२०८३ वैशाख २९ , मंगलबार 12, May 2026, Tuesday
शैक्षिक प्रतिस्पर्धा

जानकीको कन्या विद्यालय : जहाँ छोरीलाई पढाउँदा ‘गर्व’ गरिन्छ

पहिला छोरीलाई छोरासँगै विद्यालय पठाउँदा बिग्रिन्छन् भन्ने मान्यता गहिरो थियो । तर अहिले अवस्था उल्टिएको छ । कन्या विद्यालयमा छात्राले मात्र पढ्ने र शिक्षिकाले मात्र पढाउने व्यवस्था भएपछि अभिभावकहरू ढुक्क भएका छन् ।
सत्यपाटीसत्यपाटी । बाँके । २०८३ वैशाख २२ गते मंगलबार

कहिल्यै छोरीलाई विद्यालय पठाउने कल्पना पनि नगरिएको समाजमा आज परिवर्तनको बलियो कहानी लेखिँदै छ । बाँकेको नेपालगन्जसँगै जोडिएको जानकी गाउँपालिकामा केही वर्षअघिसम्म मधेशी र मुस्लिम समुदायका अधिकांश अभिभावकहरू छोरीलाई शिक्षाबाट टाढै राख्थे । घरभित्र सीमित जीवन, छिट्टै विवाह र शिक्षाप्रति उदासीनता, यिनै यथार्थ थिए ।

तर समय बदलियो । स्थानीय तहको स्थापनासँगै चेतनाको लहर फैलियो । ‘छोरीलाई पनि पढ्नुपर्छ’ भन्ने सोच बिस्तारै समाजमा जरा गाड्न थाल्यो । यही सोचलाई संस्थागत रूप दिन गाउँपालिकाले ऐतिहासिक कदम चाल्यो, छात्रामात्र अध्ययन गर्ने कन्या विद्यालय स्थापना । गाउँपालिका अध्यक्ष छब्बन खाँ र प्रवक्ता टिकानाथ यादवको पहलमा २०७९ भदौ २६ गते जानकी–३ मानपुरमा नेपाल राष्ट्रिय कन्या आधारभूत विद्यालय स्थापना भयो ।

यो निर्णय केवल एउटा विद्यालय खोल्ने निर्णय थिएन, यो सोच परिवर्तनको घोषणा थियो । ‘आज कन्या विद्यालयमा देखिएको उत्साहले हामीलाई अझ जिम्मेवार बनाएको छ । अब हाम्रो लक्ष्य यसलाई गुणस्तरीय, प्रविधिमैत्री र सीपमूलक शिक्षाको केन्द्र बनाउने हो,’ अध्यक्ष खाँले भने, ‘स्थानीय तहले सुरुवात गर्यो, तर यसलाई दिगो र प्रभावकारी बनाउन संघीय र प्रदेश सरकारको साथ अपरिहार्य छ । कन्या विद्यालयहरूमा गरिएको लगानीले दीर्घकालमा समाज र देशकै भविष्य निर्माण गर्छ ।’

अध्यक्ष खाँले छोरीको हातमा किताब पुगेपछि मात्र समाजको भाग्य बदलिने दावी गरे । ‘हामीले सुरु गरेको यो अभियान अब रोकिने छैन, अझ फैलिँदै जानेछ,’ उनले भने । शिक्षा शाखाकी सहायक अधिकृत झुमाकुमारी वली भन्छिन्, ‘अभिभावकहरू छोरीलाई पढाउन चाहन्थे, तर सुरक्षित र छुट्टै वातावरण खोजिरहेका थिए । कन्या विद्यालयले त्यो आवश्यकता पूरा गर्यो ।’

परिवर्तनको सुरुआत, ‘डरबाट विश्वाससम्म’

पहिला छोरीलाई छोरासँगै विद्यालय पठाउँदा बिग्रिन्छन् भन्ने मान्यता गहिरो थियो । तर अहिले अवस्था उल्टिएको छ । कन्या विद्यालयमा छात्राले मात्र पढ्ने र शिक्षिकाले मात्र पढाउने व्यवस्था भएपछि अभिभावकहरू ढुक्क भएका छन् । स्थानीय शियाराम यादव भन्छन्, ‘पहिला छोरीलाई विद्यालय पठाउन डर लाग्थ्यो, अहिले भने हामी आफैँले पठाउन प्रेरित गरिरहेका छौँ ।’ शुरुआती चरणमा २५० छात्राबाट सुरु भएको विद्यालयमा अहिले ५०० भन्दा बढी छात्रा अध्ययनरत छन् । विद्यालयलाई २०८३ सालदेखि माध्यमिक तहसम्म स्तरोन्नति गरिएपछि भर्नाका लागि दैनिकजसो भीड लाग्ने गरेको छ ।

जानकी गाउँपालिका शिक्षा शाखा प्रमुख कृष्णाकुमारी भण्डारीका अनुसार यो विद्यालय छोरीले पनि छोरा सरह शिक्षा पाउनुपर्छ भन्ने सोचसँग लडेर स्थापना गरिएको हो । विद्यालय स्थापना भएपछि केवल छात्राहरूको संख्या मात्र बढेको छैन, समाजको सोचमा समेत व्यापक परिवर्तन आएको छ । आज जानकीमा छोरीलाई पढाउनु ‘गर्व’को विषय बन्दै गएको छ । प्रधानाध्यापक मालतीकुमारी शाहीले सुरुदेखि नै विद्यालयको नेतृत्व गरिरहेकी छन् ।

