२०८३ वैशाख १८ , शुक्रबार 1, May 2026, Friday

नेपालगन्जमा जेनजी आन्दोलनका दुई सहिदको शालिक निर्माण

सत्यपाटीसत्यपाटी । बाँके । २०८३ वैशाख १८ गते शुक्रबार

नेपालगन्जमा जेनजी आन्दोलनका दुई सहिदको अर्धकदको शालिक निर्माण गरिएको छ । भदौ २३ गते जेनजी प्रदर्शनका क्रममा काठमाडौँमा सहादत प्राप्त गरेका नेपालगन्ज धम्बोझीका दुई जना सहिद ई.सुलभराज श्रेष्ठ र आयुष थापाको अर्धकदको शालिक निर्माण गरिएको हो ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नं.१ वाटरपार्कस्थित धम्बोझी ब्याडमिन्टन प्रशिक्षण केन्द्र भवनको हाताभित्र स्वर्गीय श्रेष्ठ र थापाको अर्धकदको शालिक निर्माण गरिएको छ । नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, वडा नं.१ का वडाध्यक्ष प्रमोद रिजाल तथा सहिदद्वयका आमाबुवाले संयुक्तरुपमा शालिकको अनावरण गरेका हुन् ।

सहिदद्वयको स्मृतिमा वडा नं. १ ले योग तथा खोप केन्द्र भवन र ओपन जिम पार्क निर्माण समेत गरेको वडाध्यक्ष रिजालले बताए । नगर प्रमुख विष्टले आजै भवन र पार्कको उद्घाटन पनि गरे । नगर प्रमुख विष्टले सहिदलाई साक्षी राख्दै जनआकाङ्क्षा र नागरिक हितमा काम गर्न सबै प्रतिबद्ध हुनुपर्ने आवश्यकता औँल्याए ।

प्रकाशित मिति : २०८३ वैशाख १८ गते शुक्रबार