सशस्त्र प्रहरी बल नेपालका नवपदोन्नत नायब उपरीक्षक (डिएसपी) आर्किटेक्ट पृथ्वीन्द्र खनाल (पृथ्वी) आधुनिक नेपालको दोश्रो राजधानी नुवाकोटमा जन्मिएर हुर्किएका हुन् । बाल्यकालदेखि नै इन्जिनियरिङ अध्ययन गर्ने लक्ष्य बोकेर उनले काठमाडौंलाई आफ्नो कर्मथलो बनाउँदै इन्जिनियरिङ अध्ययन संस्थान अन्तगतको थापाथली क्याम्पसबाट इन्जिनियरिङ अध्ययन पूरा गरे ।
करिब १६ वर्षअघि नेपालको राष्ट्रिय सुरक्षाको महत्वपूर्ण अंग सशस्त्र प्रहरी बल नेपालमा आबद्ध भएका पृथ्वीन्द्र खनालले आफ्नो समर्पण, कर्तव्यनिष्ठा र व्यावसायिक दक्षताका कारण आज नायब उपरीक्षक पदको फुली लगाउन सफल भएका छन् । उनको यो उपलब्धि लामो समयको निरन्तर मेहनत, अनुशासन र राष्ट्रप्रतिको समर्पणको परिणाम हो ।

अनुशासित सुरक्षा सेवासँगै उनले कला र संगीतको क्षेत्रमा पनि विशिष्ट पहिचान बनाएका छन् । ‘द भ्वाइस अफ नेपाल’मार्फत नेपाली संगीत क्षेत्रमा परिचित भएका उनका थुप्रै गीतहरू श्रोतामाझ लोकप्रिय छन् । सुरक्षाकर्मी र कलाकार दुवै भूमिकामा सफलतापूर्वक अघि बढ्दै उनले बहुआयामिक प्रतिभाको उदाहरण प्रस्तुत गरेका छन् ।
व्यक्तिगत जीवनमा उनका पिता सेवा–निवृत्त राष्ट्रसेवक हुन् भने माता गृहिणी हुन् । एक दाजु र तीन दिदीबहिनीको माया, स्नेह र प्रेरणाले उनको व्यक्तित्व निर्माणमा महत्वपूर्ण भूमिका खेलेको छ । परिवारको सुदृढ साथ र प्रोत्साहनले जीवनका हरेक मोडमा उनलाई अगाडि बढ्न ऊर्जा प्रदान गरेको छ ।
इन्जिनियर, गायक तथा राष्ट्रसेवकका रूपमा परिचित पृथ्वीन्द्र खनाल (पृथ्वी)ले आफ्नो कर्म, सिर्जनशीलता र सेवाभावमार्फत समाजमा प्रेरणादायी व्यक्तित्वको रूपमा पहिचान स्थापित गरेका छन् । उनको जीवनयात्रा अनुशासन, परिश्रम, कला र राष्ट्रसेवाको सुन्दर समन्वयको उत्कृष्ट उदाहरण हो ।

सत्यपाटी