२०८३ जेठ २७ , बुधबार 10, June 2026, Wednesday

३६८ वटा चौँरीका पुच्छरसहित ट्याक्टर प्रहरी नियन्त्रणमा

सत्यपाटीसत्यपाटी । सङ्खुवासभा । २०८३ जेठ २७ गते बुधबार

सङ्खुवासभाको मकालु गाउँपालिका–३ हेदाङ्नामा ३६८ वटा चौँरीको पुच्छरसहित एक ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । भन्सार छली ल्याएका ती चौँरीका पुच्छरको कुल मूल्य पाँच लाख ५० हजार मूल्य बराबर हुन आउने प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यायल सङ्खुवासभाका प्रहरी निरीक्षक धनबहादुर राजवंशीले उत्तरी क्षेत्रको किमाथाङ्का नाकाबाट अवैध रूपमा भन्सार छलेर ल्याइएका चौँरीको पुच्छरसहित ट्याक्टर नियन्त्रणमा लिएको जानकारी दिए ।

इलाका प्रहरी कार्यालय हेदाङ्नागढीले कोशी राजमार्गअन्तर्गत खाँदबारी–किमाथाङ्का सडकखण्डको हेदाङ्ना चेकपोष्टमा भोटखोला गाउँपालिकाको हुङ्गुङबाट खाँदबारीतर्फ आउँदै गरेको १–०२–००३ त १२१७ नम्बर ट्याक्टर जाँच गर्ने क्रममा अवैध चौँरीको पुच्छर फेला परेको हो ।

घटनामा संलग्न रहेको आरोपमा ट्याक्टर चालक चिचिला गाउँपालिका–१ निवासी २० वर्षीय दिनेश राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । भन्सार छली ल्याइएको चौँरीको पुच्छर कसको हो, भन्ने अहिलेसम्म खुल्न सकेको छैन ।

नियन्त्रणमा लिएको अवैध चौँरीको पुच्छर किमाथाङ्का भन्सार कार्यालय खाँदबारीमा बुझाइएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय हेदाङ्नाको गस्ती टोलीले चौँरीको पुच्छर र ट्याक्टर नियन्त्रणमा लिएर थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाएको छ ।

प्रकाशित मिति : २०८३ जेठ २७ गते बुधबार