२०८३ जेठ १७ , आइतबार 31, May 2026, Sunday

‘पूर्वाधार अभावले पछाडि परेको पर्यटन विकास’

सत्यपाटीसत्यपाटी । बाजुरा । २०८३ वैशाख २४ गते बिहीबार

नौ वटा स्थानीय तह रहेको बाजुरा जिल्ला प्राकृतिक सौन्दर्य, धार्मिक आस्था, हिमाली भू–दृश्य, ऐतिहासिक स्थल र सांस्कृतिक विविधताले समृद्ध छ । यतिधेरै सम्भावना हुँदाहुँदै पनि स्थानीय तहहरूको उदासीनताका कारण यहाँका पर्यटकीय गन्तव्यहरू अझै ओझेलमै परेका छन् ।

जिल्लामा बडीमालिका मन्दिर, बुढीनन्दा ताल, रानिशैन–खप्तड क्षेत्र, कालाजग्रा मन्दिर, त्रिवेणी धाम, छेडेदह बिरेखोला झरना, किम्नी झरना ताललगायत दर्जनौँ धार्मिक तथा प्राकृतिक गन्तव्य रहेका छन् । यी स्थलहरूले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने पर्याप्त सम्भावना बोकेका छन् ।

तर सडक पहुँच, खानेपानी, शौचालय, विश्रामस्थल, सूचना केन्द्र, पदमार्ग तथा सुरक्षित आवागमन जस्ता आधारभूत पूर्वाधारको अभावले पर्यटकको रोजाइमा पर्न सकेका छैनन् । नौवटै स्थानीय तहले हरेक वर्ष नीति तथा कार्यक्रममा पर्यटन क्षेत्रलाई प्राथमिकतामा राख्ने घोषणा गरे पनि कार्यान्वयन पक्ष कमजोर देखिएको छ ।

बजेट विनियोजन र खर्चमा प्राथमिकता नदिँदा अधिकांश योजना कागजमै सीमित हुने गरेका छन् । पर्यटन क्षेत्रसँग आबद्ध व्यवसायीहरूका अनुसार बाजुरामा होटल, होमस्टे, यातायात, हस्तकला तथा स्थानीय उत्पादनको बजार विस्तार गर्ने ठूलो सम्भावना छ । तर स्पष्ट योजना र प्रभावकारी कार्यक्रमको अभावले यो अवसर खेर गइरहेको छ ।

पर्यटन व्यवसायी तुला बडुवालका अनुसार बाजुराको पर्यटन विकास गर्न सके युवालाई रोजगारी सिर्जना हुनुका साथै स्थानीय उत्पादनले बजार पाउने र स्थानीय तहको आन्तरिक आम्दानीसमेत बढ्नेछ । बडीमालिका क्षेत्रको दर्शनका लागि हरेक वर्ष हजारौँ श्रद्धालु पुग्ने गरे पनि व्यवस्थित बसोबास, सहज पहुँच मार्ग, सरसफाइ र प्रचारप्रसार अझै कमजोर छ ।

अन्य धार्मिक तथा प्राकृतिक गन्तव्यहरू पनि पर्याप्त रूपमा प्रचार हुन सकेका छैनन् । नागरिक समाजका अगुवाहरूका अनुसार बाजुरामा पर्यटन विकासका लागि पूर्वाधार निर्माण, गन्तव्यको ब्रान्डिङ, डिजिटल प्रचारप्रसार, निजी क्षेत्रसँग सहकार्य, स्थानीय गाइड उत्पादन, होमस्टे प्रवद्र्धन तथा सांस्कृतिक उत्सवहरूको व्यवस्थित आयोजना आवश्यक छ ।

प्राकृतिक र धार्मिक सम्पदाले धनी बाजुरामा स्थानीय तहहरूले स्पष्ट दृष्टिकोणसहित योजनाबद्ध रूपमा काम गर्न सके पर्यटन आर्थिक समृद्धिको बलियो आधार बन्न सक्छ । तर हालको अवस्थाले भने ‘पर्यटकीय क्षेत्र छन्, पर्यटक छैनन्’ भन्ने यथार्थलाई नै पुष्टि गरिरहेको छ ।

प्रकाशित मिति : २०८३ वैशाख २४ गते बिहीबार