२०८३ जेठ २७ , बुधबार 10, June 2026, Wednesday

माटो अभावले कुमालेको रैथाने पेसा सङ्कटमा

सत्यपाटीसत्यपाटी । बाँके । २०८३ जेठ २७ गते बुधबार

माटोको भाँडा बनाएर जीविकोपार्जन गर्दै आएका बाँके जिल्लाका रैथाने कुम्हार समुदायले बर्सौंदेखि व्यावसायिक रूपमा प्रयोग गर्दै आएको माटो उत्खननमा रोक लागेपछि परम्परागत पेसा सङ्कटमा परेको छ ।

माटो अभावले माग अनुसारका भाँडा बनाउन नसकेपछि कुम्हार समुदायको पुर्ख्यौली पेसा नै सङ्कटमा परेको हो । यो समस्याको स्थायी समाधानको माग गर्दै तराई कुम्हार समाज नेपालले नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टलाई ज्ञापनपत्र बुझाउँदै फुलटेक्रा तालबाट माटो उत्खनन गर्न पाउने व्यवस्था मिलाइदिन माग गरेको छ ।

तराई कुम्हार समाज नेपाल बाँकेका अध्यक्ष रमेशचन्द्र कुमालले तत्काल माटोको व्यवस्था नगरिए समुदायलाई पेट पाल्नसमेत समस्या हुने बताए । ज्ञापनपत्र बुझ्दै नगरप्रमुख विष्टले माटो उत्खननसम्बन्धी आवश्यक नियम बनाई समस्याको दीर्घकालीन समाधान गर्ने आश्वासन दिनुभएको छ ।

यहाँको माटोबाट बनेका भाँडा अत्यन्तै बलिया र गुणस्तरीय हुने भएकाले जुम्ला, हुम्ला, सल्यान र जाजरकोटसम्म निर्यात हुने गरेको बताइएको छ । तराई कुम्हार समाज नेपालका अनुसार हाल बाँके जिल्लाका करिब ५० गाउँका १७० देखि १८० घरधुरी पूर्ण वा आंशिक रूपमा यसै माटोको काममा आश्रित छन् ।

प्रकाशित मिति : २०८३ जेठ २७ गते बुधबार