२०८३ वैशाख १९ , शनिबार 2, May 2026, Saturday

प्रहरी कार्यालय परिसरभित्र ८६ थान बम भेटियो

सत्यपाटीसत्यपाटी । सल्यान । २०८३ वैशाख १९ गते शनिबार

जिल्ला प्रहरी कार्यालय सल्यानको नयाँ भवन निर्माणको लागि जग खन्दा वम भेटिएको छ । शारदा नगरपालिका—३ स्थित जिल्ला प्रहरी कार्यालय सल्यानको परिसरभित्र नयाँ भवनका लागि जग खन्ने क्रममा द्वन्द्वकालीन ८६ वटा बम फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक डा.हेमबहादुर केसी जानकारी दिए ।

भवन निर्माणको लागि जग खन्ने क्रममा ८२ वटा सकेट बम, तीन वटा सुतली बम र एउटा बोतल बम फेला परेको उनले बताए । भवन निर्माणका लागि जग खन्ने क्रममा शंकास्पद वस्तु फेलापरेपछि आवश्यक सुरक्षा सतकर्ता अपनाइएको थियो । जग खन्ने क्रममा शंकास्पद वस्तु फेलापरेपछि थप उत्खनन् गरिएको थियो ।

नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले उत्खननका क्रममा सात थान रेडियो वेभ उपकरण, करिब ५०० ग्राम विस्फोटक पदार्थ, बम बनाउन प्रयोग हुने दुई केजी सामग्री र १० मिटर फायरिङ केबल फेला परेको उनले जानकारी दिए । प्रहरी प्रमुख केसीका अनुसार, बुधबार दिउँसो १२ः३५ बजेतिर नयाँ भवनको जग खन्ने क्रममा सकेट बमजस्तो देखिने शंकास्पद वस्तु फेला परेको थियो ।

‘त्यसपछि डिस्पोजका लागि नेपाली सेनाको सिद्धीबक्स गण सल्यानसँग समन्वय भयो,’ उनले भने, ‘त्यसपछि सेना आउँदा उक्त दिन बेलुका ४ बजेसम्म १० वटा सकेट बम फेला परेका थिए ।’ शनिबार बिहान ११ः२० बजे पुनः उत्खनन गर्ने क्रममा थप बम फेला परेको उनले बताए । फेला परेका बमहरू निष्क्रिय पार्न नेपाली सेनाको टोली परिचालन गरिएको छ ।

कालीभक्ति गण भैरहवाबाट सेनानी श्रीप्रसाद रामजालीको कमान्डमा ६ जनाको इन्जिनियर टोली र सिद्धीबक्स गण सल्यानबाट सेनानी महेश अधिकारीको नेतृत्वमा १० जनाको टोली घटनास्थल पुगेको छ । बुधबार नै सिद्धीबक्स गण सल्यानबाट उप–सेनानी कृष्ण क्षेत्रीको नेतृत्वमा टोली खटिएको थियो । परिमाण ठूलो भएपछि थप प्राविधिक सहयोगका लागि मध्यपश्चिम पृतना अन्तरगत १९ बाहिनी तुलसीपुर दाङबाट पनि विशेष टोली बोलाइएको थियो ।

प्रकाशित मिति : २०८३ वैशाख १९ गते शनिबार