कर्णालीको राजधानी समेत रहेको वीरेन्द्रनगरको नगर प्रहरीले एक महिलामाथि दुर्व्यवहार गरेको भिडिओ सतहमा आएको छ । डाले डोकोमा काफल (फल) बोकेर बेच्दै हिँड्दै गरेकी महिलामाथि दुर्व्यवहार गरिएको हो । सामाजिक सञ्जालमा आएको उक्त भिडिओ वीरेन्द्रनगरस्थित सिटी बसपार्क नजिकको र खिचिएको भनिएको छ । घटना मंगलबार साँझपखको हो ।
भिडियोमा ती महिलाको डाले डोको (सानो) नगर प्रहरीले च्याप्प समाउँछ, ती महिलाले काफल भुइँमा खस्न नदिने प्रयास गर्छिन् । तर दुई जना नगर प्रहरीले जबरजस्ती डाले डोको घोप्ट्याइदिन्छन् । काफल जमिनमा छरपस्ट हुन्छ । ती महिला निकै रोइरहेकी हुन्छिन् । अनि नगर प्रहरी गाडीमा चढेर गइहाल्छन् । ती महिला निरीह भएर काफल सम्हाल्छिन् । काफल एक जङ्गली फल हो, जुन पहाडी क्षेत्रका लेकाली भू–भागमा पाइन्छ ।
खानका लागि स्वादिष्ट हुने भएकाले यो फल लोकप्रिय नै छ । अचेल काफल पाक्ने समय हो । काफल नजिक भएका स्थानीयले जङ्गलमा टिपेर आर्थिक आम्दानीका लागि वीरेन्द्रनगर बजारमा ल्याउने गर्छन् । नगर प्रहरीबाट दुर्व्यवहार भोग्ने ती महिलाको परिचय भने खुलेको भने छैन । यद्यपि नगर प्रहरीको दुर्व्यवहारको सार्वजनिक रूपमा व्यापक आलोचना भइरहेको छ ।
वीरेन्द्रनगर नगरपालिकाका पूर्वमेयर देवकुमार सुवेदीले सामाजिक सञ्जालमा ती महिलाको तस्वीर राख्दै ‘बाँच्न दे सरकार’ भनेका छन् । सुर्खेत चेम्बर अफ कमर्सका अध्यक्ष चिन्तामणी शर्मा भन्छन्, ‘सिजनको काफल बेच्दा यो तहको अमानवीय हर्कद अक्षम्य छ । रोडको दाँयाबाँया ढुंगा, गिट्टी, बालुवा, फलामे रड र मार्बल राखेर हिँड्ने अवस्था छैन । अझ नाला नबन्दा हाइवे अस्तव्यस्त र फोहोर छ । त्यतातिर नगरपालिकाको पटक्कै ध्यान छैन ।’
उनका अनुसार वीरेन्द्रनगरमा काठमाडौँको सुन्धारा, भोटाहिटीमा जस्तो जाम पनि छैन । गर्मी सिजन छ, बाटोमा फाट्टफुट्ट मानिस देखिन्छन् । बटुवाहरूले यस्तै आमाहरूले डोकामा राखेका काफल, मकै किनेर खान्छन् । खरिद गरेर ल्याएका काफल मकै बेचेर दुई छाक खान्छन्, शरीर ढाक्ने कपडा लगाउँछन् । यस्तो अवस्थाको तल्लो वर्गमाथिको नगर प्रहरीले अत्याचार गरेको र त्यो असह्य रहेको उनले बताए ।
यस्तै, सुर्खेत उद्योग वाणिज्य संघका पूर्वपदाधिकारीदेखि सरोकारवाला सबैले यो घटनाको सर्वत्र आलोचना गरेका छन् । वीरेन्द्रनगर नगरपालिकाकै एक जनप्रतिनिधिले यो काम गलत भएको बताए । ‘यस्तो राम्रो भएन, यो सहर निमुखा वर्गको पनि हो,’ उनले भने, ‘हामी पनि कुरा उठाउँछौँ ।’ नगरपालिकाका सूचना अधिकारी टंकप्रकाश लामिछानेले उक्त घटनाको बचाउ गर्दै भने, ‘काफल बेच्ने मान्छे गाडी आइरहेका बेला बाटोमा जानुभयो, नगर प्रहरी आएपछि उहाँ भाग्नुभयो ।’
यद्यपि यावत् प्रश्न उठेकाले घटनाबारे अनुसन्धान हुने उनले बताए । नगरपालिकाले नगरप्रहरीलाई घटनाबारे सोधेको थियो । ‘उहाँहरूको कुरा बुझ्दाखेरि त डोका प्रहरीले नभइ महिलाकै घुँडाले पोखिएको भनेका छन्,’ उनले भने, ‘उहाँलाई दुःख दिने, काफलै पोख्ने मनसाय प्रहरीको होइन, तानातान गर्दाखेरि उहाँकै घुँडाले लागेर हो भन्नुभएको छ ।’ तर भिडिओमा दुई प्रहरीले महिलाको डोका जबरजस्ती लछारेको देखिन्छ ।
लामिछानेका अनुसार नगरपालिकाले फुटपाथलाई व्यवस्थापनलाई जोड दिइरहेको छ । ‘कहिलेकाहीँ धेरै कामहरू गर्दाखेरि भुलवश त्यस्ता त्रुटिहरू हुन जान्छन्,’ उनले भने, ‘हामीले ती महिलालाई सम्पर्कमा आउन भनेका छौँ, उहाँ आएपछि छलफल हुन्छ ।’ उनले घटना हुँदा त्यहाँ पुरुष प्रहरी नभएर महिला प्रहरी भएको पनि बताए ।
सत्यपाटी