२०८३ जेठ १८ , सोमबार 1, June 2026, Monday

महाकालीमा बेपत्ता सशस्त्र प्रहरी जवान र उनका मामा मृत भेटिए

सत्यपाटीसत्यपाटी । डडेल्धुरा । २०८३ जेठ १८ गते सोमबार

डडेल्धुराको परशुराम नगरपालिका–५ बाट गत शुक्रबारदेखि बेपत्ता सशस्त्र प्रहरी बलका जवान ओमप्रकाश पुनमगर र स्थानीय तीर्थबहादुर थापा मगर मृत अवस्थामा फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायब उपरीक्षक वरुणबहादुर सिंहका अनुसार ५६ वर्षीय थापाको शव सोमबार परशुराम नगरपालिका–५ अन्तर्गत महाकाली नदीको कल्पठ्ठे क्षेत्रमा फेला परेको हो ।

यस्तै सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बिओपी) परिगाउँमा कार्यरत जवान पुनमगरको शव कञ्चनपुरको ब्रह्मदेवस्थित महाकाली नदी किनारमा भेटिएको छ । मामाभान्जा नाता पर्ने दुवै जना बेपत्ता भएपछि उनीहरूले प्रयोग गरेको ट्युब महाकाली नदी किनारमा फेला परेको थियो ।

त्यसपछि उनीहरू नदीमा बगेको आशंकामा खोजी अभियान सञ्चालन गरिएको थियो । खोजीका क्रममा थापाको शव कल्पठ्ठे नजिक महाकाली नदीमा तैरिरहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । पुनमगरको शव भने नदीले बगाएर कञ्चनपुरको ब्रह्मदेव क्षेत्रमा पुर्याएको प्रारम्भिक अनुमान गरिएको छ । घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८३ जेठ १८ गते सोमबार