२०८३ जेठ १८ , सोमबार 1, June 2026, Monday

चार वर्षसम्म भएन लुम्बिनी प्राविधिक विश्वविद्यालयको जग्गा व्यवस्थापन

सत्यपाटीसत्यपाटी । बाँके । २०८३ जेठ १८ गते सोमबार

लुम्बिनी प्राविधिक विश्वविद्यालय बाँकेमा स्थापना भएको करिब चार वर्ष पुगिसक्दा पनि अझै आवश्यक जग्गा व्यवस्थापन हुन सकेको छैन । लुम्बिनी प्रदेश सरकारको गौरवको आयोजनाका रूपमा अघि बढाइएको सो विश्वविद्यालयको आफ्नै भौतिक संरचना नहुँदा विश्वविद्यालयले हाल नेपालगन्जको धम्बोझीस्थित पुरानो कृषि विकास बैङ्कको भवन भाडामा लिएर इन्जिनियरिङ तथा सूचना प्रविधि अध्ययन संस्थानको पठनपाठन सञ्चालन गरिरहेको छ ।

लुम्बिनी प्राविधिक विश्वविद्यालयका रजिस्ट्रार रेग भण्डारीले स्थापना भएको चार वर्ष पुग्न लागे पनि विश्वविद्यालयले स्थायी रूपमा जग्गा प्राप्त गर्न नसक्दा पूर्वाधार निर्माणको काम अघि बढ्न नसकेको बताए । उनले विश्वविद्यालयको प्रशासनिक काम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले नेपालगन्जस्थित सुर्खेत रोडमा निर्माण गरेको भवनबाट सञ्चालन हुँदै आएको जानकारी दिए ।

लुम्बिनी प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकले २०७९ असार १८ गते बाँकेमा प्रदेशस्तरीय प्राविधिक विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको थियो । निर्णय भएको लामो समय बिते पनि विश्वविद्यालयले स्थायी रूपमा जग्गा प्राप्त गर्न सकेको छैन । रजिस्ट्रार भण्डारीका अनुसार विश्वविद्यालयका लागि बाँकेको खजुरा गाउँपालिका–८, रनियापुरस्थित करिब ९० बिघा ऐलानी जग्गा लिजमा उपलब्ध गराउने प्रक्रिया अघि बढाइए पनि अझै टुङ्गो लाग्न सकेको छैन ।

विश्वविद्यालयको जग्गा प्राप्तिसम्बन्धी फाइल प्रदेश सरकारका विभिन्न मन्त्रालयमा घुमिरहेको जानकारी उनले दिए । लुम्बिनी प्रदेश सरकारका सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सेनाले सङ्घीय सरकारले फाइल फिर्ता पठाएपछि प्रदेश सरकारले आवश्यक कानुनी तथा प्राविधिक अध्ययन गरिरहेको बताए । उनले प्रदेश सरकार विश्वविद्यालय स्थापना र सञ्चालनप्रति जिम्मेवार रहेको दाबी गर्दै छिट्टै मन्त्रीपरिषद्बाट निर्णय गरेर प्रक्रिया टुङ्ग्याइने बताए ।

मन्त्री तिमिल्सेनाले सङ्घीय भूमि ऐन संशोधनपछि केही कानुनी जटिलता देखिएकाले सोही अनुसार तयारी गर्न समय लागेको बताउँदै प्रदेशको गौरवको आयोजना भएकाले सरकारले प्राथमिकतासाथ काम गरिरहेको प्रस्ट पारे । विश्वविद्यालयले आर्थिक वर्ष २०८०–०८१ देखि इन्जिनियरिङ तथा सूचना प्रविधि अध्ययन संस्थान अन्तर्गत दुई वटा कार्यक्रम सुरुवात गरेको छ । विश्वविद्यालयमा अहिले स्नातक तहका चार र स्नातकोत्तरका दुई कार्यक्रम सञ्चालनमा छन् ।

प्रकाशित मिति : २०८३ जेठ १८ गते सोमबार