अत्यधिक गर्मीबाट जोगिन अहिले बाँके लगायत छिमेकी भारतीय सहरका सर्वसाधारणको प्रमुख गन्तव्य नेपालगन्जका वाटरपार्क र पौडी पोखरी बनेका छन् । तातो हावा लु र अत्यधिक गर्मीबाट जोगिन यहाँ निर्माण गरिएका वाटरपार्क र विभिन्न होटल तथा अन्य स्थानमा निर्माण गरिएका स्विमिङ पुलमा धेरै ठुलो सङ्ख्यामा नेपाली तथा भारतीयहरु पुग्न थालेका छन् ।
गर्मी छल्नका लागि सीमापारी भारतका बहराइच, नानपारा, बाबागञ्ज, मिहिपुरवा, कैसरगन्ज लगायत विभिन्न सहर र नेपालगन्ज, कोहलपुर तथा सो वरिपरिबाट आउनेले यहाँका पौडीपोखरी र वाटरपार्कहरु अहिले भरिभराउ छन् । नेपालगन्जको जानकी गाउँपालिका–६ मनिकापुरस्थित अत्याधुनिक ‘वन्डरल्याण्ड वाटर एण्ड फन पार्क’मा सबैभन्दा बढी मानिस पुग्न थालेका छन् ।
वाटरपार्कका सञ्चालक शिवन्सु यादवले विशेषगरी शनिबार र आइतबार तथा सार्वजनिक बिदामा धेरै मानिस आउने गरेकोमा अहिले गर्मी अत्यधिक बढेपछि हरेक दिन यहाँ ५०० देखि एक हजारसम्म पर्यटक आउने गरेको बताए । गर्मी सुरु भएसँगै आन्तरिक तथा भारतीय पर्यटकको सङ्ख्या उल्लेख्य रूपमा बढ्दै गएकोमा हाल आएर अत्यधिक भिड बढेको यादवले बताए ।
गर्मीबाट राहत खोज्दै आएका पर्यटकका अनुसार यहाँको अनुभव निकै उत्साहजनक छ । भारत बहराइचका दिनेश मिश्रले गर्मीमा पानीमा खेल्दा शरीर मात्र होइन, मन पनि चिसिएको जनाउँदै साथीहरूसँग पौडी खेल्दा अतिनै रमाइलो भएको बताए । नेपालगन्जका रमेश साहुले पनि गर्मी बढेसँगै यस्ता सुविधा सम्पन्न स्थान नेपालगन्जमै उपलब्ध हुनु सकारात्मक पक्ष भएको जनाए ।
उनले केही समय भए पनि यहाँ आएर रमाउँदा गर्मी बिर्सिने गरेको बताए । नेपालगन्जको बालेगाउँमा रहेको मेरो प्लानेट वाटरपार्क र कोहलपुरको हैप्पी वर्ड नामक वाटरपार्कमा पनि भिड लाग्ने गरेको छ । चरम गर्मी छल्न टाढा टाढाबाट ती स्थानमा दिनभरि नुहाउनका लागि धेरै मानिस पुग्ने गरेको जनाइएको छ ।
वाटरपार्क बाहेक नेपालगन्ज रंगशालामा रहेको स्विमिंग पुल, खजुरा मिनि पार्कमा रहेको स्विमिङ पुल लगायत करिब दुई दर्जन भन्दा बढी होटलमा रहेका स्विमिङ पुल पनि गर्मी छल्नेले भरिभराउ छन् । भारतीय सीमानासँग जोडिएको र पश्चिम नेपालको प्रमुख केन्द्र बनेको नेपालगन्जमा निर्माण गरिएका वाटरपार्कले गर्मीको बेला नेपालका आन्तरिक तथा भारतका पर्यटकलाई ठुलो सङ्ख्यामा आकर्षित गरिरहेका छन् ।
सत्यपाटी