बाँकेमा चालु आर्थिक बर्षको हालसम्मको अवधिमा ७७५ वटा सवारी दुर्घटना भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको तथ्यांक अनुसार २०८२ साउनदेखि २०८३ जेठ ८ गतेसम्म ७७५ वटा दुर्घटना भएका हुन् । यस अवधिमा सबैभन्दा धेरै असोजमा ११९, कात्तिकमा ११९, मंसीरमा १०१ र पुस महिनामा १११ गरी ४५० वटा सवारी दुर्घटना भएका छन् ।
चालु आर्थिक बर्षको साउन महिनामा ८१, भदौंमा ८६, माघमा ६९, फागुनमा ३३, चैतमा ३३, बैशाखमा २० र जेठ ८ गतेसम्म ३ वटा दुर्घटना भएका छन् भने यस अवधिमा एक हजार १६२ वटा सवारीसाधन दुर्घटनामा संलग्न रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । तथ्यांक अनुसार दुर्घटनामा संलग्न सबैभन्दा धेरै ६५७ वटा मोटरसाइकल रहेको देखिन्छ ।
यस अवधिमा १७४ वटा टेम्पो, १०४ शारीरिक शक्तिले चल्ने (रिक्सा, ठेला आदि), ९३ जीप कार, ३८ माइक्रो, ३२ ट्रक ट्यांकर, २५ ट्रयाक्टर, २४ बस, ८ ट्रिपर र १ वटा डोजर दुर्घटनामा संलग्न रहेको ट्राफिक प्रहरीको तथ्यांक छ । कार्यालयका अनुसार यस अवधिमा सवारी दुर्घटनामा परेर ३६ पुरुष, ९ महिला, ५ बालक गरी ५० जनाको मृत्यु भएको छ ।
त्यस्तै दुर्घटनामा १०६ पुरुष, २६ महिला, १२ बालक र ६ जना बालिका गरी १५० जना गम्भीर घाइते भएका छन् भने ७०५ पुरुष, २४५ महिला, १०६ बालक र ४५ जना बालिका गरी एक हजार १०१ जना घाइते भएका छन् । कार्यालयका अनुसार सवारी दुर्घटनामा परेर २ वटा चौपायाको मृत्यु भएको छ भने ७ वटा चौपाया घाइते भएका छन् ।
साथै २०८२ साउनदेखि २०८३ जेठ ८ गतेसम्म १९ हजार ९२७ वटा सवारीसाधन कारबाहीमा परेका छन् । कार्यालयका अनुसार साउन महिनामा सबैभन्दा धेरै दुई हजार ९४७ वटा सवारीसाधन कारबाहीमा परेका छन् । यस्तै भदौ महिनामा दुई हजार ४४, असोजमा ८८२, कात्तिकमा एक हजार ४९१ र मंसीर महिनामा दुई हजार ३०७ वटा सवारीसाधन कारबाहीमा परेका छन् ।
त्यसैगरी पुसमा दुई हजार १५०, माघमा दुई हजार २०५, फागुनमा एक हजार ६४१, चैतमा एक हजार ७८१, बैशाखमा दुई हजार ७८ र २०८३ जेठ ८ गतेसम्म ४०१ वटा सवारीसाधन कारबाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्यांक छ । कार्यालयका अनुसार ट्राफिक नियम विपरित सञ्चालन गरिएका सवारी साधन कारवाहीमा परेका हुन् ।
राजस्व संकलन बढ्यो
ट्राफिक प्रहरीको सक्रियता बढेपछि बाँकेमा राजस्व संकलनमा समेत वृद्धि भएको छ । जिल्लामा ट्राफिक प्रहरीले अनुगमनमा सक्रियता बढाउँदै लगेपछि राजस्व संकलन निरन्तर बढेको देखिन्छ । ट्राफिक व्यवस्थापनमा ध्यान दिँदा राजस्व संकलन वृद्धिसँगै सवारी दुर्घटनामा कमी आएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी निरीक्षक कनकबहादुर शाहीले बताए ।
