२०८३ जेठ ७ , बिहीबार 21, May 2026, Thursday

सम्भावनाको उचाइँमा नेपालगन्ज विमानस्थल

नेपालगन्ज विमानस्थलको स्तरोन्नतिसँगै यसले क्षेत्रीय आर्थिक गतिविधि, पर्यटकीय प्रवद्र्धन तथा सामाजिक समृद्धिमा ठुलो भूमिका खेल्न सक्छ ।
शुक्रऋषि चौलागाईंशुक्रऋषि चौलागाईं । बाँके । २०८३ जेठ ७ गते बिहीबार

नेपालगन्ज थुप्रै सम्भावनाको सहर हो । यसलाई पश्चिम नेपालका सुन्दर ठाउँहरूको ‘गेटवे’ पनि मानिन्छ । यहाँको राँझा विमानस्थल (नेपालगन्ज विमानस्थल) काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछि देशकै दोस्रो सबैभन्दा व्यस्त विमानस्थल हो । २०१७ सालदेखि सञ्चालनमा आएको यो विमानस्थल सुरुमा खजुरामा स्थापना गरिएको थियो, पछि स्थानान्तरण भएर राँझामा आएको हो । क्षेत्रफलका हिसाबले यो देशकै चौथो ठुलो विमानस्थल पनि हो । नेपालगन्ज उपमहानगरपालिका वडा नं. २०मा अवस्थित यो विमानस्थल झन्डै २६३ हेक्टर क्षेत्रफलमा फैलिएको छ ।

यो पश्चिम नेपालकै ठुलो हवाईस्थल हो । यसलाई कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली जिल्लाहरूका लागि हब (केन्द्रीय स्थल)का रूपमा चिनिन्छ । नेपालमा तीन अन्तर्राष्ट्रियसहित ५५ वटा विमानस्थल छन्, तथापि हाल करिब ३५ वटा मात्रै सञ्चालनमा छन् । नेपालगन्ज विमानस्थलबाट नेपाल एयरलाइन्स, बुद्ध एयर, श्री एयरलाइन्स, सौर्य एयरलाइन्स, यती एयरलाइन्स, समिट एयर, सीता एयर लगायतले उडान भर्दै आएका छन् । नेपालगन्ज विमानस्थलबाट दैनिक औसत ४० उडान सञ्चालन हुन्छन् । यहाँबाट काठमाडौं, पोखरा, जुम्ला, डोल्पा, मुगु, बाजुरा र सिमीकोटजस्ता स्थानहरूमा नियमित उडान हुने गरेका छन् ।

दैनिक एक हजार ५०० यात्रुलाई सेवा पुर्‍याउँदै आएको यो विमानस्थलको सेवा अब थप प्रभावकारी र विस्तार हुने अपेक्षा गरिएको छ । पर्यटकीय सिजन, चाडपर्व र विभिन्न अवसरमा यात्रु चाप अझ बढ्ने गर्दछ । यसले नेपालीहरूलाई देशभित्रको यात्रा सहज बनाएको मात्र होइन, भारत तथा अन्य देशका पर्यटकलाई पनि पश्चिम नेपालसम्म ल्याउने काम गरिरहेको छ । विशेषगरी मानसरोवर यात्राका लागि भारतबाट आउने पर्यटकको प्रमुख प्रवेशद्वारका रूपमा नेपालगन्जको भूमिका अत्यन्त महत्वपूर्ण छ । नेपालगन्ज विमानस्थलको अवस्था, विकासको सम्भावना, चुनौती तथा यसलाई अझ प्रभावकारी बनाउने उपायबारे यहाँ चर्चा गरिएको छ ।

अत्याधुनिक टर्मिनल र पूर्वाधार विकास

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नेपालगन्ज विमानस्थलमा अत्याधुनिक नयाँ टर्मिनल भवन निर्माण गरेको छ । यसलाई हालसम्मकै सबैभन्दा ठुलो उपलब्धिका रूपमा लिइएको छ । तीनतले भवनले पाँच हजार ७५ वर्गमिटर क्षेत्रफल ओगटेको छ । सेमी–बेसमेन्टसहित निर्माण गरिएको टर्मिनल भवनले प्राकृतिक सुरक्षा र स्थायित्व प्रदान गर्दछ । यसले विमानस्थलको सेवा स्तरलाई नयाँ उचाइमा पुर्‍याएको छ । भवनमा १४ वटा चेक–इन काउन्टर, तीनवटा विआइपी तथा सिआइपी लाउन्ज, बालबालिकाका लागि खेल क्षेत्र, बहुउपयोगी पसलहरू, अध्यागमन तथा भन्सार कक्ष र अत्याधुनिक सुरक्षा प्रणाली समेटिएका छन् ।

