क्यान्सर उपचार गर्ने देशकै सबैभन्दा ठूलो सरकारी निकाय बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा अत्यावश्यक औषधिको चरम अभाव देखिएको छ । विश्वव्यापी रूपमै आपूर्ति शृङ्खला प्रभावित हुँदा क्यान्सर उपचारमा प्रयोग हुने महत्त्वपूर्ण औषधिहरूको अभाव अस्पतालमा चुलिएको हो ।
अस्पतालको मेडिकल अंकोलोजी विभागका प्रमुख डा.गुरुशरण साहका अनुसार क्यान्सरको केमोथेरापीका लागि मेरुदण्ड मानिने ‘कार्बोप्लाटिन’ र ‘सिसप्लाटिन’ जस्ता औषधिको अभाव छ । यी औषधि बनाउन आवश्यक पर्ने कच्चा पदार्थ (एपिआई)को विश्वव्यापी आपूर्ति नै ठप्प भएकाले यस्तो स्थिति आएको हो ।
निकट भविष्यमा ‘अक्सालोप्लाटिन’को पनि अभाव हुन सक्ने चेतावनी डा.साहले दिएका छन् । अस्पतालमा दैनिक झन्डै २०० बिरामीले डे–केयर र वार्डमार्फत केमोथेरापी लिने गर्छन् । यी मुख्य औषधिलाई अन्य विकल्पले सहजै प्रतिस्थापन गर्न नमिल्ने हुँदा चिकित्सकहरू उपचारमा सम्झौता गर्न बाध्य छन्, जसले गर्दा केमोथेरापीको प्रभावकारिता घट्ने र क्यान्सर निको हुने दरमा ह्रास आउने जोखिम बढेको छ ।
औषधि अभावको फाइदा उठाउँदै बजारमा अवैध ओसारपसार र गुणस्तरहीन औषधिको बिक्री वितरण सुरु भएको छ । कतिपय बिरामीले छिमेकी मुलुक वा बाहिरका पसलबाट औषधि व्यवस्था विभागमा दर्ता नभएका र भन्सार छलेका औषधि ल्याउने गरेका छन् ।
‘क्यान्सरका धेरैजसो औषधि २५ डिग्री सेन्टिग्रेडभन्दा मुनिको तापक्रममा राख्नुपर्छ । तर, चितवन जस्तो गर्मी ठाउँमा ३६–३७ डिग्रीको तापक्रममा झोलामा बोकेर ल्याइने औषधिको प्रभावकारिता न्यून हुन्छ, जसले फाइदाभन्दा बढी बेफाइदा पुर्याउन सक्छ,’ डा.साहले स्पष्ट पारे ।
यसका साथै बाहिरका केही औषधि पसलहरूले अभाव भएका औषधि दिनका लागि अन्य सबै औषधि पनि आफ्नै पसलबाट किन्नुपर्ने बाध्यकारी सर्त राखेर बिरामीलाई अनावश्यक आर्थिक बोझ थपेका छन् । अस्पतालका निवर्तमान कार्यकारी निर्देशक डा.शिवजी पौडेलका अनुसार कार्बोप्लाटिन र सिसप्लाटिनको सप्लाइ ६ महिनाअघि नै बन्द भएको थियो ।
अस्पतालमा भएको स्टक क्रमशः सकिँदै गएर कार्बोप्लाटिन जेठ २ गते पूर्ण रूपमा सकिएको हो । सप्लायर्स कम्पनीहरूले कच्चा पदार्थ अभावका कारण उत्पादन नै बन्द भएको जानकारी अस्पताललाई गराएका थिए । यद्यपि, हालै एक बङ्गलादेशी कम्पनीबाट केही महिना पुग्ने औषधि आयात भएकाले अब अस्पतालमा आपूर्ति हुने अपेक्षा गरिएको छ ।
तत्कालको विकल्प : बालबालिकाका लागि राखिएको औषधि चलाउने अनुमति माग
वर्तमान संकट समाधानका लागि स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) लाई पत्राचार गरिसकिएको अस्पतालका निमित्त कार्यकारी निर्देशक डा.उमेश नेपालले जानकारी दिए । उनका अनुसार हाल विभागमा बालबालिकाहरूका लागि मात्र निःशुल्क प्रयोग गरिने कार्बोप्लाटिन र सिसप्लाटिन मौज्दात छ, जसको म्याद सेप्टेम्बर तथा अक्टोबर २०२६ सम्म मात्र छ ।
छुट्टै परियोजना अन्तर्गतको उक्त औषधि म्याद गुज्रिनुअघि नै अन्य वयस्क बिरामीलाई समेत प्रयोग गर्न दिन अनुमति माग गर्दै स्वास्थ्य सेवा विभागसँग समन्वय भइरहेको डा.नेपालले बताए । विभागले अनुमति दिएमा केही समयका लागि बिरामीलाई राहत पुग्ने अस्पताल प्रशासनको विश्वास छ ।
सत्यपाटी