सीमित जनशक्तिका बाबजुद अघिल्लो वर्षको तुलनामा नियमित जाँच, कारबाही र अनुगमन पनि बढाइएको प्रहरी निरीक्षक शाहीले जानकारी दिए । प्रहरी निरीक्षक शाहीका अनुसार सवारी नियम उल्लंघन गरेका, कागजात चुस्तदुरुस्त नराखी सवारी साधन चलाउने लगायतलाई तीव्र रुपमा कारबाही गर्न थालिएपछि राजस्व वृद्धि भएको हो ।
कार्यालय अनुसार चालु आर्थिक वर्षको हालसम्म अर्थात् जेठ ८ गतेसम्म एक करोड ६४ लाख ७९ हजार ५०० रुपैयाँ राजस्व संकलन भएको छ । कार्यालयका अनुसार सबैभन्दा धेरै २०८२ साउनमा २१ लाख ९६ हजार रुपैयाँ राजस्व संकलन भएको छ । त्यस्तै भदौमा १५ लाख ४५ हजार ५०० र असोज महिनामा सात लाख ६७ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।
कार्यालयका अनुसार कात्तिक महिनामा १२ लाख ७८ हजार, मंसीरमा १९ लाख १२ हजार ५००, पुसमा १८ लाख दुई हजार, माघमा १८ लाख ३८ हजार, फागुनमा १३ लाख ८२ हजार ५००, चैतमा १५ लाख ५७ हजार, बैशाखमा १८ लाख ६२ हजार र जेठ महिनाको ८ गतेसम्म तीन लाख ३९ हजार राजस्व संकलन भएको छ ।
लाइसेन्स र ब्लुबुकबिना सवारी चलाउने, हेल्मेट नलगाउने कार्य व्यापक हुने गरेपछि ट्राफिक सक्रिय भएसँगै राजस्व संकलन पनि बढेको कार्यालयका प्रमूख प्रहरी निरीक्षक शाहीले जानकारी दिए । उनले भने, ‘ट्राफिक नियम पालना नगर्ने र अटेर गर्ने सवारीसाधनलाई कारबाही गर्न थालेपछि राजस्व बढ्नुका साथै दुर्घटनामा पनि कमी आएको छ ।’
त्यस्तै, दुईपाङ्ग्रे सवारीसाधनले धेरै ट्राफिक नियम उल्लंघन गरेको पाइएको छ । ट्रक, रातो प्लेटका पिकअप जीप लगायत सवारी साधनले पनि अत्यधिक ट्राफिक नियम उल्लंघन गरेका छन् । संकलित जरिवाना र कारबाहीमा पर्ने सवारी साधनको संख्याले ट्राफिक प्रहरीको सक्रियता देखाए पनि सडक दुर्घटनामा भने कमी नआएको सरोकारवालाहरु बताउँछन् ।
ट्राफिक प्रहरीले भने दुर्घटना न्यूनीकरण र ट्राफिक नियमको पालनामा जोड दिएसँगै कारबाहीमा पर्ने सवारी साधनको संख्या बढेको प्रहरी निरीक्षक शाहीले बताए । उनका अनुसार मापसे कारवाही, सिटवेल्ट नलगाएका, तीव्र गति, ओभरलोड, सडक लेनको नियम र अनुशासन विपरित गाडी चलाएका सवारी साधनलाई कारबाही गरिएको हो ।
ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन ट्राफिक प्रहरीको सक्रियतासँगै ट्राफिक व्यवस्थापनमा सुधार हुँदै गएको प्रहरी निरीक्षक शाहीको भनाई छ । उनले भने, ‘स्रोत र जनशक्तिले भ्याएसम्म ट्राफिक प्रहरीले मापदण्ड उल्लंघन गर्ने सवारी चालकमाथि निगरानी बढाएको छ । ‘आम नागरिकलाई महसुस हुने गरी ट्राफिक व्यवस्थापनको सुधारको काम भइरहेको छ ।’