यो टर्मिनल भवनले यात्रुलाई आरामदायी वातावरण, सहज चेक–इन तथा आधुनिक सुरक्षा जाँचको सुविधा उपलब्ध गराएको छ । यसले विमानस्थलको अन्तर्राष्ट्रिय सेवा क्षमता पनि बढाएको छ । ‘पिक आवर’मा प्रतिघण्टा एक हजार ६०० यात्रुलाई सेवा दिन सक्ने क्षमता रहेको बताइएको छ । रनवेलाई एक हजार ५०० मिटरबाट बढाएर एक हजार ८०० मिटर बनाइएको छ, जसले बोइङ ७३७ र ए–३२० जस्ता ठुला जहाज सञ्चालन गर्न सकिने अवस्था सिर्जना गरेको छ । हालै राँझा चोकसम्म निःशुल्क ट्रली बस सेवा पनि सुरु गरिएको छ । यसले यात्रुहरूको यात्रा सहजता र सुविधा बढाएको छ । नयाँ उपकरण तथा सुविधाहरूले विमानस्थलको क्षमता र सेवा स्तरलाई अझ मजबुत बनाएका छन् ।

२० वर्षे गुरुयोजना अनुसार नेपालगन्जलाई पश्चिम नेपालको क्षेत्रीय हब तथा पूर्ण अन्तर्राष्ट्रिय विमानस्थल बनाउने लक्ष्य राखिएको छ । कुल १२ अर्बभन्दा बढी लगानीमा थप रनवे विस्तार, जग्गा अधिग्रहण तथा अन्य पूर्वाधार विकासका काम अघि बढिरहेका छन् । काठमाडौंपछिको ठुलो विमानस्थल मानिएको नेपालगन्ज विमानस्थलबाट भारतका प्रमुख सहर दिल्ली र लखनउमा उडान गर्ने उद्देश्यसहित टर्मिनल भवन अन्तर्राष्ट्रिय स्तरको निर्माण गरिएको हो । यसले अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि आवश्यक पूर्वाधारसँगै थप सम्भावना पनि सिर्जना गरेको छ ।

असीम सम्भावना र अवसर

नेपालगन्ज विमानस्थलको स्तरोन्नतिसँगै सम्भावनाका कैयौं ढोका खुलेका छन् । नयाँ टर्मिनल सञ्चालनमा आएपछि असीम सम्भावना र अवसर सिर्जना भएका छन् । पश्चिम नेपालकै हबका रूपमा स्थापित विमानस्थलको अत्याधुनिकताले समग्र पश्चिम नेपाललाई सम्भावनाको नयाँ उचाइमा पु¥याएको छ । नयाँ टर्मिनल, विस्तारित रनवे तथा आधुनिक सुविधाले नेपालगन्जलाई पश्चिम नेपालको आर्थिक, पर्यटकीय तथा सामाजिक विकासको प्रमुख इन्जिन बनाउने सम्भावना बोकेको छ ।

अन्तर्राष्ट्रिय स्तरको पूर्वाधार निर्माणले अन्तर्राष्ट्रिय उडानको सम्भावनालाई पनि बलियो बनाएको छ । विशेषगरी पर्यटकीय सिजन र चाडपर्वमा विमानस्थल अत्यधिक व्यस्त हुने गर्दछ । यसले स्थानीय समुदाय तथा व्यवसायको दिगो विकासलाई प्रोत्साहित गर्दै नेपाललाई अन्तर्राष्ट्रिय स्तरको हब बनाउने दिशामा महत्वपूर्ण अवसर प्रदान गरेको छ । नयाँ टर्मिनल तथा पूर्वाधार निर्माणले समृद्धिको मुख्य आधार निर्माण गर्ने संकेत दिएको छ । यसले पर्यटक, व्यापार तथा प्रवासलाई सहजता र सुविधा दिनुका साथै आर्थिक, सामाजिक तथा पर्यटकीय विकासमा नयाँ युगको सुरुवात गर्न सक्छ ।

