बागलुङको जैमिनी नगरपालिका–१, कुश्मीसेरा सिरुबारीका ७९ वर्षीय लक्ष्मीदत्त पाध्याको दैनिकी बाँदरको चौकीदारीमा बित्ने गरेको छ । सिरुबारीको गैराबारी खेतमा उनको करिब सातमुरी मकै फल्ने जमिन छ ।
उक्त जमिनमा लगाएको मकै जोगाउन उनी बाँदरको चौकीदारी गर्छन् । बाँदरले मकै मात्र होइन, अन्य बाली पनि नष्ट गर्ने गरेको छ । बाँदरको आतङ्कले खेतबारीमा लगाएको मकै जोगाउन उनी चार वर्षदेखि नियमित रूपमा बाँदरको चौकीदारी गर्दै आएका छन् ।
उनी हरेक बिहान ५ः०० देखि बेलुका ७ः०० बजेसम्म सडक छेउको छाप्रोमा कुकुर र गुलेलीसहित चौकीदारी गर्छन् । ‘बाँदर आयो भने मलाइँ टेर्दैन्, कुकुर देखे केही पर जान्छन् गुलेलीसँग डराउँछन्,’ लक्ष्मीदत्तले भने, ‘बथानमा आयो भने त कुकुरलाई पनि टेर्दैनन् ।’
सिरुबारी र आसपासका क्षेत्रमा बाँदरआतङ्क अहिले किसानका लागि सबैभन्दा ठूलो समस्या बनेको छ । कतिपयले खेती गर्नै छोडेका छन् । जैमिनी नगरपालिकाका सबै वडामा बाँदर आतङ्कले हैरान बनाएको छ । जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बाँदरआतङ्ककै कारण जैमिनीका केही बस्ती नै बसाइँसराइ गएको बताउँछन् ।
सत्यपाटी