२०८३ जेठ ६ , बुधबार 20, May 2026, Wednesday

नेपालमा क्यान्सरको उपचारमा प्रयोग हुने औषधि अभाव

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८३ जेठ ६ गते बुधबार

क्यान्सर उपचारको क्षेत्रमा केही दिनदेखि एउटा तरंग छाएको छ, क्यान्सरको उपचार प्रक्रिया किमोथेरापीमा प्रयोग हुने औषधिको अभाव । नेपालका क्यान्सर रोग विशेषज्ञहरूले नै किमोथेरापीमा प्रयोग हुने औषधिको अभाव देखिएकाले क्यान्सरका बिरामीको उपचार प्रभावित हुन सक्ने चेतावनी दिइरहेका छन् ।

क्यान्सरका बिरामीको उपचारका क्रममा गरिने किमोथेरापीका लागि चाहिने औषधि ‘कार्बोप्लाटिन’ र ‘सिस्प्लाटिन’को अभाव देखिएको भन्दै चिकित्सकले बिरामीको उपचार नै प्रभावित हुने बताइरहेका छन् । अघोषित रूपमा औषधि आयात रोकिएकाले औषधि अभाव भई उपचार सेवा प्रभावित हुन थालेको चिकित्सकहरूको भनाइ छ ।

वीर अस्पतालकी क्यान्सर रोग विशेषज्ञ डा.रमिला शिल्पकार डंगोलले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्, ‘नेपालमा अत्यावश्यक क्यान्सर औषधिहरू कार्बोप्लाटिन र सिस्प्लाटिनको अभावले गम्भीर सार्वजनिक स्वास्थ्य संकट निम्त्याएको छ र कतिपय अवस्थामा क्युरेबल (निको हुने) क्यान्सरका बिरामीहरू समेत समयमै उपचार पाउनबाट वञ्चित भइरहेका छन् । यो केवल आपूर्ति समस्या होइन, यो जीवन र मृत्युको प्रश्न हो ।’

यस्तै पाटन अस्पतालका क्यान्सर रोग विशेषज्ञले पनि सामाजिक सञ्जालमार्फत कार्बोप्लाटिन र सिस्प्लाटिनको अभावले क्यान्सरका बिरामीको उपचार प्रभावित भएको भन्दै क्यान्सरका बिरामीको ज्यान जोखिममा परेको बताएका छन् । उनले सरकार र सबै सम्बन्धित निकायलाई उक्त औषधि अभावको समस्या समयमै समाधान गर्न ध्यानाकर्षण समेत गराए ।

डा.रमिलाले भनिन्, ‘किमोथेरापीमा प्रयोग हुने औषधि अभावले क्यान्सरका बिरामीको ज्यानै जान सक्ने जोखिमपूर्ण अवस्था छ । यो अवस्थालाई आकस्मिक अवस्था सोचेर सबै सम्बद्ध निकायले फास्ट ट्रयाकबाट यो औषधि छिट्टै नेपालमा भित्र्याएर सम्बन्धित अस्पताल र फार्मेसीहरूलाई उपलब्ध गराउन विशेष अनुरोध गर्दछु ।’ डा.रमिलाका अनुसार पाटन अस्पतालमा दुई हप्तादेखि उक्त औषधिको अभाव भएको छ ।

उक्त औषधि अभावले अस्पतालमा उपचाररत करिब ४० प्रतिशत बिरामी प्रभावित भएका छन् । उक्त औषधि समयमै आयात नभएमा बिरामीको ज्यानै जाने जोखिम रहेको डा. शाहीले बताएका छन् । भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डा.उज्ज्वल चालिसेका अनुसार नेपालमा मात्र नभई उक्त औषधिको विश्वव्यापी रूपमै अभाव देखिएको छ ।

‘औषधि अभाव हुने देखिएपछि अस्पतालले औषधि व्यवस्था विभागलाई पत्राचार नै गरेर समस्या समाधानका लागि समयमै पहल गर्न आग्रह समेत गरेको’ निर्देशक चालिसेले जानकारी दिए । डा.चालिसेका अनुसार भक्तपुर क्यान्सर अस्पतालमा दैनिक ४० देखि ५० बिरामीको किमोथेरापीका लागि उक्त औषधि आवश्यक पर्ने गरेको छ ।

वीर अस्पतालकी क्यान्सर रोग विशेषज्ञ डा.सन्ध्या चापागाईंले उक्त औषधि सबै प्रकारका क्यान्सरका बिरामीमा किमोथेरापीका लागि आवश्यक पर्ने बताइन् । ‘कार्बोप्लाटिन र सिस्प्लाटिन औषधि भनेको हाम्रो खानामा हुने बेसिक दालभात, तरकारी जस्तै किमोथेरापीमा चाहिने बेसिक औषधि हो, यो औषधि संसारभर नै सस्तो पनि थियो,’ उनले भनिन्, ‘नेपालमा यो औषधि उत्पादन हुँदैन, बाहिरबाट आयात हुने हो, अहिले अघोषित रूपमा आयात बन्द भएको छ ।’

औषधि आयात रोकिँदा क्यान्सरका बिरामीको उपचार सेवा प्रभावित हुन थालेको डा.चापागाईंले जानकारी दिइन् । उनले भनिन्, ‘औषधि आयात रोकिएको धेरै भइसक्यो, स्टक औषधिबाट सेवा दिइरहेका थियौँ, अब त स्टक औषधि पनि सकियो, वीर अस्पतालमा पनि क्यान्सरका बिरामीको उपचार प्रभावित हुन थालिसकेको छ ।’

डा.चापागाईंका अनुसार वीर अस्पतालमा मात्र दैनिक ४० देखि ५० जना बिरामीले किमोथेरापी मार्फत उपचार सेवा लिइरहेका छन् । औषधि अभावसँगै उनीहरूको उपचार प्रभावित हुन सक्ने देखिएको छ । डा.चापागाईंका अनुसार उक्त औषधि सस्तो भए पनि पछिल्लो समय डलरको भाउ बढेकाले औषधि कम्पनीले नेपालमा सस्तोमा औषधि नपठाउँदा आयात रोकिएको हो ।

उक्त समस्या समाधानका लागि आफूहरूले औषधि व्यवस्था विभागसँग छलफल गरेर औषधि आयातका लागि पहल समेत गरिरहेको डा.चापागाईंले जानकारी दिइन् । औषधि व्यवस्था विभागका सूचना अधिकारी किरण सुन्दर बज्राचार्यले उक्त औषधि अभावको विषयमा विभागमा गुनासो आएको बताउँदै समस्या समाधानका लागि पहलको काम पनि भइरहेको जानकारी दिए ।

विभागका सूचना अधिकारी बज्राचार्यका अनुसार अन्तर्राष्ट्रिय बजारमा औषधिको मूल्य बढेको तर नेपालमा मूल्य समायोजन नभइसकेकाले नेपाली आयातकर्ताहरूले औषधि आयात गर्न नसकेका हुन् । ‘नेपालमा आयातका लागि राजपत्रमा प्रकाशित मूल्य एउटा र विश्ववजारमा मूल्य बढेको कारणले आयातकर्ताले औषधि ल्याउन नसकेका हुन् । यो विषयमा विभागले पहिलादेखि नै थाहा पाएर मूल्य समायोजन गर्ने विषयमा स्वास्थ्य मन्त्रालयमा पत्राचार पनि गरेका छौँ,’ उनले भने ।

प्रकाशित मिति : २०८३ जेठ ६ गते बुधबार