२०८३ जेठ १ , शुक्रबार 15, May 2026, Friday

गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगन्ज

सत्यपाटीसत्यपाटी । बाँके । २०८३ जेठ १ गते शुक्रबार

पछिल्ला वर्षमा नेपालगन्जको स्वरूप उल्लेख्य रूपमा बदलिएको छ । फराकिला सडक, सडक किनारमा रोपिएका विभिन्न जातका बोटबिरुवाले यहाँको हरियाली प्रवद्र्धनसँगै सहरको सौन्दर्य बढाएका छन् । साँघुरा र धुलाम्मे सडक कालोपत्र गरिएका छन् भने हरियालीले नगरको शोभा बढाएको छ । रातानीला गुलमोहर र बेगमबेलीले नेपालगन्जको सौन्दर्य चम्काएको छ ।

‘क्लिीन नेपालगन्ज, ग्रीन नेपालगन्ज’का अध्यक्ष विनोद कर्ण पूर्वाधार विकाससँगै नेपालगन्जमा हरियाली थपिएकोमा दङ्ग हुँदै हरियाली विस्तार अझै आवश्यक भएको बताउँछन् । सुर्खेतरोड, न्यूरोड, भानुचोक र गणेशमान चोक लगायत क्षेत्रमा लगाइएका गुलमोहर तथा बेगमबेलीले नगरको चमकमात्र बढाएका छैनन् यिनले पानीका स्रोत जोगाउनुका साथै पर्यावरणीय सन्तुलन पनि कायम गर्न सघाएका छन् ।

नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट अत्यधिक गर्मीका लागि परिचित नेपालगन्जमा हरियाली प्रवर्द्धन तथा वातावरण संरक्षणका कार्यक्रम सञ्चालन भइरहेको बताउँछन् । ‘हामीले ‘हिट वेभ’ व्यवस्थापनका लागि कार्ययोजना बनाएर काम गरिरहेका छौँ । यसका साथै हरियाली प्रवर्द्धनका कार्यक्रमलाई पनि निरन्तरता दिएका छौँ,’ उनले भने ।

यहाँ घर निर्माण गर्दा अनिवार्य रूपमा बिरुवा रोप्नुपर्ने नीति लागू गरिएको छ । नगरको हरियालीले जलवायु परिवर्तनका असर घटाउनका साथै अक्सिजन उत्पादन तथा प्रदूषण नियन्त्रणमा टेवा पुग्ने भएकाले उपमहानगरपालिकाले पार्क व्यवस्थापनलाई जोड दिएको छ । हालसम्म शीतलचिनीका करिब १५ हजार तथा राक्षवृक्ष, नीम लगायतका करिब तीन हजार बिरुवा रोपिएका छन् ।

‘क्लिीन नेपालगन्ज, ग्रीन नेपालगन्ज’का अध्यक्ष विनोद कर्णले विगतमा नेपालगन्जमा अव्यवस्थित रूपमा रहेका रुख तथा बिरुवाको स्थान अहिले व्यवस्थित हरियालीले लिएको बताउँछन् । मासिएका आँपका बगैँचा र तालतलैयाको परिपूर्ति यहाँका बोटबिरुवाले गरेका उनको ठम्म्याइ छ । तत्कालीन ब्रिटिश–इण्डियाबाट बाँके, बर्दिया, कैलाली र कञ्चनपुर फिर्ता पाएपछि प्रधानमन्त्री जङ्गबहादुर राणाले लखनउस्थित हजरतगन्जको नमुनाका रूपमा नेपालगन्ज बसाएको अभिलेख पाइन्छ ।

सुब्बा सिद्धिमान राजभण्डारीलाई बस्ती बसाउन खटाएपछि हालको त्रिवेणीचोकदेखि दक्षिणतर्फ १०८ फिट चौडा सडकको दायाँ–बायाँ घर निर्माण गरिएको अभिलेखमा छ । अहिलेको त्रिभुवन चोकलाई सुरुमा ‘चोकबजार’ भनिन्थ्यो । यही चोकबाट पूर्व–पश्चिम लाइन, इदगाह रोड लगायत क्षेत्रमा पसलकबलसहितका घर निर्माण गरेर नेपालगन्ज सहर विस्तार गरिएको हो । यहाँको त्रिभुवन चोक नगरको मुख्य केन्द्रका रूपमा परिचित छ ।

प्रकाशित मिति : २०८३ जेठ १ गते शुक्रबार