२०८३ जेठ १४ , बिहीबार 28, May 2026, Thursday

आजदेखि लगातार चार दिन सार्वजनिक बिदा

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८३ जेठ १४ गते बिहीबार

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाउँदैछ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ ।

मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्ने परम्परा छ । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने गरिएको छ । यस अवसरमा काठमाडौंको दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मिरी मस्जिद लगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लाग्छ ।

हिजरी संवत्अनुसार १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको मुस्लिम आयोगका पूर्वअध्यक्ष निर्दोष अलीले जानकारी दिए ।

बकर इद पर्वसँगै आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा हुने भएको छ । भोलि जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा सार्वजनिक बिदा हुँदै आएको छ । त्यसको भोलिपल्ट जेठ १६ गते शनिबार र जेठ १७ गते आइतबार साप्ताहिक बिदा नै भएकाले यो साता लगातार चार दिन सार्वजनिक बिदा परेको हो ।

प्रकाशित मिति : २०८३ जेठ १४ गते बिहीबार