२०८३ जेठ ७ , बिहीबार 21, May 2026, Thursday
तस्करको राज

बाँकेमा नदी र खोलानाला दोहन बढ्यो, कानूनभन्दा तस्कर ‘पावरफूल’

ट्राफिक प्रहरीले ‘लाइन’ दिएपछि कुण्डा चोक, कम्दी चोक, फुलटेक्रा, नेपालगन्ज बसपार्क र राँझा चोकमा रहेका ट्राफिक पोष्ट हुँदै अवैध नदीजन्य पदार्थ बोकेका ट्रिपर र ट्याक्टरहरु जिल्लाका विभिन्न क्षेत्रमा हुँइकिन्छन् ।
सत्यपाटीसत्यपाटी । बाँके । २०८३ जेठ ७ गते बिहीबार

बाँकेको राप्तीसोनारी र डुडुवा गाउँपालिकाको धेरै भूभाग खोला र राप्ती नदी आसपासमा पर्छ । जहाँ ढुङ्गा, गिट्टी र बालुवा प्रशस्त पाइन्छ । राप्तीसोनारीको वडा नं १, २, ५, ६ र ९ तथा डुडुवाको १, २, ३, ४ र ५ को अधिकांश क्षेत्र खोलानाला र नदीको बगर क्षेत्रभित्र पर्दछ । यही क्षेत्रमा ढुङ्गा, गिट्टी र बालुवाको अवैधरूपमा दोहन भइरहेको छ ।

ती खोला तथा राप्ती नदी बगरमा दिनरात एक्साभेटर चलिरहेका छन् । नदीबाट उत्खनन गरिएका ढुङ्गा, गिट्टी, बालुवा टिपरले पाँच–पाँच मिनेटको फरकमा किनारतिर ओर्साछन् । हुलाकी सडकका लागि निर्माण सामग्री तयार गर्न भन्दै राप्ती नदीकै छेउमा क्रसर उद्योग पनि सञ्चालन गरिएको छ । टिपरले बोकेर डम्पिङ गरेको ढुङ्गा, गिट्टी र बालुवा सोही क्रसरबाट प्रशोधन गरिन्छ ।

हुलाकी सडकका लागि ठेकेदारलाई निर्माण सामग्री कति आवश्यक छ ? अहिलेसम्म कति परिमाणको सामग्री उत्खनन भएको छ ? यसबारे कुनै लेखाजोखा छैन । राप्ती नदीका विभिन्न क्षेत्रमा केही दिनदेखि उत्खननको काम चलिरहेको छ । वातावरणीय प्रभाव मूल्याङ्कनका आधारमा निश्चित मापदण्डभित्र उत्खननको अनुमति दिने नियम छ । तर राप्ती नदीमा बेहिसाबले उत्खनन् भइरहेको छ ।

स्थानीयवासीका अनुसार त्यहाँ कुनै नियम छैन । जहाँ मन लाग्छ, त्यहीँबाट उत्खनन् गर्ने काम भइरहेको छ । साँझ गिट्टीबालुवाले भरिएको ठाउँ बिहान हेर्दा खाल्टो देखिने बिनौना निवासी मोतिलाल चौधरीले बताए । उनका अनुसार ‘नदीमा मेसिन लगेर ट्रिपर र ट्रयाक्टर भर्नेहरु सरकार र प्रशासन वा कानूनभन्दा ‘पावर फुल’ हुन्छन् । ट्राफिक प्रहरीको मिलेमतो अझ रहस्यमय देखिन्छ ।

ट्राफिक प्रहरीले नै ‘लाइन’ दिँदा खोला तथा नदीमा जथाभावी दोहन भइरहेको छ । ट्राफिक प्रहरीले ‘लाइन’ दिएपछि राप्तीसोनारी–६ को कुण्डा चोक, डुडुवा–४ को कम्दी चोक, नेपालगन्ज–२१ को फुलटेक्रा, नेपालगन्ज–४ को बसपार्क र नेपालगन्ज–२० को राँझा चोकमा रहेका ट्राफिक प्रहरी पोष्ट हुँदै अवैध नदीजन्य पदार्थ बोकेका ट्रिपर र ट्याक्टरहरु जिल्लाका विभिन्न क्षेत्रमा हुँइकिन्छन् ।

