२०८३ वैशाख २१ , सोमबार 4, May 2026, Monday

क्रुज जहाजमा ‘हान्टा भाइरस’को प्रकोप, तीन जनाको मृत्यु

सत्यपाटीसत्यपाटी । जोहानेसबर्ग । २०८३ वैशाख २१ गते सोमबार

आन्ध्र महासागरमा यात्रा गरिरहेको एक विलासी क्रुज जहाजमा मुसाबाट सर्ने दुर्लभ ‘हान्टा भाइरस’ फैलिँदा तीन जना यात्रुको मृत्यु भएको छ । अर्जेन्टिनाको उशुआयाबाट केप भर्डका लागि प्रस्थान गरेको ’एमभी होन्डियस’ नामक जहाजमा यो घातक भाइरसको संक्रमण देखिएको हो ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले आइतबार जारी गरेको विज्ञप्ति अनुसार जहाजमा रहेका ६ जनामा संक्रमणको आशंका गरिएकोमा एक जनामा भाइरस पुष्टि भइसकेको छ । संक्रमितमध्ये तीन जनाको ज्यान गइसकेको छ भने एक जनाको दक्षिण अफ्रिकाको जोहानेसबर्गस्थित अस्पतालको सघन उपचार कक्ष (आइसीयू)मा उपचार भइरहेको छ ।

दक्षिण अफ्रिकी स्वास्थ्य मन्त्रालयका प्रवक्ता फोस्टर मोहालेले आइसीयूमा उपचाररत बिरामीमा हान्टा भाइरस पोजेटिभ देखिएको पुष्टि गरेका छन् । मृतकहरूमा एक दम्पती समेत रहेका छन् । सुरुमा ७० वर्षीय पुरुषमा लक्षण देखिएको र उनको जहाजभित्रै मृत्यु भएको थियो। उनको शव अहिले बेलायती क्षेत्र सेन्ट हेलेना टापुमा राखिएको छ ।

उनकी ६९ वर्षीया श्रीमतीलाई उपचारका लागि दक्षिण अफ्रिका लगिएको भए पनि अस्पतालमै उनको निधन भयो । आइसीयूमा उपचाररत अर्का बिरामी ६९ वर्षीय बेलायती नागरिक रहेको बताइएको छ । हान्टा भाइरस मुसाको दिसा, पिसाब वा र्‍यालको माध्यमबाट मानिसमा सर्ने गर्दछ । यसले कडा खालको श्वासप्रश्वास समस्या र रक्तस्राव सहितको ज्वरो निम्त्याउने गर्दछ, जुन समयमै उपचार नभए ज्यानमारा सिद्ध हुन्छ ।

अहिले जहाजमा रहेका अन्य यात्रु र चालक दलका सदस्यहरूको स्वास्थ्य परीक्षण भइरहेको छ । डब्लुएचओले विभिन्न देशहरूसँग समन्वय गरी लक्षण देखिएका अन्य दुई यात्रुलाई उद्धार गर्ने तयारी थालेको छ। स्वास्थ्य अधिकारीहरूले जहाजमा मुसाको उपस्थिति र भाइरसको स्रोतबारे विस्तृत अनुसन्धान सुरु गरेका छन् ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : २०८३ वैशाख २१ गते सोमबार