सङ्घीय राजधानी काठमाडौँसहित मुलुकभरि नै हाइटेन्सन (उच्च भोल्टेज ट्रान्समिसन लाइन) विद्युत् प्रसारण तारमुनि जग्गाधनीहरूले नक्सा पारित नै नगरी अवैध रूपमा घर निर्माण गर्ने गरेको पाइएको छ । कानुनतः यस्ता जोखिमयुक्त क्षेत्रमा सम्बन्धित पालिकाले नक्सा पारित गर्न मिल्दैन । तर कतिपय जग्गाधनीले प्राधिकरणको मौन स्वीकृति वा सेटिङको भरमा अवैध संरचना खडा गर्ने गरेको पाइन्छ ।
हाइटेन्सन तारमुनिका जग्गामा नक्सा पारित नगरी घर बनाउने प्रवृत्तिले गम्भीर मानवीय तथा संरचनागत जोखिम निम्त्याएको छ । यद्यपि यसमा जग्गाधनीको अटेरीका साथै नेपाल विद्युत् प्राधिकरणको फितलो अनुगमन, स्पष्ट नीतिगत कमजोरी र ढिलासुस्ती पनि उत्तिकै जिम्मेवार मानिन्छ । प्राधिकरणले टावरको मुआब्जा दिए पनि बर्सौंसम्म तारमुनिको जग्गा खाली गराउन अनुगमन नगर्नु जस्ता कारणले अनधिकृत निर्माण बढेको देखिन्छ ।
काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले विद्युत्को हाइटेन्सन प्रसारण तारमुनि घरलगायत कुनै पनि संरचना निर्माण भएको पाइए पनि महानगरपालिकाले तिनीहरूको नक्सा पारित नगरेको बताए । उनले भने, ‘हाइटेन्सन तारमुनि निर्माण भएका भौतिक संरचनाहरू सो प्रसारण तार निर्माण हुनुअघिको हुनुपर्छ वा नक्सा पारित नगरी बनाएको हुनुपर्छ । महानगरले विद्युतको प्रसारण तारमुनिको घर बनाउन नक्सा पारित गर्दैन ।’
हाइटेन्सन तारमुनि नक्सा नै पारित नगरी निर्माण गरिएका घरलगायत संरचनाको महानगरले किन अनुगमन गर्दैन ? त्यस्ता संरचना किन हटाउँदैन ? भन्ने जिज्ञासामा उनले भने, ‘त्यस्ता संरचना हटाउन महानगरले कारबाही गर्दै आएको छ । केही दिनअघि महानगरले पशुपति क्षेत्रमा त्यस्ता संरचना डोजर लगाएर हटाएका थिए । अब केही दिनपछि महानगरको अन्य क्षेत्रमा समेत त्यस्ता संरचना हटाउने तयारी भइरहेको छ ।’
उपत्यकामै प्रसारण तारमुनि घर
काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रमा हाइटेन्सन प्रसारण तारमुनि घरलगायतका संरचना निर्माण गरिएका छन् । काठमाडौँ महानगरपालिकाको चाबहिल, गोपीकृष्ण सिनेमाघर आसपास र बुढानीलकण्ठतर्फ जोडिने क्षेत्रमा ६६ केभी प्रसारण तारमुनि घर निर्माण भएका छन् । त्यसै गरी बालाजु र वनस्थली क्षेत्रमा समेत प्रसारण तारमुनि घरलगायत संरचना निर्माण भएका पाइन्छन् । बालाजु सबस्टेसनबाट निस्कने प्रसारण तारमुनि ‘मल्टिस्टोर बिल्डिङ’ र स्थानीय आवासहरू मापदण्डविपरीत बनेका छन् ।
कोटेश्वर, जडीबुटी र पेप्सीकोलातर्फ जाने क्षेत्रका हाइटेन्सन तारमुनि ठुला टहरा, ग्यारेज र पक्की घरसमेत निर्माण भएका छन् । नेपाल विद्युत् प्राधिकरणको स्युचाटार सबस्टेसन जोडिने १३२ केभी र ६६ केभी तारमुनि पर्ने कलङ्की, बाफल र चक्रपथ आसपासका क्षेत्रमा धेरै संरचना निर्माण भएको पाइन्छ । त्यसै गरी काठमाडौँकै, सुकेधारा, सतुङ्गल क्षेत्रमा हाइटेन्सन प्रसारण तारमुनि ठुला ठुला संरचना निर्माण भएको पाइन्छ । काठमाडौँ महानगरपालिकासँगै जोडिएको केन्द्रीय प्रसारण तारमुनि माकलबारी र मूलपानी क्षेत्रमा एकदेखि पाँच तलासम्मका पक्की घर बनेको पाइएको छ ।