अन्तर्राष्ट्रिय उडानको सम्भावना

नयाँ अन्तर्राष्ट्रिय स्तरको पूर्वाधार तथा व्यवस्थापन सुधारले नेपालगन्ज विमानस्थललाई क्षेत्रीय र अन्तर्राष्ट्रिय हबका रूपमा स्थापित गर्ने ठुलो सम्भावना देखाएको छ । नयाँ टर्मिनल अन्तर्राष्ट्रिय स्तरको भएकाले नेपालगन्जबाट अन्तर्राष्ट्रिय उडान सञ्चालनको सम्भावना अझ बढेको छ । बढ्दो हवाई यातायात तथा अन्तर्राष्ट्रिय यात्रुहरूको मागले नेपालगन्जलाई ठुलो अवसर प्रदान गरेको छ । विशेषगरी भारतसँगको निकट सम्बन्ध तथा पर्यटकहरूको आवागमनलाई ध्यानमा राख्दा दिल्ली, लखनउजस्ता भारतीय सहरमा नियमित उडान सुरु गर्ने सम्भावना बलियो देखिन्छ । मानसरोवर यात्राको मुख्य द्वारका रूपमा रहेको नेपालगन्ज विमानस्थलको स्तरोन्नतिले अन्तर्राष्ट्रिय उडानको सम्भावना थप बढाएको छ ।

नेपालगन्ज–दिल्ली उडान सबैभन्दा छोटो रुटमध्ये एक हो । बुद्ध एयरले यसका लागि अनुमति पनि पाइसकेको थियो । अत्याधुनिक टर्मिनल तयार भएकाले भारतसँग द्विपक्षीय हवाई सेवा सम्झौतामार्फत नेपालगन्ज–दिल्ली सिधा उडानका लागि नेपाल सरकारले तत्काल पहल गर्नुपर्ने देखिन्छ । एयर रुट (एयर करिडोर) खोल्न तथा गोरखपुर नजिकैको भारतीय एयरबेससँग सम्बन्धित सुरक्षा चासो सम्बोधन गर्न संयुक्त प्राविधिक समिति गठन गर्न पहल आवश्यक छ । अन्तर्राष्ट्रिय उडानले पर्यटक तथा व्यवसायीहरूलाई सहजता दिने मात्र होइन, नेपालगन्जको आर्थिक गतिविधि र सामाजिक विकासमा पनि महत्वपूर्ण योगदान पुर्‍याउनेछ । यसले पर्यटन, होटल, ट्राभल तथा व्यापारिक क्षेत्रलाई सशक्त बनाउनेछ ।

साथै, नेपालगन्जको पर्यटन क्षेत्रको दिगो विकास तथा प्रवर्द्धनमा ठुलो टेवा पुग्नेछ । नेपालगन्ज विमानस्थलको स्तरोन्नतिले विशेषगरी भारतीय धार्मिक तथा पर्यटकीय यात्रुहरू प्रत्यक्ष नेपालगन्ज आउनेछन् । नेपालगन्जमा केही दिन बस्ने पर्यटकको संख्या बढ्दा ट्राभल एजेन्सी, होटल, रेस्टुरेन्ट तथा स्थानीय व्यवसाय फस्टाउनेछन् । भारतसँगको सोझो सम्पर्कले व्यापार–व्यवसायलाई नयाँ दिशा दिनेछ । पश्चिम नेपालका कृषि, उद्योग तथा साना व्यवसायले नयाँ बजारमा पहुँच पाउनेछन् । यसले क्षेत्रीय विप्रेषण तथा रोजगारी सिर्जना गर्नेछ । साथै गाउँगाउँमा आर्थिक गतिविधि बढाउनेछ । नेपालीलाई पनि विदेश यात्रा अझ सहज तथा किफायती हुने भएकाले जीवनस्तरमा सुधार आउनेछ । साथै अन्तर्राष्ट्रिय उडानले विदेशबाट आउने पर्यटकलाई सहजतासँगै नेपालगन्जको प्राकृतिक तथा सांस्कृतिक सम्पदातर्फ आकर्षित गर्नेछन् ।

