२०८३ भदौ १८ , बिहीबार 3, September 2026, Thursday

बर्दियाको खाता जैविक मार्गमा साइरन जोडियो

मानव–हात्ती द्वन्द्व न्यूनीकरण तथा स्थानीय समुदायलाई समयमै सचेत गराउने उद्देश्यले बर्दियाको खाता जैविक मार्गमा पूर्वसूचना प्रणाली अन्तर्गत साइरन जडान गरिएको छ । उज्यालो नेपाल र ग्लोबल नेचर फन्डको आर्थिक सहयोगमा सामुदायिक वन क्षेत्रसँग जोडिएका विभिन्न बस्तीमा साइरन जडान गरिएको हो ।

वनक्षेत्रबाट हात्ती बस्तीतर्फ प्रवेश गर्न लाग्दा वा बस्तीनजिक पुगेको जानकारी प्राप्त हुनेबित्तिकै साइरन बजाएर स्थानीयलाई सतर्क गराइने व्यवस्था गरिएको छ । मधुवन नगरपालिका–१ का कैलाशी, टडुवा, पत्थरभोजी र दुर्गानगर, वडा नं. २ का रजवारा, खैरेनी, अमरपुर, कोठिया तथा सोनाहा, वडा नं. ३ का भक्रैया र थनौरा मुक्तकमैया बस्ती तथा वडा नं. ५ का शान्तिपुर, मदननगर र वरगाउँमा पूर्वसूचना प्रणाली जडान गरिएको छ ।

साइरनमार्फत समयमै सूचना प्रवाह हुँदा स्थानीयवासीले सुरक्षित स्थानमा जान पर्याप्त समय पाउने र हात्तीमाथि हुने प्रतिकारात्मक गतिविधि पनि कम हुने अपेक्षा गरिएको छ । यसले मानवीय तथा वन्यजन्तु दुवैतर्फको क्षति न्यूनीकरणमा सहयोग पुग्ने विश्वास गरिएको छ । उज्यालो नेपाल बर्दियाका प्रतिनिधि रमेश थापाले वन्यजन्तु र मानवबिच बढ्दो द्वन्द्वलाई कम गर्न समुदायमा पूर्वसूचना प्रणालीको आवश्यकता महसुस गरी साइरन जडान गरिएको बताए ।

उनका अनुसार खाता कोरिडोर क्षेत्रका बस्तीमा जङ्गली हात्तीले घरमा क्षति पुर्याउने, बाली नष्ट गर्ने तथा मानिसमाथि आक्रमण गर्ने घटना हरेक वर्ष दोहोरिने गरेका छन् । स्थानीय शरद राईले साइरन प्रणालीले हात्तीको गतिविधिबारे समयमै जानकारी प्राप्त हुने भएकाले जोखिम न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

मधुवन नगरपालिका–३ का वडाध्यक्ष नारायण मल्लले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि पूर्वसूचना प्रणाली सकारात्मक पहल भए पनि दीर्घकालीन समाधानका लागि थप कार्यक्रम आवश्यक रहेको बताए । वनक्षेत्रसँग जोडिएका बस्तीमा सुरक्षित बसोबासको वातावरण सिर्जना गर्न राज्यले थप प्रभावकारी योजना ल्याउनुपर्ने उनको भनाइ छ ।

खाता कोरिडोर अन्तर्गतका करिब एक दर्जन गाउँ वन्यजन्तुको उच्च जोखिममा रहेका छन् । बर्दियामा हात्ती मात्र नभई चितुवालगायतका वन्यजन्तुको आक्रमण पनि चुनौतीका रूपमा रहेको छ । चालु आर्थिक वर्षमा मात्रै चितुवाको आक्रमणबाट ११ जनाले ज्यान गुमाइसकेका छन् । स्थानीयवासी र सरोकारवालाले साइरन प्रणालीले मानव–हात्ती द्वन्द्व व्यवस्थापनमा महत्वपूर्ण सहयोग पुर्याउने अपेक्षा गरेका छन् ।

प्रकाशित मिति : २०८३ जेठ २६ गते मंगलबार