म्याग्दीको अन्नपूर्ण गाउँपालिका अन्तर्गत पर्ने अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा नयाँ हिमताल देखिन थालेका छन् । आठ हजार ९१ मिटर अग्लो हिमालको फेदी चार हजार ५० मिटरको उचाइमा रहेको आधार शिविरभन्दा केहीमाथि नयाँ हिमताल देखिन थालेका हुन् ।
ती साना साना आकारका ताल पछिल्ला केही वर्षयता आकार बढ्न थालेको पाइएको छ । भूउपग्रह तथा ड्रोनबाट खिचिएका तस्बिरमा तालहरू विस्तार हुँदै गएको देखिएको छ । अहिले देखिएको नयाँ ताल भुस्केट मेलादेखि माथि अन्नपूर्ण हिमालको फेदीमा पर्छ ।
नीलगिरि पश्चिमतर्फ नीलगिरि हिमालको फेदीतर्फ पनि केही ससाना हिमताल देखिन थालेका छन् । समुद्री सतहदेखि चार हजार ५० मिटर उचाइमा अवस्थित पञ्चकुण्ड हिमतालभन्दा केही दक्षिणपूर्वतर्फ देखिएको हिमतालको आकार भने ठुलो छ ।
अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाने क्रममा भुस्केट मेलादेखि उकालो लाग्दा बाटोमा सानो ठाडो सुनखोलाको सिरान र अन्नपूर्ण प्रथम हिमालको दक्षिणपूर्वी पाखोबाट झरेको भिरालो हिमनदीको टुप्पोमा नयाँ हिमपताल भेटिएको मौरिस हर्जोग पदमार्गका अभियन्ता तेज गुरुङले जानकारी दिए ।
हिमनदीको टुप्पोमा मोरिनको बाँधले छेकेपछि पछिल्लो एक दशकदेखि यहाँ ताल बन्न सुरु गरेको उनको भनाइ छ । भूउपग्रह तस्वीरमा उक्त हिमताल रहे को क्षेत्रमा कुनै समय ठुलो हिमपहिरो गएको स्पष्ट सङ्केतसमेत देखिन्छ । यो ताल विगत १० वर्षदेखि बढ्न थालेको उनले दाबी गरे ।
केही महिनाअघि मात्र ड्रोनबाट खिचिएको तस्बिर हेर्दा उक्त ताल निक्कै ठुलो भएको देखिन्छ । यसको क्षेत्रफल मापन भने भएको छैन । बेनीका फोटोग्राफर किरण कार्कीले पञ्चकुण्ड हिमताल पुगेपछि आफू आएको मिश्रीखोलाको किनारको बाटोको ड्रोनबाट फोटो खिचेका थिए ।
यही ड्रोन फोटो खिच्दा यो हिमताल अर्को कुनोमा फैलिएको अवस्थामा भेटिएको हो । अन्नपूर्ण प्रथम हिमालको क्षेत्रमा हिमताल विस्तार हुँदै जाँदा कुनै समय ताल फुटेर तटीय क्षेत्रमा उच्च जोखिम हुन सक्नेतर्फ चिन्ता बढ्न थालेको छ ।
सत्यपाटी