बाँकेको समग्र ट्राफिक व्यवस्थापनलाई कडाई गरिरहेको दावी गर्दै प्रहरी निरीक्षक शाहीले भने, ‘ट्राफिक नियममा कडाई गरिरहेका छौँ । कुनै पनि नागरिकले पहिलेको जस्तो सास्ती भोग्नुपर्दैन ।’ हरेक यात्रु तथा सवारी चालकले आफ्नो जीवनप्रति संवेदनशील बनेर यात्रा सुरक्षित बनाउनेतर्फ गम्भीर हुने हो भने आधा दुर्घटना त्यसै कम हुने उनले बताए ।
गन्तव्यमा चाँडो पुग्ने नाममा जहाँ पायो त्यहीबाट गाडीमा चढ्ने, क्षमताभन्दा बढी यात्रु चढाउने लगायतका कुराहरुलाई पनि नियमन गरिरहेको उनले बताए । ट्राफिक प्रहरीले मात्रै ट्राफिक व्यवस्थापन गर्न नसक्ने भन्दै सरोकारवाला सबैलाई लाग्न प्रहरी निरीक्षक शाहीले आग्रह गर्दै भने, ‘ट्राफिक व्यवस्थापनको सबै क्षेत्रमा सबैको उत्तिकै भूमिका हुनुपर्छ ।
जिल्ला ट्राफिक प्रहरीले कार्यालय, बाँकेले गरेका केही महत्वपूर्ण कामहरु
- आफुखुसी नम्बर प्लेट परिवर्तन गरेका ५८ वटा EV गाडी कारवाही गरिएको ।
- आफुखुसी नम्बर प्लेट परिवर्तन गरी सञ्चालन गरेका १७ वटा EV गाडी यातायात ब्यवस्था कार्यालय नेपालगन्जमा पठाइएको ।
- चर्को आवाज गरी ध्वनी प्रदुषण गर्ने ४७ मोटरसाइकललाई कारवाही गरिएको ।
- ६४ वटा सार्वजनिक यात्रुवाहक सवारी साधनहरुमा भाडादर टाँस्न लगाइएको ।
- अस्पस्ट नम्बर प्लेट भएका १२६ वटा सवारी साधनहरु पुनः लेख्न लगाइएको ।
- आफुखुसी सिट थप गरेका ३०० वटा सार्वजनिक सवारी साधनहरुका ४६७ वटा सिट तथा मुडा निकालिएको ।
- मानिस झुन्ड्याउनका लागि बनाइएका ६४ वटा म्याजिक भ्यानहरुको फलामको डण्डी काटिएको ।
- भब्वर लोड बोक्ने १४ वटा सवारीसाधनलाई नियन्त्रणमा लिई पल्टी गराइएको ।
- जेनजी आन्दोलनमा क्षति भएका ट्राफिक लाइट मर्मत गरि पुनः सञ्चालनमा ल्याइएको ।
- विभिन्न स्थानहरुमा १५ वटा ट्राफिक सचेतनामूलक बोर्डहरु राखिएको ।
- रातको समयमा टल्किने रिफ्लेक्टिभ स्टीकर ११३२ वटा साइकल तथा अन्य सवारी साधनहरुमा टाँस गरिएको ।
- कोहलपुर नगरपालिकाको सभाहलमा मिति २०८२–०८–२६ गते नागरीक सुनुवाई कार्यक्रम गरिएको ।
- चोरी भएको लु.प्र.०३००१प ३४१५ नम्बरको मोटरसाइकल फेला पारी मोटरसाइकल धनीलाई बुझाइएको ।
- अवैधरुपमा सञ्चालनमा रहेका २७७ वटा ई–रिक्सालाई नियन्त्रणमा लिइएको ।
- ६ बर्षभन्दा बढी नविकरण फेल भएका दुई वटा सवारीसाधनलाई होल्ड गरी यातायात व्यवस्था कार्यालय नेपालगन्ज, बाँकेमा पठाई दुई लाख ६७ हजार १७० रुपैयाँ राजश्व दाखिला गर्न लगाइएको ।
- टोल फ्रि नं.१०३ पुनः सञ्चालनमा ल्याइएको ।
