बाँके जिल्लाबाट यस वर्ष पवित्र हज यात्राका लागि साउदी अरबको मक्का मदिना प्रस्थान गर्ने १२१ जना हज यात्रीलाई शुक्रबार विशेष कार्यक्रमबीच भव्य बिदाइ तथा सम्मान गरिएको छ । नेपालगन्जस्थित बिपी चोकमा आयोजित कार्यक्रममा हज यात्रामा जाने तीर्थयात्रीहरूलाई गम्छा, टोपी र खादा ओढाएर सम्मान गरिएको थियो ।
कार्यक्रममा राजनीतिक दलका नेता, जनप्रतिनिधि, धार्मिक अगुवा तथा समाजसेवीहरूको उल्लेख्य उपस्थिति रहेको थियो । दारुल उलुम फेजुन्नबी जामा मस्जिद ईदगाह सञ्चालक समितिका पूर्व अध्यक्ष हाजी अब्दुल रहमान मियाँले बाँकेबाट यस वर्ष १२१ जना हज यात्रामा सहभागी हुन लागेको जानकारी दिनुभयो। उहाँका अनुसार हज यात्रामा जानेहरूलाई शुभकामना र सम्मानसहित बिदाइ गरिएको हो ।
कार्यक्रममा सामाजिक अभियन्ता जुबेर राइ लगायतले हज यात्रुहरूलाई सम्मान व्यक्त गर्दै सफल धार्मिक यात्राको शुभकामना दिए । नरैनापुर गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाह र जानकी गाउँपालिका अध्यक्ष छब्बन खाँले हज यात्रुले समाजमा एकता, सद्भाव र इमान्दारिताको सन्देश फैलाउने विश्वास व्यक्त गर्दै सफल यात्राको कामना गरे ।
उनीहरूले हजले आत्मशुद्धि, अनुशासन र मानवताप्रतिको समर्पण सिकाउने उल्लेख गरे । पछिल्लो समय हज यात्रा अत्यधिक महँगो बन्दै गएको उल्लेख गर्दै सरकारले खर्च घटाउनेतर्फ विशेष पहल गर्नुपर्ने मागसमेत गरेका थिए । इस्लाम धर्मको पाँच स्तम्भमध्ये एक मानिने हज प्रत्येक शारीरिक तथा आर्थिकरूपमा सक्षम मुसलमानले जीवनमा कम्तीमा एकपटक गर्नुपर्ने धार्मिक कर्तव्य मानिन्छ ।
हजका क्रममा तीर्थयात्रीहरूले पवित्र काबाको तवाफ, सफा–मरवाहबीच सई, अराफातमा वकुफ तथा जमरामा ढुङ्गा हान्ने लगायतका धार्मिक विधि पूरा गर्ने गर्दछन् । हरेक वर्ष विश्वभरबाट लाखौँ मुस्लिम धर्मावलम्बीहरू मक्कामा भेला हुने हजलाई विश्वकै सबैभन्दा ठूलो धार्मिक वार्षिक जमघटसमेत मानिन्छ ।
सत्यपाटी