चुनौती र समाधान

नेपालगन्जलाई पूर्ण अन्तर्राष्ट्रिय विमानस्थल तथा क्षेत्रीय हब बनाउने २० वर्षे गुरुयोजनाअन्तर्गत विभिन्न योजना अघि बढिरहेका छन् । नयाँ टर्मिनल तयार भए पनि पूर्ण अन्तर्राष्ट्रिय उडानका लागि रनवे विस्तार, थप जग्गा अधिग्रहण, पूर्ण भन्सार तथा अध्यागमन सुविधा, २४ घण्टे स्वास्थ्य सेवा, दमकल तथा उद्धार टोलीजस्ता पूर्वाधार अझै आवश्यक छन् । यात्रु चाप बढ्दो भए पनि नियमित अन्तर्राष्ट्रिय उडान सुरु नभएसम्म विमानस्थल पूर्ण क्षमतामा सञ्चालन हुन चुनौती रहन्छ । जहाज कम्पनीको रुचि, भारतसँगको नीतिगत सहकार्य तथा स्थानीय पूर्वाधार (सडक, होटल, पर्यटनस्थल)को विकास पनि महत्वपूर्ण पक्ष हुन् ।

पूर्वाधारको अभाव, प्रशिक्षित जनशक्तिको कमी, वातावरण संरक्षण, नीतिगत जटिलता तथा यात्रु व्यवस्थापन पनि मुख्य चुनौतीका रूपमा रहेका छन् । सडक, होटल तथा पर्यटन क्षेत्रको विकास, दक्ष कर्मचारीको तालिम, हरित प्रविधिको अवलम्बन तथा यात्रु चाप व्यवस्थापन जरुरी छ । यसका लागि ठुलो लगानी, सरकारी तथा निजी क्षेत्रबीच सहकार्य, दीर्घकालीन योजना तथा प्रविधिको उपयोग आवश्यक छ । कानुनी सुधारसँगै सरोकारवालाबीच व्यापक तथा समन्वयात्मक प्रयास आवश्यक देखिन्छ । यी सबै पक्षको सम्बोधनले मात्रै नेपालगन्जलाई प्रभावशाली अन्तर्राष्ट्रिय विमानस्थल तथा क्षेत्रीय हबका रूपमा स्थापित गर्न सकिन्छ । चुनौती समाधानका लागि सरकार, निजी क्षेत्र तथा स्थानीय समुदायबीचको सहकार्य अनिवार्य छ । दीर्घकालीन योजना, नीतिगत सुधार तथा प्रविधिको प्रभावकारी प्रयोगले मात्रै यी समस्याको समाधान सम्भव हुनेछ ।

निष्कर्ष

नेपालगन्ज विमानस्थलको नयाँ टर्मिनल तथा पूर्वाधार विकासले यसलाई प्रभावशाली क्षेत्रीय तथा अन्तर्राष्ट्रिय हबका रूपमा स्थापित गर्न बल पुर्‍याउनेछ । यसको भौगोलिक स्थिति, आधुनिक सुविधा, रनवे विस्तार तथा नयाँ टर्मिनल सञ्चालनले यात्रु सेवामा सुधार ल्याएको छ र अन्तर्राष्ट्रिय उडान, विशेषगरी भारततर्फको सम्भावना उज्ज्वल बनाएको छ । थप पूर्वाधार विस्तार तथा नीतिगत निर्णय आवश्यक भए पनि यसले क्षेत्रीय आर्थिक गतिविधि, पर्यटकीय प्रवर्द्धन तथा सामाजिक समृद्धिमा ठुलो भूमिका खेल्न सक्छ ।

यसलाई सफल बनाउन दीर्घकालीन योजना, पूर्वाधार विस्तार, सहकार्य तथा प्रतिबद्धता आवश्यक छ । सरकार, निजी क्षेत्र तथा स्थानीय समुदायबीचको सहकार्य र प्रतिबद्धता पनि उत्तिकै अनिवार्य छ । नेपालगन्ज विमानस्थलको पूर्वाधार तथा व्यवस्थापन सुधारले पश्चिम नेपालको आर्थिक, पर्यटकीय तथा सामाजिक विकासमा नयाँ युगको सुरुवात गर्न सक्छ । यसले नेपालगन्जलाई थप समृद्ध र जीवन्त सहर बनाउने विश्वास गर्न सकिन्छ । तर त्यसका लागि सम्बन्धित सरोकारवालाको रचनात्मक दबाब तथा सरकारको सक्रिय पहल अनिवार्य रहनेछ ।

प्रकाशित मिति : २०८३ जेठ ७ गते बिहीबार