- मिति २०८२–१२–१३ गते इलाका प्रहरी कार्यालय कोहलपुर, कोहलुपर नगरपालिका र यस कार्यालयको संयुक्तरुपमा विभिन्न सवारीसाधनहरु चेकजाँच गरिएको ।
- मिति २०८२–१२–२२ गतेदेखि २८ गतेसम्म सार्वजनिक तथा नीजि सवारीमा आफुखुसी जडान गरेका Driver visibility Obstruction गर्ने अस्वभाविक फुल, झिल्लर, माला ६८५ सवारी साधनबाट २०० थान र Glair causing lights काFocus Lights, Fog lights, show Lights हरु ६८५ सवारी साधनबाट ११७४ थान र सो मा लाग्ने तारसमेत नियन्त्रणमा लिई कारवाही गरिएको ।
- नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०८२–१२–१३ गतेको बैठकद्धारा स्वीकृत शासकीय सुधारको १०० कार्यसूची अन्तरगत बुँदा नं.९८ मा रहेको सार्वजनिक यातायातमा हुने लैङ्गिक हिंसा रोकथाम गर्न CCTV Camera/Dashcam जडान गर्न र राइड–शेयरिङ एपमा SOS Button जडान गर्ने सम्बन्धमा मिति २०८३–०१–०४ गते जिल्ला प्रशासन कार्यालय बाँकेमा प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङको अध्यक्षतामा यातायात व्यवस्थापन समिति तथा सम्बन्धित सरोकारवाला निकायहरुको उपस्थितिमा यातायात व्यवस्थापन तथा सडक सुरक्षा सम्बन्धी समन्वयात्मक बैठक सञ्चालन गरिएको ।
- मिति २०८३–०१–०७ गते यस कार्यालय, जिल्ला प्रहरी कार्यालय बाँके र नेपालगन्ज उपमहानगरपालिकासँग समन्वय गरी ट्राफिक व्यवस्थापन, सडक सुरक्षा तथा बसपार्क व्यवस्थापनका लागि जिल्ला बाँके नेपालगन्ज उपमहानगरपालिका वडा नं. १ स्थित वाटरपार्क, धम्बोझी खजुरारोड लगायतका स्थानहरुमा अवैधरुपमा सञ्चालनमा रहेका बसपार्क तथा अव्यवस्थित पार्किङहरु हटाई नेपालगन्ज उपमहानगरपालिका वडा नं.४ मा रहेको बसपार्कबाट मात्र एकीकृत रुपमा सार्वजनिक यातायातमा सञ्चालन हुने सवारीसाधनहरु छुट्ने र पार्किङ्ग गर्ने ब्यवस्था कार्यान्वयन गराएको ।
- मिति २०८३–०१–१२ गते ओभरलोड तथा भवरलोड बोकेका दुई वटा (ट्रक) सवारीसाधनलाई थप कारवाहीको लागि यातायात ब्यवस्था कार्यालय नेपालगन्ज, बाँकेमा पठाइएको ।
- मिति २०८३–०१–१४ गते ओभर लोड तथा भब्वर लोड बोकेका दुई वटा (ट्रक) सवारीसाधनलाई थप कारवाहीको लागि यातायात ब्यवस्था कार्यालय नेपालगन्ज बाँकेमा पठाइएको ।
- सार्वजनिक सवारी साधनहरुमा आफुखुशी हुड जडान गरी मानिसहरु ओसारपसार गर्ने गरेको र अत्याधिक सरसामानहरु राख्ने गरेको जनगुनासो प्राप्त भएपछि मिति २०८३–०१–१७ गते यस जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका कार्यालय प्रमुखसहितको टोली खटिएर नेपालगन्ज सुर्खेत रत्न राजमार्गको सडक खण्डमा ट्राफिक चेकजाँच गर्दा त्यसरी ट्राफिक नियम उलंङघन गरेका १५७ वटा सवारीसाधनलाई आफुखुशी हुड, सिटहरु निकाल्ने र ट्राफिक नियमको पूर्ण रुपमा पालना गरी सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने गरी सम्झाई बुझाई गर्नुका साथ आवश्यक कारवाही गरी पठाउने गरिएको ।