यसरी वर्षेनी बाढीको चपेटामा पर्दै आएका राप्तीसोनारी र डुडुवा क्षेत्रका स्थानीय नागरिक दिनरात खोला तथा नदीमा जथाभावी दोहन हुँदा चिन्ता व्यक्त गरिरहेका छन् । सरकार र प्रशासनले अनुगमन गरी नदीको अवैध उत्खनन् नियन्त्रणमा पहल गर्न नसक्दा वातावरण संरक्षणमा चुनौती बढेको मात्रै होइन, नदी किनारका जग्गा तथा बस्तीसमेत असुरक्षित बन्दै गएको उनीहरुको भनाइ छ ।

स्थानीयहरुका अनुसार राजनीतिक दल, सरकारका प्रतिनिधिहरुको संरक्षणमै नदी दोहन भइरहेको छ । डुडुवा–४ का स्थानीय दिनेश धोवी भन्छन्, ‘नदीमा दिनरात एक्साभेटर चल्छ, एक्साभेटरले जथाभावी निकालेको ढुङ्गा, गिट्टी र बालुवा दिनरात टिपरले ओसारिरहेका छन, क्रसर र एक्साभेटर रातभर चल्छन् ।’ राप्ती नदीको जथाभावी दोहन रोक्न माग गरे पनि कतैबाट सुनुवाइ नभएको उनले बताए ।

राप्ती नदीमा सरकारी मापदण्ड र नीति विपरित करोडौं मूल्यका निर्माण सामग्री उत्खनन् भैरहँदा यसले नदी दोहन हुने क्रम तीव्र बढेको छ । जसका कारण आसपासको बस्ती जोखिममा देखिएको छ । दलका नेता र चर्चित अनुहारका साथै धेरै जनप्रतिनिधि कुनै न कुनै रूपमा क्रसर व्यवसायभित्र संलग्न हुँदा नदीजन्य पदार्थको अवैध दोहन झन् बढेको देखिन्छ ।

यसले पनि नदीजन्य ढुंगा, गिट्टी र बालुवाको अवैध उत्खनन र कारोबारलाई प्रश्रय दिएको छ । बाँकेको राप्ती नदीमात्रै होइन जिल्लाका झण्डै एक दर्जन खोलाबाट रातारात नदीजन्य पदार्थ अवैधरुपमा उत्खनन भइरहेको छ । नदीजन्य पदार्थ अत्यधिक रहेको राप्तीसोनारी गाउँपालिकाभित्रका विभिन्न खोला तथा राप्ती नदीमै एक्साभेटर लगाएर नदीजन्य पदार्थको अवैधरुपमा उत्खनन भइरहेको छ ।

राप्तीसोनारी गाउँपालिकामा पर्ने खैरी, परुवा, झिझरी, मुगुवा खोला, राप्ती नदीको ढलैया, जललाघाट, आलिनगर, सम्शेरगन्ज तथा डुडुवा गाउँपालिका–५ को कम्दीस्थित राप्ती नदीको खजुरिया, बैजनाथ गाउँपालिकाको मानखोला क्षेत्रमा नदीजन्य पदार्थको दोहन भइरहेको छ । केही क्षेत्रमा रातभर उत्खनन् काम हुन्छ भने केही क्षेत्रमा दिनभर पनि निर्वाधरुपमा उत्खनन्को काम चलिरहेको छ ।