त्यसैगरी ललितपुरको भैँसेपाटी, सुनाकोठी, धापाखेल, इमाडोल, लुभु, हरिसिद्धि, सानेपा, हरिसिद्धि, चापागाउँ र खोकानालगायत क्षेत्रहरूमा समेत हाइटेन्सन तारमुनि तथा त्यसको मापदण्डभित्र घरलगायत संरचना निर्माण गरिएका छन् । भक्तपुरमा थानकोट–चापागाउँ–भक्तपुर १३२ केभी प्रसारण लाइन र अन्य स्थानीय हाइटेन्सन तारको क्षेत्राधिकार (राइट अफ–वे) भित्र अनधिकृत संरचना बनेका छन् । भक्तपुरको बालकोट, सूर्यविनायक, कटुन्जे, दधिकोट र मध्यपुर ठिमीलगायत तीव्र सहरीकरण भएका क्षेत्रहरूमा हाइटेन्सन तारमुनि र टावर वरपर घर तथा टहरा निर्माण गरिएका छन् ।
नेपाल विद्युत् प्राधिकरण प्रसारण निर्देशनालय प्रमुख तथा प्रवक्ता ई. राजन ढकालले विद्युत् ऐन, २०४९ आएदेखि नै प्राधिकरणले विद्युत् प्रसारण लाइन तथा टावर निर्माणस्थलको मार्गाधिकार क्षेत्र (राइट अफ–वे) मा पर्ने जग्गाको मुआब्जा तथा क्षतिपूर्ति दिँदै आएको बताउँदै मुआब्जा तथा क्षतिपूर्ति पाइसकेको जग्गाधनीले ‘राइट अफ–वे’ मा घरलगायत संरचना निर्माण गरेको पाइएको जानकारी दिए । टावर र प्रसारण तारमुनि कुनै पनि संरचना निर्माण नगर्न प्राधिकरणले आमनागरिकलाई सचेत गराउनुका साथै सम्बन्धित पालिका, वडा कार्यालय र व्यक्ति रूपमा समेत औपचारिक अनुरोध गर्दै आएको जानकारी उनले दिए ।
प्राधिकरणले भन्नुपर्ने ठाउँ कही पनि बाँकी नराखेको उनले बताए । प्राधिकरणले प्रसारण तारको मार्गाधिकारक्षेत्रभित्र घर वा स्थायी संरचना नबनाउन र तोकिएको सुरक्षा मापदण्ड पालना गर्न बारम्बार सार्वजनिक सूचना जारी गर्दै आएको उनले बताए । विद्युत् प्रसारण तारको मार्गाधिकार क्षेत्रमा घर वा अन्य संरचना निर्माणका कारण भएको मानवीय क्षतिको यकिन तथ्याङ्क उपलब्ध नभए पनि विभिन्न समयमा भएका दुर्घटनामा परी बर्सेनि दर्जनौँ मानिसको ज्यान जाने गरेको प्राधिकरणको भनाइ छ ।
भोल्टेज अनुसार ‘राइट अफ–वे’
निर्देशनालय प्रमुख ढकालले प्रसारण तारको भोल्टेज अनुसार क्षेत्राधिकार (राइट अफ–वे) हुने गरेको बताए । उनले भने, ‘६६ र १३२ केभी प्रसारण तारमा नौ मिटर दायाँ र नौ मिटर बायाँ गरी १८ मिटर, २२० केभी प्रसारण तारमा १५ मिटर दायाँ र १५ मिटर बायाँ र ४०० केभी प्रसारण तारमा २३ मिटर दायाँ र २३ मिटर बायाँ (राइट अफ–वे) हुने गर्छ ।’ उनका अनुसार यस (राइट अफ–वे) भित्र कुनै पनि संरचना निर्माण गर्न पाइँदैन ।
त्यसैगरी ११ केभीका स्थानीय प्रसारणका लागि दायाँ बायाँ छदेखि आठ मिटरभित्र कुनै संरचना निर्माण गर्न पाइँदैन । कानुनतः हाइटेन्सन (उच्च भोल्टेज ट्रान्समिसन लाइन) विद्युत् प्रसारण तारमुनि घर वा कुनै पनि भौतिक संरचना बनाउन पाइँदैन । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार मापदण्डविपरीत र नक्सा पारित नगरी बनाइएका यस्ता अवैध संरचनालाई स्थानीय तहले जुनसुकै बेला भत्काउन सक्छ । हाइटेन्सन तारबाट बहने उच्च विद्युत्का कारण कतिपय अवस्थामा ‘आर्क’ (विद्युत् फ्याँक्ने) भएर वा तार चुँडिएर करेन्ट लाग्ने र ज्यान जाने ठुलो जोखिम हुन्छ ।
प्राधिकरणको लापर्बाही
हाइटेन्सन प्रसारण तारमुनि निर्मित जोखिमपूर्ण घर तथा संरचना हटाउन प्राधिकरणले ठोस कदम चाल्न नसक्दा र उचित नियमन नगर्दा जोखिम बढ्दै गएको छ । प्राधिकरणबाट मुआब्जा (क्षतिपूर्ति) बुझिसकेपछि पनि जग्गाधनीहरूले घरटहरा नहटाउनु र प्राधिकरणले त्यस्ता संरचना भत्काउन आवश्यक समन्वय तथा कानुनी कारबाही अगाडि नबढाउनुलाई मुख्य लापर्बाहीका रूपमा हेरिएको छ । बनेका घरहरू हटाउन कानुनी र व्यावहारिक रूपमा जटिल हुने हुनाले प्राधिकरणले सुरुवाती चरणमै निर्माण रोक्न नसक्नु नै प्रमुख कमजोरी ठहरिन्छ ।
सत्यपाटी