२०८३ मंसिर ४ , शुक्रबार 20, November 2026, Friday

खजुरा बजारको सडक फराकिलो बनाउन हस्ताक्षर

स्तरोन्नतिको चरणमा रहेको नेपालगन्ज–गुलरिया सडक खण्डको खजुरा बजार क्षेत्रको सडक फराकिलो बनाउन माग गर्दै स्थानीयबासीले दवाव दिन हस्ताक्षर सङ्कलन सुरु गरेका छन् । ठेक्का सम्झौता भएर हाल निर्माणाधीन अवस्थामा रहेको हुलाकी राजमार्गको खजुरा बजार खण्डको एक हजार ८०० मिटर सडक फराकिलो बनाउन माग गर्दै स्थानीयबासीले हस्ताक्षर सङ्कलन अभियान सुरु गरेका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का स्थानीय नेताको अगुवाईमा सडक फराकिलो पार्ने हस्ताक्षर अभियान सुरु गरिएको रास्वपाका खजुरा गाँउ समितिका नेता विजय गुरुङले बताए । उनले हाललाई सडक किनारमा रहेको फुटपाथलाई ढलदेखि पछाडि सारेर दुबैतर्फ एक–एक मिटर सडक फराकिलो बनाएर कालोपत्रे गर्न हुलाकी राजमार्ग निर्देशनालयलाई आग्रह गर्ने गरि हस्ताक्षर सङ्कलन भइरहेको जनाए ।

खजुरा बजार क्षेत्रको दाँया र बाँया दुवैतर्फ चार लेन सडक सहित फराकिलो सडक निर्माण हुनुपर्नेमा बजार क्षेत्रमा साँघुरो र अव्यवस्थित सडक बन्दै गरेको हुँदा फराकिलो सडक निर्माणका लागि पहल स्वरुप हस्ताक्षर सङ्कलन गर्ने कार्य भइरहेको स्थानीयले जनाएका छन् । स्थानीयबासीले स्वतस्फुर्त रुपमा हस्ताक्षर गरेर दवाव सृजना गरिरहेको खजुराका स्थानीय अगुवा सुशील भट्टराईले बताए ।

उनले जनताको हस्ताक्षर लिएर हुलाकी राजमार्ग निर्देशनालयमा डेलिगेसन जाने तयारी गरिएको पनि जानकारी गराए । बाँकेको खजुरा बजारमा एक हजार ८०० मिटर लम्बाइको चारलेन सडक निर्माणका लागि २०७४ चैतमा गजुरमुखी कन्स्ट्रक्सन कम्पनी, इलामले ठेक्का सम्झौता गरेर निर्माण थालेको थियो । उक्त सडक २०७७ चैतमा निर्माण सम्पन्न गर्नुपर्ने थियो ।

तर, कम्तीमा पाँच पटक म्याद थप भए पनि काम सन्तोषजनक रूपमा अघि बढ्न नसकेपछि ठेक्का सम्झौता खारेज गरिएको थियो । हाल हुलाकी राजमार्ग निर्देशनालयको जिम्मामा पुगेको सो सडक खण्डमा स्तरोन्नतिको काम भइरहेको छ । सडकसँगै हाल पेडारी नाला तथा किरण नालाको पुल निर्माणको काम पनि भइरहेको छ ।

हुलाकी राजमार्ग निर्माण भएसँगै नेपालगन्जबाट धनगढी, टीकापुर र महेन्द्रनगर यात्रा गर्ने यात्रुले हुलाकी राजमार्ग प्रयोग गर्न थालेका छन् । साविक पूर्वपश्चिम राजमार्ग प्रयोग गर्दा निकुञ्जको टाइम कार्ड, जनावरको असुरक्षा र लामो दूरी पर्ने भएको भन्दै यात्रुको रोजाइ हुलाकी राजमार्ग हुने गरेको जनाइएको छ ।

प्रकाशित मिति : २०८३ वैशाख २० गते आइतबार