- मिति २०८३–०१–१६ गते ओभर लोड तथा भब्वर लोड बोकेका पाँच वटा (ट्रक) सवारी साधनलाई थप कारवाहीका लागि यातायात ब्यवस्था कार्यालय नेपालगन्ज बाँकेमा पठाइएको ।
- मिति २०८३–०१–१७ गते ओभर लोड तथा भब्वर लोड बोकेका १० वटा (ट्रक) सवारी साधनलाई थप कारवाहीका लागि यातायात ब्यवस्था कार्यालय नेपालगन्ज बाँकेमा पठाइएको ।
- विश्व सडक सुरक्षा सप्ताहको अवसरमा यस जिल्ला ट्राफिक प्रहरी कार्यालय कोहलपुर, बाँके र जिल्ला प्रहरी कार्यालय बाँकेको आयोजना तथा लुम्विनी प्रदेश प्रहरी अस्पताल नेपालगन्जको सहकार्यमा जिल्ला बाँके नेपालगन्ज उपमहानगरपालिका वडा नं.४ स्थित नेपालगंज बसपार्कमा यात्रुवाहक सार्वजनिक सवारी साधनका करिब १५० जना चालक तथा सह–चालकको स्वास्थ्य परीक्षण गरीएको ।
- विश्व सडक सुरक्षा सप्ताहको अवसरमा यातायात व्यवस्था कार्यालय नेपालगन्ज बाँके र यस जिल्ला ट्राफिक प्रहरी कार्यालय कोहलपुर, बाँकेको आयोजना तथा सडक डिभिजन कार्यालय नेपालगन्ज बाँकेको सहकार्यमा जिल्ला बाँके नेपालगन्ज उपमहानगरपालिका वडा नं.२० राँझा स्थित सार्वजनिक सवारीसाधनको अनुगमन तथा यान्त्रिक परिक्षण कार्यक्रम अन्तरगत करिब २३० वटा सवारीसाधनको यान्त्रिक परिक्षण गरीएको ।
- मिति २०८३–०२–०४ गते १७ः०० बजेदेखि २०ः०० बजेसम्म जिल्ला बाँके नेपालगन्ज उपमाहानगरपालिका वडा नं.२० राँझा चोकस्थितमा इलाका प्रहरी कार्यालय कोहलपुर बाँके र जिल्ला ट्राफिक प्रहरी कार्यालय कोहलपुर, बाँकेको संयुक्त आयोजनामा ‘सडक सुरक्षा तथा सवारी दुर्घटना न्यूनीकरणका लागि विश्व सडक सुरक्षा सप्ताह २०८३’ अन्तर्गत इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेका कार्यालय प्रमुखको कमाण्डमा १६ जना र जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुखसमेतको टोलीले संयुक्त रुपमा सार्वजिनक तथा नीजि सवारीचालकहरु तथा सवारीमा सवार व्यक्तिहरुको लागुपदार्थ सेवन परीक्षणका साथै साथै चेकजाँच गरिएका २३ जना सवारी चालक तथा सवारीमा सवार व्यक्तिलाई लागुपदार्थ सेवन परिक्षण गर्दा अटो रिक्सा चालक ६ जना, मोटरसाइकल चालक १ जना, स्कुटर चालक २ जना, EV भ्यान चालक १ जना, बस चालक १ जना र सवारीमा सवार ३ जना गरी जम्मा १४ जना लागुपदार्थ सेवन पोजेटिभ देखिएको र निजहरुलाई आवश्यक कारवाहीको लागी इलाका प्रहरी कार्यालय कोहलपुर, बाँकेको नियन्त्रणमा राखिएको ।
सत्यपाटी