दिनरात जेसिबीले टिपरमा गिट्टी, बालुवा भरिरहेका हुन्छन् । दर्जनौँ टिपर र ट्याक्टरले ओसारिरहेका हुन्छन् । स्थानीय प्रशासनको पहुँच भएका स्थानमा रातमा काम हुन्छ भने पहुँच नभएका स्थानमा दिनरात अवैध उत्खनन् हुन्छ । अवैध उत्खननले राप्ती नदी र खोला किनारका बस्तीमा वर्षायाममा बाढी र डुबानको खतरा बढेको छ । जथाभावी दोहन हुँदा राप्ती नदी र खोला किनारका बासिन्दालाई वर्षायाममा बाढीको चिन्ता शुरु भइसकेको छ ।

‘नदीजन्य पदार्थको अवैध उत्खनन् रोक्न खोज्दा आक्रमण हुने डर छ,’ राप्तीसोनारी–८ का गोविन्द चौधरी भन्छन्, ‘हामीले धेरैपटक यस विषयमा प्रहरीलाई खबर गरिसकेका छौँ तर सुनुवाइ भएन । सबै मिलेका छन् । अनि कहाँबाट रोकिन्छ नदीको दोहन ?’ राप्ती नदी किनारका गाउँ हरेक वर्षायाममा बाढी र डुबानमा पर्छन् । दोहनले राप्ती नदी किनारका बस्तीमा बाढी र डुबानको खतरा झनै बढेको पौडेलको भनाइ छ ।

राप्तीसोनारी–५ का रामलाल थारु भन्छन्, ‘हामीले कसलाई भन्ने ? प्रहरीलाई भन्यो, कारवाही नै हुँदैन, हामीलाई कसैले टेर्दैनन् । गाउँका ठूलाबडा र प्रहरी प्रशासन मिलेका छन् । हामीले रोक्न खोज्दा धम्की आउँछ । यस विषयमा गाउँपालिकाले सोच्नुपर्ने हो । केही समयअघि उत्खनन् भइरहेकै बेला फत्तेपुरबाट प्रहरी पनि पुग्यो । प्रहरीले न अवैध उत्खनन् गरिरहेका एक्साभेटर कारवाहीको दायरामा ल्यायो न त टिपर वा ठेकेदार नै ।’

स्थानीयले अवैधरुपमा दोहन गरिरहेको अवस्थामा जेसिबी, ट्रिपर र ट्याक्टर नियन्त्रणमा समेत लिएर प्रहरीलाई खबर गर्ने गर्छन् । तर प्रहरी पुग्दैन । दोहन रोक्न खोज्दा उल्टो धम्की खाएर फर्किनुपर्ने अवस्था छ । ‘खुलेआम अवैधरुपमा उत्खनन् भइरहेको हुन्छ तर सरकारी अनुगमन टोली आउने बेला भागिहाल्छन् । आसपासका प्रहरीले नै खबर नगरी उनीहरुले कसरी थाहा पाउँछन् ?’ राप्तीसोनारी–५, आलिनगरका रामु चौधरीले भने ।

खोलाबाट निर्माण सामग्री उत्खनन् गर्दा नजिकै रहेको सडक वन तथा खोलाको किनार, घाटलाई हानिनोक्सानी नहुने र सर्वसाधारण जनताको घरजग्गा, कुलो बाँधमा क्षति नहुने गरी उत्खनन् गर्नुपर्ने व्यवस्था छ । पुल, कल्भर्ट, कजवे, सडक, बाटो तथा सार्वजनिक स्थलबाट दुवैतर्फ ५०० मिटरभित्र निर्माण सामग्री उत्खनन् गर्न नपाइने व्यवस्था छ । तर परुवा खोलामा सिक्टा सिँचाइ आयोजनाको बाँधलाई प्रभाव पार्ने गरी उत्खनन् भइरहेको छ ।

