२०८३ जेठ ६ , बुधबार 20, May 2026, Wednesday

दुई हप्तामा नेपाल पुग्दै जीवनदायी, लगत्तै देशभर बर्षा

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८३ जेठ ५ गते मंगलबार

दक्षिण बंगालको खाडीमा जीवनदायी (मनसुन) विस्तार भएको छ । भारतीय जल तथा मौसम विज्ञान विभागका अनुसार अण्डमान तथा निकोबार द्वीपसमूहमा १६–१७ मेमै प्रवेश गरेको मनसुन क्रमशः विस्तार भइरहेको छ ।

मौसमविद् विनोद पोखरेलका अनुसार यही गतिमा विस्तार भए नेपालमा मनसुन दुई साताभित्र प्रवेश गर्न सक्छ, जुन औसतभन्दा छिटो हो । सामान्यतया नेपालमा मनसुन जेठ मसान्त (जुन १३ आसपास)मा प्रवेश गर्ने गर्छ । यस वर्ष प्रिमनसुन अवधिमा औसतभन्दा बढी वर्षा भएको छ ।

हालसम्म २४९.३० मिलिमिटर वर्षा रेकर्ड भएको छ, जुन १०८.९ प्रतिशत बराबर हो । हाल पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण देशका विभिन्न भागमा वर्षा भइरहेको छ । विशेषगरी गोरखा, लमजुङ, कास्की, स्याङ्जा र पर्वतमा मध्यम वर्षा भइरहेको विभागले जनाएको छ ।

लमजुङको कुञ्चामा पछिल्लो २४ घण्टामा १०८.२ मिलिमिटर वर्षा मापन गरिएको छ । यसैबीच, पश्चिम नेपालमा तापक्रम बढ्ने क्रम जारी छ । दिपायल, धनगढी, नेपालगन्ज, वीरेन्द्रनगर, घोराही र भैरहवामा अधिकतम तापक्रम ३५ देखि ४१ डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : २०८३ जेठ ५ गते मंगलबार