हुलाकी राजमार्ग अन्तर्गत नेपालगन्ज–गुलरिया सडकखण्डको धम्बोझी चोकदेखि नन्दनी मिलसम्मको सडक चार लेनमा विस्तार गरिने भएको छ । हाल नन्दनी मिलदेखि गुलरियासम्म अधिकांश भाग चार लेनमा विस्तार भइसके पनि नेपालगन्जको धम्बोझी चोकदेखि नन्दनी मिलसम्म करिब दुई किलोमिटर सडक दुई लेनमै सीमित हुँदा साँघुरो र अस्तव्यस्त अवस्थामा रहेको छ ।
अव्यवस्थित संरचना र जथाभावी पार्किङका कारण सो खण्ड लामो समयदेखि समस्या बनेको थियो । अब भने उक्त दुई किलोमिटर सडकले स्वरूप परिवर्तन गर्ने भएको छ । हुलाकी राजमार्ग निर्देशनालय अन्तर्गत योजना कार्यालय नेपालगन्जका अनुसार धम्बोझी चोकदेखि नन्दनी मिलसम्मको सडक छिट्टै विस्तार गरी चार लेनमा निर्माण गरिनेछ ।
उपमहानगर क्षेत्रमा पर्ने उक्त सडकखण्डमा रहेका दायाँबायाँका स्थायी तथा अस्थायी संरचना हटाउने प्रक्रिया सुरु गरिएको योजना कार्यालयले जनाएको छ । योजना प्रमुख लीलाबहादुर भण्डारीका अनुसार एक महिनाभित्र अवरोध हटाएर निर्माण कार्य अघि बढाउने तयारी गरिएको छ ।
‘यो खण्ड समयमै विस्तार नभए हुलाकी राजमार्गको औचित्यमाथि नै प्रश्न उठ्ने अवस्था आउँछ,’ उनले भने, ‘हाल यो खण्ड अधुरो हुँदा सवारीसाधन बाइपास प्रयोग गर्नुपर्ने बाध्यता छ, जसले यात्रु र स्थानीय व्यवसायमा नकारात्मक असर पारेको छ ।’ सडक चार लेनमा विस्तार हुने खबरसँगै स्थानीयवासी तथा यात्रुहरूले खुशी व्यक्त गरेका छन् ।
नेपालगन्ज–१ का स्थानीय समद सिद्दिकीले धम्बोझीदेखि नन्दनी मिलसम्मको सडक साँघुरो हुनुका साथै ठाउँठाउँमा खाल्डाखुल्डी भएकाले दुर्घटनाको जोखिम रहेको भन्दै अब जोखिम कम हुने आशा व्यक्त गरे । त्यसैगरी, खजुरा, गुलरिया लगायतका क्षेत्रमा आवतजावत गर्ने सवारी चालकहरूले पनि सडक विस्तारपछि यात्रा सहज हुने बताएका छन् ।
सत्यपाटी