उत्खनन गर्दा वातावरणमा प्रतिकूल प्रभाव पार्ने कुनै पनि कार्य गर्न नपाइने नियम छ । तर स्थानीय पहुँच भएका व्यक्ति र प्रहरीको मिलेमतोमा उत्खनन भइरहेको वैजनाथ गाउँपालिका–१, चिसापानीका महेन्द्र थापाले बताए । राप्ती नदी उत्तरमा टिकुलीपुरतर्फबाट बगिरहेको छ । दोहनपछि राप्ती नदीको बहाव दक्षिण फत्तेपुरतर्फ सोझिँदैछ । नदीजन्य पदार्थको अवैध दोहनबाट यी दुवै बस्ती जोखिममा पर्ने खतरा बढेको छ । वर्षायाम नजिकिँदै गर्दा बाढीको चिन्ता शुरु भइसकेको छ ।

उत्खनन निषेध गरिएको नदी तथा खोला क्षेत्रबाट सामग्री उत्खनन गर्न नपाइने व्यवस्था छ तर व्यवहारमा त्यसको ठिक उल्टो भेटिन्छ । राप्ती नदी किनारका गाउँ हरेक वर्षायाममा बाढी र डुबानमा पर्छन् । दोहनले बाढी र डुबानको खतरा झनै बढेको फत्तेपुरवासीको भनाइ छ । स्थानीय प्रशासनकै मिलेमतोमा अवैध दोहन भइरहेकाले आफूहरुले रोक्ने अनेक प्रयास गर्दा पनि नसकिएको फत्तेपुरवासी बताउँछन् । ‘स्थानीय प्रशासनको सहयोगविना रोक्न सक्ने अवस्था छैन,’ उनीले भन्छन् ।

बस्ती मात्र नभई ठूला भौतिक संरचनासमेत जोखिममा छन् । अवैध उत्खननले सिक्टा सिँचाइ आयोजनाको नहरमा क्षति पुग्ने देखिएको छ भने खैरी, परुवा, झिझरी र मुगुवा खोलामा पर्ने पूर्व–पश्चिम राजमार्गका पुल भास्सिने खतरा उत्तिकै बढेको छ । अवैधरुपमा नदीजन्य पदार्थ उत्खनन भइरहेका नदी र खोलाहरुमा यस्ता घटना प्रायः भइरहन्छन् । जिम्मेवारी पाएर पनि प्रहरी प्रशासनको सहयोग नरहँदा अन्य सरकारी निकायले अवैध उत्खनन गर्नेसँग लाचार जस्तै बन्नुपर्छ ।

कुण्डा चौक, कम्दी चोक, फुलटेक्रा, बसपार्क, राँझामा रहेका ट्राफिक प्रहरी पोष्टले ‘लाइन’ दिएपछि तस्करले रातको मौका पारेर उत्खनन् गरी नेपालगन्ज, कोहलपुर लगायत क्षेत्रमा नदीजन्य पदार्थ पुर्याउने गरेको स्रोतको दावी छ । स्रोतका अनुसार नदीजन्य पदार्थको चोरी निकासीमा रातो नम्बर प्लेटका ट्र्याक्टरसमेत प्रयोग भएका छन् । कृषि कामका लागि विशेष सुविधामा खरिद गरिएका रातो नम्बर प्लेटका ट्रयाक्टरसमेत नदी तथा खोलाजन्य वस्तु ओसार्न प्रयोगमा आउने गरेका छन् ।

नियमनकारी निकाय मौन बसेका कारण भन्सार शुल्कमा विशेष छुट लिएर खरिद गरिएका ट्र्याक्टरहरु सुविधाको दुरुपयोग गर्न अग्रसर भएको स्थानीयहरु बताउँछन् । चोरी, निकासी रोक्नका लागि बेलाबखत अनुगमन टोली खटिए पनि अवैध उत्खनन रोकिएको छैन । चोरी, निकासी गरी स्टक गर्नेहरुले मूल्य बढाउँदा त्यसको मार निर्माण व्यवसायी र उपभोक्ताले थेग्नुपरेको छ । करोडौँ राजस्व गुम्यो राप्तीसोनारी गाउँपालिकाले यस वर्ष नदीजन्य पदार्थबाट करोडौँ राजस्व गुमाएको छ ।

प्रकाशित मिति : २०८३ जेठ ७ गते बिहीबार