‘बस्तीबाट हामी ७५१ घरपरिवार विस्थापित भयौँ,’ हाल होल्डिङ सेन्टरमा ११५ परिवार मात्र हुनुहुन्छ, बाँकी परिवार सकिनसकी बाहिर कोठा भाडामा लिएर बस्नुपरेको छ, होल्डिङ सेन्टर अघोषित कारागार जस्तो बनेको छ,’ उनले भने ।

उनले होल्डिङ सेन्टरमा समस्यै समस्या रहेकाले विस्थापितहरुलाई जतिसक्दो चाँडो स्थायी बसोबासको व्यवस्थापन गर्नुपर्ने बताए । उनले भने, ‘जबसम्म हाम्रो स्थायी बसोबासको व्यवस्था हुँदैन, तबसम्म हामी दबाब दिनका लागि शान्तिपूर्ण आन्दोलन जारी राख्छौँ ।’ ‘भूमिहीन दलित, सुकुम्वासी तथा अव्यवस्थित बस्तीमाथि भएको डोजर आतङ्कविरुद्ध संघर्ष कार्यक्रम’ लेखिएको व्यानरसहित प्रभावित परिवार आन्दोलनमा उत्रिएका हुन् ।

उनीहरुले बिनाविकल्प डोजर आतङ्क बन्द गर, भूमिहीनमाथिको समान अधिकार कायम गर, विस्थापित परिवारको बसोबासको व्यवस्थापन गर लगायतका नारा लगाएका थिए । कोहलपुर ११ क्रिकेट मैदानस्थित भत्काइएको बस्तीबाट नाराजुलुस गर्दै उनीहरु साझा चोक हुँदै कोहलपुर चौराहसम्म पुगेका थिए ।

कोहलपुर नगरपालिकाले गत वैशाख २६ र २७ गते नगर विकास समितिको कोहलपुर ३ (ख) अन्तर्गतको करिब ३६ बिघा क्षेत्रफल (क्रिकेट मैदान आसपास)मा अतिक्रमण गरि निर्माण गरिएका १४८ वटा घरटहरा डोजर लगाएर भत्काएको थियो । नगरपालिकाले विस्थापित नागरिकका लागि अस्थायी बसोबासका लागि नगरभित्र विभिन्न १६ स्थानमा १६ वटा होल्डिङ सेन्टर व्यवस्थापन गरे पनि हाल तीन वटा मात्रै होल्डिङ सेन्टरमा उनीहरु बस्दै आएको जनाएको छ ।

कोहलपुर नगरपालिकाका नगर प्रहरी प्रमुख प्रहरी निरीक्षक वीरबहादुर थापाका अनुसार हाल तीन वटा होल्डिङ सेन्टरमा ११५ परिवारका ३१९ जना नागरिकहरु बसोबास गर्दै आएका छन् । कोहलपुर ११ नयाँ बसपार्कस्थित टर्मिनल भवनमा १०० परिवारका २८० जना, पुरानो बसपार्कमा रहेको नगर विकास समितिको भवनमा एक परिवारका पाँच जना र वडा १० स्थित दीपशिखा मावि एकतानगरको भवनमा १४ परिवारका ३४ जना नागरिकहरु बस्दै आएका छन् ।

प्रकाशित मिति : २०८३ असार १ गते सोमबार