२०८३ जेठ २५ , सोमबार 8, June 2026, Monday

देशका केही स्थानमा वर्षा र हिमपात, तराईमा तातो हावा

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८३ जेठ २५ गते सोमबार

हाल नेपालको मौसममा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ । यसका कारण देशका विभिन्न भागमा मौसम बदली हुनुका साथै वर्षा र हिमपातको स्थिति बनेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशको पहाडी तथा हिमाली भू–भागमा साधारणतया बदली रहेको छ भने तराईका क्षेत्रमा आंशिक बादल लागेको छ ।

यसै प्रभावका कारण कोशी प्रदेशका थोरै स्थानहरू तथा गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । सोमबारको मौसम पूर्वानुमान अनुसार कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाडी भू–भागमा, अनि बाँकी हिमाली क्षेत्रमा साधारणतया बादल लाग्ने देखिन्छ । यस्तै, मधेस प्रदेशसहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली हुनेछ भने बाँकी तराईका क्षेत्रमा मौसम मुख्यतया सफा रहने छ ।

महाशाखाका अनुसार सोमबार कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाडी भू–भागका थोरै स्थानहरूमा मौसम बिग्रेर मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा तथा हिमपात हुने सम्भावना छ । बाँकी हिमाली र पहाडी भू–भागका पनि एक–दुई स्थानमा यस्तो मौसमी गतिविधि हुन सक्ने देखिन्छ । यसैबिच, मधेस प्रदेश लगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानहरूमा भने तापक्रम बढेर तातो दिन हुने सम्भावना रहेको छ ।

प्रकाशित मिति : २०८३ जेठ २५ गते सोमबार