उनी भन्छिन्, ‘छात्राहरू यहाँ डर र त्रासबिना पढिरहेका छन् । उनीहरूको आत्मविश्वास नै सबैभन्दा ठूलो उपलब्धि हो ।’ कन्या विद्यालय स्थापना भएपछि अन्य विद्यालयहरूमा समेत शैक्षिक प्रतिस्पर्धा बढेको छ । महिला नेतृत्वमा सञ्चालन भइरहेको यस विद्यालयले अनुशासन, शान्त वातावरण र गुणस्तरीय शिक्षाको उदाहरण प्रस्तुत गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायले भनmे ‘अब हामी थप बस सेवा सञ्चालन गरेर टाढाका छात्रालाई समेत पहुँचमा ल्याउने योजना बनाइरहेका छौँ । यसले अझ धेरै छोरीहरूलाई विद्यालयमा ल्याउनेछ ।’

अबको चुनौती, ‘गुणस्तर, सीप र रोजगारी’

शिक्षा केवल अक्षर चिन्ने माध्यम मात्र होइन, जीवन निर्माणको आधार पनि हो । वरिष्ठ लेखा अधिकृत मतिन अहमद अन्सारी भन्छन्, ‘अब शिक्षा प्रणालीलाई रोजगारीसँग जोड्नुपर्छ । डिजिटल साक्षरता, उद्यमशीलता, कृषि र पर्यटन जस्ता सीप विद्यालयमै सिकाइनुपर्छ ।’ उनका अनुसार, कन्या विद्यालय जस्ता संस्थाले यदि नयाँ सीपमूलक कार्यक्रम सञ्चालन गर्न सके, छात्राहरूको आकर्षण झनै बढ्नेछ र उनीहरू आत्मनिर्भर बन्ने बाटो खुल्नेछ ।

गाउँपालिकाका प्रवक्ता टिकानाथ यादवले भने, ‘हामीले कन्या विद्यालय खोल्ने निर्णय गर्दा छोरीहलाई अभिभावकले विद्यालय पठाउँछन् त ? तर आज त्यही विद्यालयमा भर्ना गर्न लाइन लागिरहेको छ ।’ उनले यो केवल विद्यालय होइन, यो सोच परिवर्तनको आन्दोलन भएको दावी गर्दै भने, ‘हिजो छोरीलाई घरभित्र सीमित राख्ने समाज आज उनीहरूको भविष्य बनाउन अघि बढेको छ ।’ उनका अनुसार जब अभिभावकले ‘छोरी पनि पढ्नैपर्छ’ भन्ने बुझ्न थाले, तब हामीले लिएको निर्णय सही थियो भन्ने पुष्टि भयो ।

‘अब चुनौती केवल विद्यालय खोल्ने होइन, गुणस्तरीय र जीवनोपयोगी शिक्षा दिनु हो । राज्यले यस्ता कन्या विद्यालयमा विशेष लगानी गर्नुपर्छ । सुरक्षित वातावरण, प्रविधिमैत्री शिक्षा र सीपमूलक तालिमसँग जोड्न सके, यी छोरीहरू भोलिका आत्मनिर्भर नागरिक बन्न सक्छन्,’ प्रवक्ता यादवले भावुक हुँदै भने, ‘छोरी पढेपछि केवल एउटा परिवार होइन, पूरै समाज शिक्षित हुन्छ । त्यसैले कन्या विद्यालयमा गरिएको लगानी भविष्यमा देश निर्माणकै लगानी हो ।’

स्थानीय प्रयासले सुरु भएको यो अभियानलाई अब राज्यको साथ आवश्यक देखिन्छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रताप सिंह भन्छन्, ‘हामी यसलाई शैक्षिक हब बनाउने लक्ष्यमा छौँ, तर त्यसका लागि पर्याप्त बजेट र पूर्वाधार चाहिन्छ ।’ कन्या विद्यालय जस्तो सफल मोडेललाई विस्तार गर्न राज्यले दीर्घकालीन लगानी गर्नुपर्ने आवश्यकता स्पष्ट देखिन्छ । यदि यस्ता विद्यालयहरूलाई प्रविधिमैत्री, सीपमूलक र गुणस्तरीय शिक्षाको केन्द्र बनाउन सकियो भने, यसले देशभर छोरी शिक्षामा ठूलो परिवर्तन ल्याउन सक्छ ।

जानकी गाउँपालिकाको कन्या विद्यालय केवल एउटा शैक्षिक संस्था होइन, यो सामाजिक क्रान्तिको प्रतीक हो । जहाँ कहिल्यै छोरीलाई घरबाट बाहिर निस्कन नदिने समाज थियो, त्यही समाज आज छोरीको भविष्य निर्माणमा अग्रसर छ । यो कथा केवल जानकीको मात्र होइन, यो सन्देश देशभरका लागि हो । छोरीलाई अवसर दिए, उनीहरूले समाज नै बदल्न सक्छन् भन्ने जानकीको कन्याले उदाहरण प्रस्तुत गरिरहेको छ ।

प्रकाशित मिति : २०८३ वैशाख २२ गते मंगलबार