२०८३ वैशाख २२ , मंगलबार 5, May 2026, Tuesday

विद्युत आपूर्ति सहज बनाउन बाँकेमा अभियान तीव्र

सत्यपाटीसत्यपाटी । बाँके । २०८३ वैशाख २२ गते मंगलबार

बाँके जिल्लामा विद्युत आपूर्ति सहज बनाउन र उपभोक्तालाई समस्या नपर्ने गरी नेपाल विद्युत प्राधिकरण, नेपालगन्ज वितरण केन्द्रले सुधार अभियान तीव्र पारेको जनाएको छ । बाँकेमा विद्युत आपूर्तिमा समस्या देखिने समस्यालाई न्यूनीकरण गर्न विभिन्न सुधारात्मक कार्य निरन्तर भइरहेको नेपाल विद्युत प्राधिकरण, नेपालगन्ज वितरण केन्द्रका प्रमुख संजयकुमार मिश्रले बताए ।

उनले गर्मीयाममा प्रत्येक वर्ष नेपालगन्ज, कोहलपुर, खजुरा र राँझा लगायत क्षेत्रमा विद्युत आपूर्तिमा सुधार र अनियमितता नियन्त्रणका लागि आफैँ फिल्डमा खटिएको जनाउँदै सबै प्रकारका सुधार कार्य निरन्तर भइरहेको स्पष्ट पार्दै सार्वजनिक बिदाका दिनमा समेत वितरण केन्द्रको टोलीले स्थलगत निरीक्षण गर्दै सिँचाइ, घरेलु तथा अन्य ग्राहकको सेवा अवस्थाबारे अनुगमन गरिरहेको बताए ।

प्रमुख मिश्रका अनुसार पछिल्लो समय बाँकेमा विद्युत आपूर्ति र वितरण प्रणालीमा उल्लेख्य सुधार आएको छ । तीन महिनाभित्र पाँच वटा नयाँ फिडर थपिएपछि ओभरलोड समस्या घटेको दाबी गर्दै गर्मीयाममा आपूर्ति अवरुद्ध नहुने अपेक्षा गरिएको छ । एकातिर वितरण केन्द्रले विद्युत आपूर्ति सुधार र व्यवस्थापनमा काम गरिरहेको छ भने अर्कोतर्फ बक्यौता असुलीमा पनि कडाइ गरिएको छ ।

पाँच महिनामा पाँच हजारभन्दा बढी लाइन काटिएको र तीमध्ये चार हजार ग्राहकबाट करिब सात करोड रुपैयाँ असुल गरी पुनः सेवा सञ्चालन गरिएको केन्द्रले जनाएको छ । लामो समयदेखि बक्यौता नबुझाउने ग्राहकको लाइन काट्न थालेपछि महसुल बुझाउने क्रम तीव्र भएको नेपालगन्ज वितरण केन्द्रका लेखा अधिकृत नन्दसिंह सिकर्मीले बताए ।

उनले विद्युत वितरण सुधार र बक्यौता असुली दुवै काम सँगसँगै अघि बढाइएको जानकारी दिए । अनुगमनका क्रममा सिँचाइ प्रयोजनका लागि जडान गरिएका मिटर अन्य प्रयोजनमा प्रयोग भएको भेटिएपछि आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको पनि वितरण केन्द्रले जनाएको छ । ग्रामीण क्षेत्रमा सिँचाइ मिटर दुरुपयोगको गुनासो आएपछि गाउँस्तरमै पुगेर अनुगमन गर्ने कार्य जारी रहेको केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : २०८३ वैशाख २२ गते मंगलबार